बन्दाले पाएन बजार
सुर्खेत: वीरेन्द्रनगर–३ सुर्खेतका कृषक श्याम पुरीले एक बिघा जमिनमा बन्दा खेती गरेका छन् । बारीमा ४० टन बन्दा उत्पादन भएको छ तर बिक्री हुन सकेको छैन । बन्दाले बजार नपाउँदा उनी लगानी खेर जाने चिन्तामा छन् । ‘वीरेन्द्रनगरमै तरकारीले बजार पाएन । कहाँ लगेर बिक्री गर्ने ?’ उनी भन्छन्, ‘सोचेअनुसार बजारभाउ पनि छैन, सस्तो मूल्यमा बिक्री गर्न खोज्दासमेत बिक्री हुँदैन ।’
अहिले उनको बारीमा ४० टन बन्दा कुहिने अवस्थामा छ । बिक्री हुन नसकपछि त्यतिकै घामले सुक्न थालेको हो । पुरीलाई बन्दा बिक्रीकै चिन्ताले पिरोल्न थालेको छ । केही कमाई हुने आशामा लगाएको बन्दा बिक्री नभएपछि उनी चिन्तित बनेका हुन् । भण्डारण गर्न नमिल्ने भएपछि अब थन्क्याएर पशुलाई दिनुको विकल्प नभएको पुरीले बताए । हाल बजारमा बन्दाको मूल्य आठ रूपैयाँ प्रतिकेजी रहेको छ । त्यो भन्दा पनि सस्तोमा बिक्री गर्न आफू तयार रहेको पुरी बताउँछन् ।
पुरीले जस्तै बन्दा खेती गरेका धेरै कृषक अहिले बिक्री नभएर समस्यामा छन् । वीरेन्द्रनगरमा उत्पादन भएको बन्दाले बजार पाउन नसकेपछि कुहिने डरले कृषक चिन्तित भएका हुन् । बाहिरबाट आयातित बन्दा बिक्री वितरण भइरहे पनि स्थानीय कृषकले उत्पादन गरेको बन्दाले बजार पाउन नसकेको हो । भारतबाट आयात गरिएको अत्यधिक विषादी प्रयोग भएका तरकारी महँगो मूल्यमा उपभोक्तहरूले खरिद गरिरहेका छन् । तर स्थानीय किसानहरूले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन । पुरी भन्छन्, ‘गतवर्ष यो सिजनमा बन्दाले राम्रै बजारमूल्य पाएको हुँदा यो वर्ष बढाएर बन्दा लगाएको थिएँ । बारीबाट एक केजी पनि बिक्री भएको छैन । अब यति धेरै बन्दा कहाँ लिएर बिक्री गर्ने, म चिन्तित छु ।’
संकलन केन्द्रमै थन्कियो तरकारी
दैलेखको नारायण नगरपालिका वडा नं. २ मा रहेको कृतिदेवल बहुउद्देश्यीय सहकारी संस्थाका किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा सहकारीमै थन्किएको छ । काँक्रा, सिमी, बन्दा बिक्री नहुँदा सहकारीमै थुपार्नु परेको सहकारीका व्यवस्थापक रोहितकुमार भण्डारीले बताए । ‘बेमौसमी तरकारी खेतमै कुहिन थालेको छ’ उनले भने, ‘दुःख गरेर बेमौसमी तरकारी लगायौँ केही कुहिएका छन्, केही टिपेर थुपार्नु परेको छ ।’
किसानले उत्पादन गरेको वस्तु सम्बन्धित निकायले खरिद गर्ने वातावरण मिलाए गाउँघरका गरिब किसान भोकै बस्नु पर्ने अवस्था नआउने भण्डारीको बताउँछन् । सानो बजार हुनु, सुर्खेतको बजारमूल्यसँग प्रतिस्प्रधा गर्न नसक्नु, बजार व्यवस्थापन हुन नसक्नुले गर्दा किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको हो ।
विगतका वर्षहरूमा संकलन केन्द्रको तरकारी सुर्खेतको बजारमा खपत हुने गरेको थियो । यो वर्ष सुर्खेतमा तरकारी उत्पादन बढी हुनु, सुर्खेतको बजार मूल्य कृषकले बिक्री गर्न नसक्ने भएपछि तरकारी बारीमा थन्किएको छ । स्थानीय बजारमा पनि तरकारी कम खपत हुँदा बिक्री गर्न समस्या भएको हो । विशेष गरेर काँक्रा, सिमि र बन्दा बिक्री हुन सकेको छैन । कृषकले धेरै तरकारी उत्पादन गर्नु, बजारले खपत गर्न नसक्दा तरकारी बारीमै कुहिने गरेको भण्डारीले बताए । उनका अनुसार उद्योग वाणिज्य संघले बजार व्यवस्थापन सकेको छैन । जसले गर्दा किसानको दुःख खेर जाने गरेको छ । किसानले बारीमा फलाएको करेला, खुर्सानी, प्याज, लसुनले बजार मूल्य पाएका छन् भने, काँक्रा, सिमी र बन्दा स्थानीयस्तरमा बिक्री नहुने हुँदा बारीमै कुहिएका छन् । सहकारी व्यवस्थापक भण्डारी भन्छन्, ‘तरकारी धेरै उत्पादन गर्दा भनेजस्तो बिक्री हुन सकेको छैन । पहिला हामीलाई तरकारी धेरै उत्पादन गर्न सकेको खण्डमा हामी बजार व्यवस्थापनको लागि पहल गर्छौं भनियो तर अहिले जति हारगुहार गर्दा पनि वास्ता गरेन ।’
प्रकाशित मितिः ५ जेष्ठ २०८०, शुक्रबार ०५:०५
रजनी याेगी ।