आवश्यक खाद्यान्न पुग्दैन कर्णालीमा
विकासमा पछि परेको कर्णालीमा सधैं खाद्यान्न संकट हुँदै आएको छ । कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा यसवर्ष कूल आठ लाख नौ हजार तीन सय ६० क्वीन्टल खाद्यान्न माग छ । तर, सरकारले ६७ हजार ६ सय क्वीन्टल खाद्यान्न (चामल) पठाउँदै छ । कृषि विकास मन्त्रालयका अनुसार कर्णालीमा वार्षिक चार लाख २२ हजार ६ सय २० क्वीन्टल खाद्यान्न उत्पादन हुन्छ ।
कर्णालीका लागि यसअघि खाद्य संस्थानले पठाएको खाद्यान्नमध्ये १० हजार सात सय क्वीन्टल चामल गोदाममा बाँकी छ । गतवर्ष संस्थानले जम्मा ५४ हजार तीन सय २९ क्वीन्टल चामल कर्णाली पठाएको थियो । कर्णालीलाई यसवर्ष दुई लाख ३३ हजार दुई सय क्वीन्टल खाद्यान्न अपुग छ । ‘यसवर्ष कर्णालीका पाँच जिल्लामा खाद्य संस्थानले ६७ हजार ६ सय क्वीन्टल पठाउँदैछ । टेन्डर प्रक्रिया पनि पूरा भइसकेको छ,’ नेपाल खाद्य संस्थानका बिक्री वितरण विभाग प्रमुख शंकर सापकोटाले भने । व्यापारीले अलग्गै लगेर चामल बिक्री गरेको तथ्यांक सरकारी निकायसँग छैन ।
कर्णालीमा कूल खेतीयोग्य जमिन चार लाख चार हजार पाँच सय ११ हेक्टर छ । तर, एक लाख २३ हजार आठ सय १९ हेक्टर क्षेत्रफल बाँझो छ । उपयोग भएको भूमिमा पनि सिँचाइ र मलबीऊ अभाव छ । सरकारले आधुनिक प्रविधिसहित मलबीऊको व्यवस्था गरे कर्णाली आत्मनिर्भर हुनसक्ने कर्णाली विकास आयोगका सदस्य पूर्ण रोकायले बताए ।
कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार कर्णालीका पाँच जिल्लामा ३० प्रतिशत बढी जग्गा बाँझो छ । कर्णालीबासीले चामललाई खाद्यान्नको मुख्य मानक बनाउँदा संकट भएको कार्कीले बताए । कर्णालीमा चामल मात्र अपुग हुने भएकाले खाद्य संकट भन्न नमिल्ने कर्णाली विकास आयोगका सदस्य पूर्ण रोकाय बताउँछन् । रोकायले भने, ‘कर्णालीमा खान नपाएर एक जनाको पनि मृत्यु भएको छैन ।’ उनका अनुसार सरकारले कर्णालीलाई उत्पादनमुखी चामल आयातलाई अनुदान दिएकाले समस्या भएको हो ।
जुम्लाको जनसंख्या एक लाख आठ हजार नौ सय २१ छ । यहाँ दुई लाख २२ हजार दुई सय ४० क्वीन्टल खाद्यान्न आवश्यक देखिन्छ । तर, एक लाख ९९ हजार चार सय ४० क्वीन्टल खाद्य उत्पादन हुँदै आएको छ । यहाँ २२ हजार आठ सय क्वीन्टल खाद्यान्न अपुग देखिएको छ । ५० हजार आठ सय ५८ कूल जनसंख्या रहेको हुम्लाको कूल खाद्यान्न आवश्यकता एक लाख ६ हजार एक सय ८० क्वीन्टल छ । यहाँ २९ हजार चार सय क्वीन्टल उत्पादन हुँदै आएको छ ।
कूल जनसंख्या ५५ हजार दुई सय ८६ जना रहेको मुगुको खाद्यान्न आवश्यकता एक लाख १४ हजार सात सय क्वीन्टल छ । यहाँको उत्पादन १५ हजार आठ सय क्वीन्टल छ भने ९८ हजार नौ सय १० क्वीटल अपुग छ । यसवर्ष मुगुमा १५ हजार आठ सय ५० क्वीन्टल चामल पठाइने भएको छ । डोल्पाको कूल जनसंख्या ३६ हजार ७० जना छ । कूल खाद्यान्न आवश्यकता ७६ हजार तीन सय ८० क्वीन्टल रहेकोमा स्थानीयस्तरमा ५२ हजार एक सय १० क्वीन्टल उत्पादित हुने गरेको छ । यहाँ २४ हजार दुई सय ७० क्वीन्टल खाद्यान्न अपुग हुन्छ ।
एक लाख ३६ हजार नौ सय ४८ जनसंख्या रहेको कालिकोटमा दुई लाख ८९ हजार आठ सय ५० क्वीन्टल खाद्यान्नको माग छ । तर, जिल्लामा एक लाख २६ हजार दुई सय ३० क्वीन्टल मात्र उत्पादन हुँदै आएको छ । जिल्लामा एक लाख ६३ हजार ६ सय २० अपुग छ । यसवर्ष सात हजार आठ सय क्वीन्टल चामल पठाउने सरकारले जनाएको छ । कर्णाली अञ्चलका पाँच जिल्ला भौगोलिक रूपमा विकट छन् । खाद्यन्न उत्पादनका हिसाबले पनि कम हुन्छ । सिँचाइ सुविधा, मल बीऊविजनको पनि उतिकै समस्या छ । त्यहाँ उत्पादन गरेको खाद्यान्नलाई बजारीकरण गर्न पनि समस्या छ । यातायातको समस्याका कारणले त्यहाँको उत्पादन सजिलै ल्याउन सक्ने वातावरण पनि छैन ।
प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार १२:१०
साझा बिसौनी ।