विपद्विरुद्ध सतर्कता

कर्णाली प्रदेशमा बर्सेनि प्राकृतिक विपद्मा परेर धेरैको ज्यान जाने गरेको छ । अन्य क्षति पनि ठूलो मात्रामा नै हुने गरेको छ । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी पहिरो, दोस्रोमा आगलागी र तेस्रोमा बाढीका कारण धनजनको क्षति हुने गरेको छ । पछिल्ला केही वर्षयता मनसुनजन्य विपद्का घटना बढ्दो छ । प्राकृतिक विपत्तिबाट मानवीय तथा धनजनको ठूलो क्षेति हुने गरेको छ । कर्णालीमा पहिरोबाट हुने क्षति बढ्दै जाने अर्को जोखिमको विषय बन्न पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ८६ वटा आगलागीका घटना भएका छन् । जसबाट सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । यसैगरी चट्याङका ३३ वटा घटना भएका छन् । तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यो वर्ष पहिरोका तीन सय ४८ वटा घटना भएका छन् । जसबाट ३८ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । चालु आर्थिक वर्षमा ३१ वटा बाढीका घटना भएका छन् । बाढीबाट चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्रदेशमा बर्सेनि विपद्का घटना बढ्दो क्रममा छन् । आर्थिक वर्ष २०७५/०७६ मा आठ सय ८२ विपद्का घटना भएका थिए । यसैगरी आर्थिक वर्ष २०७६÷०७७ मा नौ सय दुई वटा घटना भए भने आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार दुई सय १५ वटा विपद्का घटना भएका थिए । चालु आर्थिक वर्षमा विपत्का घटनामा दोब्बरले वुद्धि भएको छ । यो वर्ष दुई हजार एक सय ५५ वटा घटना भएका छन् ।

विपद्का दृष्टिले भूकम्पलाई छोडेर हेर्दा पछिल्लो दशक बाढीका कारण हुने मृत्यु दर घटेको तर पहिरोबाट हुने क्षति भने बढेको छ । बाढी र पहिरोजन्य घटना भने बढेको छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिका घटनामा वृद्धि भएको विज्ञहरू बताउँछन् । कर्णालीका विभिन्न ठाउँ–ठाउँमा सुख्खा पहिरो जाने गरेको छ । यसरी पहिरो बढ्नुमा पहाडी इलाकामा बाटोको संख्या वृद्धि हुने तर रोकथामका उपाय नअपनाइनु पनि हो । त्यसैले विपदको जोखिमबाट जोगिन आवश्यक सतर्कता र पूर्वतयारीमा ध्यान दिन जरुरी छ । पूर्वतयारीको अभावकै कारण बर्सेनि ठूलो क्षति हुने गरेको छ । यसतर्फ सबै सचेत हुनुपर्दछ ।

प्रकाशित मितिः   ३१ बैशाख २०८०, आईतवार ०५:०३