औद्योगिक केन्द्र बन्दै सुर्खेत

सुर्खेतलाई प्रदेश नम्बर ६ को औद्योगिक केन्द्रका रूपमा विकास गरिने भएको छ । प्रादेशिक राजधानीकोसमेत चर्चा भइरहको बेला सरकारले सुर्खेतलाई औद्योगिक केन्द्र बनाउने घोषणा गरेको हो । सोही अनुरूप वीरेन्द्रनगरमा एकै दिन एउटा उद्योगको उद्घाटन र अर्को उद्योगको शिलान्यास गरिएको छ ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले वीरेन्द्रनगरमा बहुमूल्य रत्नपत्थर प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । यस क्षेत्रमा पाइने बहुमूल्य पत्थर प्रशोधन गर्नका लागि वीरेन्द्रनगरमा स्थापना भएको उक्त केन्द्रको सोमवार उद्घाटन गरिएको हो । यस्तै सोमवार नै मन्त्री जोशीले वीरेन्द्रनगरमा जडिबुटी प्रशोधन केन्द्रको शिलान्यास गरेका छन् । दुई करोड रूपैयाँको लागतमा निर्माण हुने प्रशोधन केन्द्रको निर्माण कार्य यो आर्थिक वर्षमा नै सुरु हुनेछ । केन्द्रको शिलान्यास भएसँगै अब यो क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको प्रशोधन सुर्खेतमै हुने भएको हो ।

रत्नपत्थर केन्द्रको उद्घाटन गर्दै उद्योगमन्त्री जोशीले सुर्खेतलाई प्रादेशिक औद्योगिक केन्द्रको रूपमा विकास गर्न लागिएको बताए । उनले भने, ‘यो प्रदेश प्राकृतिक स्रोतमा धनी छ, हामीले त्यसलाई प्रशोधन गर्न आवश्यक छ । त्यसका लागि सरकारले सुर्खेतलाई प्राकृतिक स्रोतको प्रशोधन गर्ने केन्द्रको रूपमा विकास गर्नेछ, यसको सुरुवात हामीले गरिसक्यौं ।’ अघिल्लो सरकारले बजेट भाषणमार्फत् प्रादेशिक औद्योगिक क्षेत्र सुर्खेतमा स्थापना गर्ने घोषणा गरेको र त्यसको प्रक्रिया चलिरहेको भन्दै उनले सुर्खेत अब औद्योगिक केन्द्र बन्ने बताए । प्रदेश नम्बर ६ मा रहेका बहुमूल्य खनिजपदार्थ र जडिबुटीको प्रशोधन गर्न सकेमा देशकै अर्थतन्त्र बलियो हुने उनको भनाइ छ । त्यसका लागि सरकारले थप लगानी गर्ने र सुर्खेतमा औद्योगिक पूर्वाधार निर्माणका लागि पहल गर्ने उनले जनाए ।

सरकारले अबको १० वर्षभित्र युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने भन्दै मन्त्री जोशीले त्यसका लागि घरेलु तथा साना उद्योगको विकासमा लगानी गरिने जानकारी दिए । अर्कोतर्फ स्थानीय उत्पादनबाट सञ्चालन भएका उद्योगलाई प्राथमिकता दिइने भन्दै उनले हाल बन्द रहेका ठूला उद्योग सञ्चालनका लागि तयारी भइरहेको बताए । सुर्खेतलाई अब औद्योगिक केन्द्रको रूपमा विकास गरिने र यसले समग्र प्रदेशको अर्थतन्त्रलाई सबल बनाउने उनको दाबी छ । उनका अनुसार सरकारले यस क्षेत्रमा निर्यात गर्ने खालका उद्योग स्थापनामा जोड दिनेछ ।

जडिबुटी र खनिजबाटै प्रदेश नम्बर ६ को अर्थतन्त्रलाई थेग्न सकिने उनको भनाइ छ । स्थानीय बासिन्दाले भने सुर्खेतको चौकुने र लखरपाटा सिमेन्ट उद्योग पनि तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । यी उद्योग सञ्चालन भएमा सुर्खेत वास्तविक रूपमा नै औद्योगिक केन्द्रको रूपमा विकास हुने उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   ४ माघ २०७३, मंगलवार १६:४२