विद्यार्थीका मुद्दा
विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन हुन्छ । यो मुख्यतया राजनीतिक हुने गरेको छ । मूलभूत उद्देश्य विद्यार्थीहरूको पक्षमा काम गर्ने भएपनि विभिन्न राजनीतिक दलका भातृ संगठनका रूपमा रहेका विद्यार्थी संगठनहरूबीचको राजनीतिक प्रतिस्पर्धाका रूपमा विकसित भएको छ । चरम राजनीतिकरण हुँदा स्ववियू विद्यार्थीहरूको हकहितमा भन्दा दलहरूको स्वार्थअनुकूल प्रयोगमा सीमित हुने गरेको आरोप पनि लाग्ने गरेको छ । यद्यपि, लोकतान्त्रिक प्रक्रियामार्फत विद्यार्थीहरूले आफ्नो नेतृत्वय चयन गर्ने प्रक्रिया हो, यो । सुर्खेतमा केन्द्रीय क्याम्पस रहेको मध्यपश्चिम विश्वविद्यालयमा आगामी चैत ३ र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।
निर्वाचनको मिति नजिकिएसँगै विद्यार्थीहरू चुनावमा केन्द्रित भएका छन् । आफ्ना उम्मेदवार जिताउन विभिन्न एजेण्डासहित विद्यार्थी संगठनहरू लागिपरेका छन् । कतिपयले घोषणापत्र नै बनाएर चुनावी अभियान थालेका छन् भने केहीले विद्यार्थी भेटघाटलाई प्राथमिकतामा राखेका छन् । सबैजसो संगठन र उम्मेदवारहरूका अधिकांश एजेण्डा भने समान छन् । विद्यार्थी संगठनहरूले शिक्षा क्षेत्रको सुधारलाई एजेण्डा बनाएका हुन् । उदाहरणका लागि सल्यानको शारदा नगरपालिकामा रहेको शिवजन बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संगठन (नेविसंघ) बाट स्ववियू सभापति उम्मेदवार बनेका बुलन्दबाबु सेजुवालले समग्र क्याम्पसको शैक्षिक सुधार आफ्नो मुख्य एजेण्डा भएको बताए । क्याम्पसका समस्यालाई सम्बोधन हुनेगरी एजेण्डा अघि सारेको उनको भनाइ छ । गुणस्तरीय शिक्षा, रोजगमारमुलक शिक्षा, पुस्तकालयको स्तरोन्नतिलगायतका विषयलाई प्राथमिकता राख्ने सेजुवाल बताउँछन् । यस्तै नारायण बहुमुखी क्याम्पस दैलेखमा सभापतिको उम्मेदवार बनेकी खम्बिरा बुढा विद्यार्थीका हरेक मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ साझा मुद्दा अघि सारेर चुनावमा उठेको बताउँछिन् । ‘गुणस्तर शिक्षा, प्राविधिक शिक्षा, विश्वव्यापी शिक्षा, रोजगारीमुलक शिक्षा आजको आवश्यकता हो, हाम्रो एजेण्डा पनि यिनै हुन्’ उनले भनिन् । विद्यार्थीहरूको प्रभावकारी शिक्षण क्रियाकलाप, लाइब्रेरी, इ–लाइब्रेरी, शान्त वातावरण, खानेपानी, खेलकुद, विषयगत प्राध्यापकको पदपूर्तिलगायतका मागलाई सम्बोधन गर्नु आफ्नो मुख्य दायित्व हुने बुढाले बताइन् ।
यसरी विभिन्न क्याम्पसमा स्ववियू निर्वाचनका लागि उम्मेदवार बनेका विद्यार्थी नेताहरू आफ्ना प्रतिबद्धतासहित यतिबेला विद्यार्थीहरूसँग मत मागिरहेका छन् । अधिकांश उम्मेदवारहरूको योजना समान छन् । समग्रमा शैक्षिक सुधारका साथै रोजगारमुलक शिक्षा हुनुपर्नेमा सबैको जोड रहेको छ । स्ववियूलाई राजनीतिक माध्यमका रूपमा मात्रै नभएर विद्यार्थीका अधिकार स्थापित गर्ने, क्याम्पसहरूमा हुने विकृति अन्त्य गर्ने र समग्रमा शैक्षिक सुधारको बृहत्तर योजनामा योगदान दिने संरचनाको रूपमा विकास गर्न सके मात्रै विद्यार्थीका मूल मुद्दाको सम्बोधन हुन सक्नेछन् ।
प्रकाशित मितिः २९ फाल्गुन २०७९, सोमबार ०५:०३
सम्पादकीय ।