खोटो संकलनका नाममा वन दोहन

स्वस्तिक रोजिन एन्ड टर्पेन्टाइन इन्डस्ट्रिज प्रालिले दैलेखका विन्ध्यवासिनी, पगनाथ, बडाभैरव र कट्टी गाविसका सामुदायिक वनबाट सात वर्षयता लगातार खोटो संकलन गरिरहेको छ । खोटो संकलन कार्यविधि ९निर्देशिका० २०६४ अनुसार एक हजार टनभन्दा मुनि संकलन गर्नेले पाँच हेक्टर वन क्षेत्रमा वृक्षरोपण गर्नुपर्छ । त्यस भेगका ६ वटा सामुदायिक वनबाट खोटो संकलन गरिरहेको कम्पनीले भने वृक्षरोपण गर्नुको साटो भएको वनक्षेत्र झन् उजाड पार्दै छ ।

निर्देशिका मिच्ने स्वस्तिक एक्लो होइन, मध्यपश्चिमका १० जिल्लामा कार्यरत १२ मध्ये अधिकांश कम्पनीले वर्षौंदेखि मनोमानीमै खोटो संकलन गरिरहेका छन् । उनीहरूले सामुदायिक वनका पदाधिकारी र जिल्ला वनका प्राविधिकको मिलेमतोमा उन्मुक्ति पाइरहेका छन् ।

पगनाथको वासुधारा सामुदायिक वनका एक पूर्वपदाधिकारीले हचुवाका भरमा खोटो संकलन भइरहेको बताए । ‘कमजोरी वन समितिकै छ । समितिका जिम्मेवार पदाधिकारीलाई खोटो संकलनको विधि प्रक्रियाबारे कुनै जानकारी छैन,’ उनले भने, ‘त्यही भएर कम्पनीका कर्मचारी वन प्राविधिक, समितिका केही टाठाबाठासँग मिलेर गुपचुपमै खोटो संकलन गरी फर्किन्छन् ।’ मापदण्डविपरीत संकलन गर्दा कतिपय रूख एकैपटक सुकेर नष्ट भएका छन् । ब्लेजको साइज ठूलो पारेर एकैपटक संकलन गरिँदा मध्यपहाडी क्षेत्रका सल्लाघारी विनाश हुँदै छन् ।

मध्यपश्चिमका जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, मुगु, सल्यान, प्यूठान, रुकुम, रोल्पा र दाङमा ती कम्पनीले खोटो संकलन गरिरहेका छन् । आव ०७२र७३ मा सामुदायिक वनबाट मात्रै ९ हजार ८ सय ९६ टन खोटो संकलन गरियो । अस्वस्थ प्रतिस्पर्धा, वन प्राविधिक र उपभोक्ता समितिसँग मिलेमतोले कम्पनीलाई निर्देशिका लत्याउन सहज भएको छ । यदाकदा वन कर्मचारी र समितिले ‘पर्याप्त फाइदा’ नपाउँदा मात्र संकलनमा प्रतिबन्ध लगाउने गरिन्छ । दैलेखमा कार्यरत एक खोटो कम्पनीका कर्मचारीले भने, ‘वन कर्मचारीलाई खुसी बनाउन सकिएन भने मापदण्ड हुबहु पालना गरे पनि केही हुँदैन ।’ सबै कुरा वन रेन्जरको हातमा हुने भएकाले उनीहरूको चाहना पूरा गर्नु आफूहरूको बाध्यता रहेको उनको भनाइ छ ।

सल्लाका रूखका बोक्रा ताछेर कोनिकल सोलीमा खोटो जम्मा गरिन्छ । सोली भरिन सामान्यतस् एक साता लाग्छ । यसरी संकलित खोटो जिल्ला वनको अनुमति लिएर सम्बन्धित कारखानासम्म पुर्‍याउने गरिन्छ । निर्देशिकाअनुसार खोटो कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका सर्त पालना, ३० सेमि व्यासभन्दा बढी भएका रूखहरूबाट मात्र संकलन, रूखमा पर्न सक्ने हानि–नोक्सानीबारे कामदारलाई तालिम, वर्षभरिमा बढीमा ३२ रिल मात्र बनाउन पाइने, चरा र अन्य वन्यजन्तुले वासस्थान बनाएको रूखमा खोटो संकलन गर्न नहुने, प्रतिहेक्टर कम्तीमा ५ वटा माउ रूख जोगाउनुपर्ने मापदण्ड पूरा गर्नुपर्छ । त्यस्तै, रिल (ब्लेज) को साइज ३२/१६ सेमि मात्र हुनुपर्छ । माटोको अम्लीयपनबारे तीन–तीन वर्षमा एक पटक नमुना संकलन गरी प्रयोगशालाबाट जाँच गर्नुपर्ने, जमिनबाट १ मिटर ३० सेमिमाथि कम्तीमा ३० सेमि व्यास भएका रूखबाट मात्र संकलन गर्नुपर्छ ।

स्वस्तिक रोजिन एन्ड टर्पेन्टाइन इन्डस्ट्रिज प्रालिका दैलेख जिल्ला निरीक्षक बाबुराम पराजुलीले वृक्षरोपण गर्नुपर्ने क्षेत्रबारे जिल्ला वन कार्यालयले नतोकिदिँदा समस्या परेको बताए । ‘कतिपय कामदारबाट त्रुटि भएको छ,’ उनले भने, ‘जानीजानी कम्पनीले विधि–प्रक्रिया मिचेको छैन । समुदायसँग काम गर्दा हामीलाई पनि अप्ठ्यारो छ ।’

खोटो कम्पनीबाट वन कर्मचारीले रकम लिने गरेको सूचना मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालयलमा पनि पुगेको एक कर्मचारीले बताए । ‘खोटो कम्पनीबाटै हाम्रा कतिपय कर्मचारीको गुजारा चलेको पाएको छु,’ ती कर्मचारीले भने, ‘पैसा, गाडी, खाजा–नास्ता जति भन्यो कम्पनी बेहोर्न तयार हुँदोरहेछ ।’

निर्देशनालयका निमित्त प्रमुख अनिरुद्र ठाकुरले खोटो संकलन कार्यको प्रभावकारी अनुगमन हुन नसकेको स्वीकारे । कम्पनीका प्रतिनिधिसहित जिल्ला वन, वन उपभोक्ता समिति सम्मिलित मिटिङ बोलाएर खोटो संकलनमा देखिएका समस्या समाधान गर्न आफूले पहल गरे पनि सफल नभएको गुनासो पोखे । ‘डाइरेक्टर सा’पले चासो नदिँदा बैठक बस्न सकेन’ उनले भने । पुरानाभन्दा नयाँ कम्पनीले विधि–प्रक्रिया मिचेको ठाकुरले बताए । क्षेत्रीय वनलाई हस्तक्षेपकारी भूमिका नहुँदा अनुगमनको नतिजा पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ ।

इकान्तिपुरबाट

प्रकाशित मितिः   २९ पुष २०७३, शुक्रबार ११:०२