समीक्षा मृत्यु प्रकरणबारे जिशिकाको यस्तो निर्णय

कर्णाली एक्स्पो २०१६ अन्तर्राष्टिय मेलाको उद्घाटन सत्रको रयालीमा बालिका समीक्षा आचार्यको उपस्थिति लगायतका विषयमा छानबिन गर्न गठित समितिको प्रतिबेदनको सारांश र तत्सम्बन्धमा जिल्ला शिक्षा समितिले मिति २०७३ साल पौष २८ गते गरेको निर्णय :

निर्णय नं १ :   छानबिन समितिको प्रतिबेदनका सम्बन्धमा

छानबिन समितिले यस समितिमा पेश गरेको प्रतिबेदन अध्ययन गर्दा र उक्त छानबिन समितिले दिएका सुझावहरुलाइ समेत मध्यनजर राख्दा देहायका निकायहरुलाइ देहायबमाजिम गर्न निर्देश एवम् अनुरोध गर्ने ।

.१ स्वर्गीय समिक्षा आचार्यले अध्ययन गरेको विद्यालय श्री सुर्खेत होराइजन एकेडेमी बीरेन्द्रनगर सुर्खेतले छानबीन समितिसँग गरेको प्रतिबद्धताअनुसार सम्पादन गर्नुपर्ने कार्यहरु

१.१.१. विद्यालयले २०७३ लाई समिक्षाको नाममा शोक वर्षको रुपमा लिनु पर्ने,

१.१.२.  समिक्षा स्मृति अक्षयकोष स्थापना गर्ने र प्रत्येक वर्ष  मंसीर २३ गते समिक्षा स्मृति दिवशका  अवसरमा उक्त कोषबाट छात्रबृति वितरण गर्ने,

१.१.३. समिक्षा आचार्यका दुइ वहिनीहरुलाई निःशुल्क पठनपाठन गर्ने,

१.१.४. समिक्षाको नाममा प्रत्येक वर्ष ब्याडमिन्टन कप संचालन गर्ने

१.१. ५. समिक्षाको स्मृतिको लागि फोटो मार्वल प्रिन्ट गरी विद्यालय हाता भित्र राख्ने,

१.१.६.  सुर्खेत होराईजन एकेडेमीले जनाएका उल्लिखित प्रतिवद्धताहरु कार्यान्वयन गर्न गराउनका लागि अभिभावकहरु समेतको उपस्थितिमा जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी सोको कार्यविधि एवं कार्ययोजना बनाइ कार्यfन्वयन गर्नुपर्ने ।

.. मेला आयोजक निकाय सुर्खेत उद्योग बाणिज्य सङ्घले छानबीन समितिसँग गरेको प्रतिबद्धता अनुसार सम्पादन गर्नुपर्ने कार्यहरु

१.२.१. उद्योग वाणिज्य संघले आगामी वर्षहरुमा आयोजना गर्ने मेला महोत्सवहरुमा सञ्चालन गरिने बाल उद्यानहरु स्वर्गीय बालिका समिक्षा आचार्यको नाममा समीक्षा स्मृति वाल उद्यान संचालन गर्ने,

१.२.२. समिक्षा आचार्यको स्मृति एवं सम्मानमा वार्षिक ११ हजार १ सय ११ रुपैयाको समिक्षा आचार्य स्मृति शैक्षिक पुरस्कार स्थापना गरी वार्षिक रुपमा आफ्ना सदस्यका सन्ततीलाई प्रदान गर्ने,

१.२.३. समिक्षा आचार्यको स्मृतिमा छात्रवृत्ति प्रदान गर्नका लागि १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने ।

१.२.४. उल्लिखित पुरस्कार र छात्रवृत्ति प्रदान गर्नका लागि जिल्ला शिक्षा कार्यालयवाट स्वीकृति लिई  कार्यान्वयनको सुनिश्चितता हुनेतर्फ ध्यान दिनुपर्ने ।

.. राजनीतिक दल र तिनका भातृ सङ्गठन, जिल्ला शिक्षा कार्यालय, शिक्षणसंस्था, अभिभावक र शिक्षाका अन्य सराकारवालाहरुले निर्वाह गर्नु पर्ने भूमिका

१.३.१  कुनै पनि गैरशैक्षिक रयाली,  जुलुस,  प्रदर्शनी,  भेला लगायतमा बालबालिकाहरुको प्रयोग गर्न  नहुने व्यवस्थालाई प्रभावकारी रुपमा लागू गरिनु पर्ने ।

१.३.२. बालबालिकाहरुलाई प्रत्यक्ष लाभ हुने विद्यालय बाहिर गरिने शैक्षिक कृयाकलापमा सहभागी गराउदा उनीहरुको उचित संरक्षणको व्यवस्था मिलाउने । साथै अभिभावकको सहमती र जिल्ला शिक्षा कार्यालयको अनुमति लिएर मात्र उनीहरुको इच्छा अनुसार बालबालिकाहरुलाई विद्यालय बाहिर गरिने शैक्षिक कृयाकलापमा सहभागी गराउने ।

१.३.३. जिल्ला शिक्षा कार्यालय वाहेक अरु कुनै निकाय तथा संघ संस्थाले विद्यालयलाई निर्देशन दिई विद्यार्थीहरुलाई प्रयोग गर्न गराउन नपाउने ।

१.३.४. विद्यालय शान्ति क्षेत्र घोषणाको प्रभावकारी कार्यान्वयनको लागि सवै सरोकारवालाहरुले सहयोग गर्नु पर्ने ।

१.३.५. विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीको शिक्षा, स्वास्थ्य लगायतको व्यक्तिगत विवरण राख्नुपर्ने ।

१.३.६. अभिभावकहरुले छोराछोरीलाई विद्यालयमा पठाइ सकेपछि नियमित रुपमा विद्यालय तथा आफ्ना वालवालिकाहरुको वारेमा जानकारी राख्नु पर्ने ।

१.३.७. विद्यालय शान्ति क्षेत्र रहनु पर्ने । कुनै पनि वन्द हड्तालमा विद्यालय र विद्यालयका सवारी साधनहरु निर्वाध रुपले सञ्चालन हुन पाउनु पर्ने ।

१.३.८. विद्यालयले बसमा विद्यार्थी ओसार पसार गर्दा गराउदा स्कुल बसको क्षमता र विद्यार्थीको स्वास्थ्यलाइ मध्यनजर राखी यात्रालाइ सहज र छोटो हुनेगरी ब्यवस्था गर्नुपर्ने ।

१.३.९  जिल्ला शिक्षा कार्यालयको स्वीकृति नलिई वालवालिकालाई रयालीमा सहभागी गराउने विद्यालय, मेलामा विद्यार्थीको उपस्थिति गराउन अनुरोध गर्ने मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघ र प्याब्सन सुर्खेतलाई नियमन गरिनु पर्ने  ।

१.३.१० स्वर्गीय समीक्षा आचार्यको अभिभावकको नेतृत्वमा स्थापना हुन थालेको समीक्षा फाउण्डेसनको स्थापना एवम् बालबचाउ अभियानलाइ सबैले आआफ्नो स्थानबाट हरतरहले सहयोग गर्ने र आगामी दिनमा यस्ता पिडादायक घटना दोहोरिन नदिनका लागि सम्वन्धित निकाय र सरोकारवालाहरु सजग र गम्भीर हुनुपर्ने ।

स्रोत : जिल्ला शिक्षा कार्यालय सुर्खेत

प्रकाशित मितिः   २८ पुष २०७३, बिहीबार १८:१४