पेट्रोलियम अन्वेषण
भारतले नाकाबन्दी गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको चरम संकट सिर्जना भयो । त्यसयता नेपालमै पेट्रोलियमको खोजी तीव्र पारियो । जसअन्तर्गत दैलेखमा पेट्रोलियम अन्वेषणको योजना बन्यो । चीन सरकारसँगको समन्व्यमा दुई चरणमा अध्ययन भयो । अध्ययनले पेट्रोलियम पदार्थ भएको पुष्टि गरिसकेको छ । यसले नेपालमै पेट्रोलियम निकाल्ने लक्ष्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । पेट्रोलियम अन्वेषणका लागि अन्तिम चरणको काम सुरु हुने भएको छ । यसअघि दुई चरणको अध्ययन मार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिएको थियो । अब तेस्रो चरण अन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । चिनियाँ प्राविधि टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ ।
अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ । आगामी फागुनभित्रै ड्रिलिङ गर्नेगरी तयारी गरिएको छ । चिनियाँ प्राविधिकको टोलीले २०७६ मा स्थलगत अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अब ड्रिलिङमार्फत पेट्रोलियम पदार्थको अन्वेषणको थपकाम अघि बढाउने तयारी भइरहेको हो । संघीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाउन ४५ रोपनी जग्गा अधिग्रहणका लागि स्वीकृति दिइसकेको छ । गत सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको हो । अब चिनियाँ प्राविधिक टोलीले थप ड्रिलिङ गरेर सतहमा पेट्रोलको मात्रा पत्ता लगाउने काम गर्नेछ । अन्तिम चरणको अध्ययनले लगानीभन्दा उत्पादन बढ्ने देखिएमा अन्वेषणका थप काम अघि बढाइने छ । संघीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाउन लागेको छ । यसअघि पहिलो र दोस्रो चरणमा गरी दुुई वटा अध्ययन गरिएको छ ।
अब गरिने अध्ययन अन्तिम हो । अन्तिम अध्ययन भएकाले कति क्षमताको पेट्रोलियम पर्दाथ छ भन्ने कुरा पत्ता लगाउने र गहिराई मापन हुनेछ । भण्डारण पत्ता लागि सकेपछि उत्खनन्को काम अघि बढ्नेछ । पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरण ड्रिल मेसिनमार्फत अन्वेषण कार्य गरिसकेको छ । सरकारले नै प्राथमिकतामा राखेकाले दैलेखमा पेट्रोलियम उत्खनन् कार्य चाँडै अघि बढ्ने अपेक्षा गर्न सकिन्छ ।
प्रकाशित मितिः १ फाल्गुन २०७९, सोमबार १४:३१
सम्पादकीय ।