बालबालिका हराउने क्रम बढ्दो

हराउनेमा बालकभन्दा बालिका धेरै

सुर्खेत: कर्णाली प्रदेशमा हराउने बालबालिकाको संख्या ठूलो छ । प्रदेशका सबैजसो जिल्लामा बालिबालिका हराउने क्रम बर्सेनि बढ्दो क्रममा देखिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो साढे तीन वर्षको अवधिमा कर्णालीका एक हजार दुई सय २५ जना बालबालिका हराएका छन् । त्यसमध्ये एक हजार १६ जना बालबालिका भेटिएका छन् भने दुई सय नौ जना फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीमा जानकारी गराएपछि खोजी गर्दा केही बालबालिका भेटिने गरेका छन् भने कतिपय बालबालिका लामो समयसम्म पनि नभेटिने गरेको पाइएको छ ।

हराउनेमा बालकभन्दा बालिकाको संख्या बढी छ । यस अवधिमा ६ सय ६७ जना बालिका र पाँच सय ५८ बालक हराएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले बालबालिका हराउने दर बढ्दो रहेको जनाए । आर्थिक प्रलोभन, अशिक्षा, गरिबी र कतिपय विवाह गरेर पनि परिवारबाट सम्पर्कविहीन हुने गरेको पाइएको छ । कतिपय बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने गिरोहसमेत सक्रिय छ । श्रेष्ठ भन्छन्, ‘प्रलोभनहरू देखाएर एकैपटक हामीले चार पाँच जनालाई भारत लिन लागेको अवस्थामा नेपालगञ्जबाट उद्दार गरेर ल्याएका छौँ, भारतमा पनि बालबालिका राखिएको ठाउँ पत्ता लागेसम्म उनीहरूलाई उद्दार गरेर ल्याउने गरिएको छ ।’ प्रहरीका अनुसार कतिपय बालबालिका हराएको अभिभावकले प्रहरीमा जानकारी गराए पनि भेटिएपछि खबर नगर्दा हराउने र भेटिनेको संख्या यकिन गर्न भने कठिनाइ छ । प्रहरीले उजुरीका आधारमा बालबालिकाको खोजतलास गर्दै आएको छ । अभिभावकहरूले बालबालिका हराउँदा उजुरी दिन आउने तर भेटिएपछि जानकारी नदिने गर्नाले भेटिए नभेटिएकोबारे सम्बन्धित निकाय बेखबर रहने अवस्था भएको हो ।

कर्णालीमा आर्थिक वर्ष २०७६/०७७ मा तीन सय २८ जना बालबालिका हराएका थिए । तीमध्ये एक सय ६२ बालक र एक सय ६६ जना बालिका हुन् । त्यसमध्ये एक सय ५१ बालक र एक सय ५१ जना बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ । उक्त आर्थिक वर्षमा हराएका १५ जना बालिका र ११ जना बालक फेला परेका छैनन् । पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा तीन सय ७४ जना बालबालिका हराएका थिए । एक सय ३८ बालक र एक सय ७६ बालिका हराएकोमा एक सय २५ बालक र एक सय ३५ बालिका फेला परेका छन् । ३० जना बालिका र १३ जना बालक अझै भेटिएका छैनन् ।

त्यस्तै, २०७८/०७९ मा चार सय ११ जना बालबालिका हराएको प्रहरीको तथ्याङ्क छ । सो वर्ष एक सय ५६ बालक र दुई सय ५५ बालिका हराएका हुन् । हराएकामध्ये दुई सय ४० बालिका र एक सय ३७ बालक भेटिए छन् भने १९ बालक र १५ जना बालिका फेला नपरेको प्रहरीको विवरण छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म एक सय १२ जना बालबालिका हराएका छन् । त्यसमध्ये ४२ जना बालक र ७० जना बालिका भेटिएका छन्  । ३१ बालक र ४६ बालिका नभेटिएको र उनीहरूको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नभेटिएकामा ११ बालक र २४ बालिका छन् । बालबालिकाको सुरक्षा र संरक्षण साझा दायित्व भएकाले यसतर्फ सबै गम्भीर बन्नुपर्ने एसएसपी श्रेष्ठले बताए । ‘अभिभावकले पनि आफ्ना छोराछोरी के गर्छन्, उनीहरूको मनोविज्ञान बुझ्नुपर्ने र रेखदेखमा ख्याल गर्नुपर्ने हुन्छ,’ उनले भने । बालबालिका हराउनुमा आर्थिक अभाव, बेरोजगारी, साथीहरूको लहलहैमा लागेर, परिचित व्यक्तिसँग गोप्य रूपमा भेटघाट, घरासी झै–झगडा, अशिक्षा, मानसिक असन्तुलन, मनोवैज्ञानिक रूपमा कमजोर, भागेर बालविवाह गर्नु र जनचेतनाको कमिजस्ता कारण देखिने गरेको प्रहरीले जनाएको छ । गरिब तथा विपन्न परिवार, बालबालिकालाई अभिभावकहरूले निगरानी नराख्ने परिवार र अशिक्षित परिवारका बालबालिका बढी हराउने गरेको पाइएको छ । हराउनेमा अधिकांश अतिविपन्न परिवारका बालबालिका रहेको पाइएको हो ।

परिवारबाट सम्पर्कविहीन हुने तथा हराउने बालबालिका प्रायजसो भारततर्फ जाने, होटल, घरेलु काम र अवैध कारोबारमा संलग्न हुने गरेका छन् । हराएका बालबालिका अति जोखिमपूर्ण काममा संलग्न हुने गरेको पाइएको बाल अधिकारकर्मीहरू बताउँछन् । हराएका बालबालिका आफन्त तथा परिवारको सम्पर्कमा नहुँदा विभिन्न जोखिममा पर्ने गरेका छन् । उनीहरू बेचबिखनमा पर्ने, श्रम शोषणमा पर्ने, पढाइमा वञ्चित हुने र जोखिममा पर्ने गरेका हुन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बालबालिका हराउनुका कारण पत्ता लगाएर रोकथामका लागि सबै पक्ष लाग्नुपर्ने बताए । बालबालिकाहरू बेचिन सक्ने र नराम्रो काममा संलग्न हुने जोखिम बढी नै रहेकाले समयमै यसको रोकथाम गर्न नसके उनीहरूको समग्र भविष्य नै अन्धकार बन्ने उनको भनाइ छ । प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा सडक बालबालिकाको संख्या पनि दिनप्रति दिन बढ्दो छ ।

प्रकाशित मितिः   १७ माघ २०७९, मंगलवार ०५:०५