राष्ट्रनिर्मातालाइ सम्मान खोइ ?

tukaramवि. सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको पाइन्छ । स–साना टुक्रे राज्यहरूलाई एउटा सिंगो राज्यको रूपमा निर्माण गराउने कार्य पृथ्वीनारायण शाहबाट भएको थियो । त्यसैले उनलाई विशेष सम्मान र सम्झना गरिन्छ । तत्कालीन श्री ५ को सरकारले घोषणा गरेका नेपालका राष्ट्रिय विभूतिहरूमा पृथ्वीनारायण शाहको नाम स्वर्ण अक्षरले कोरिएको छ ।

पृथ्वीनारायण शाहले आफ्नो विजयी अभियानलाई सफल बनाउनको लागि अङ्ग्रेजसँग मित्रता गासेका थिए । अङ्ग्रेजसँगको सम्बन्ध सुमधुर बनाएपछि पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यहरू विजय गर्ने अभियान चलाए । उनको सबभन्दा ठूलो उपलब्धी स्वतन्त्र राष्ट्रको जग बसाल्नु हो । नेपाल एकीकरण उनका योगदानहरूमध्ये महत्वपूर्ण मानिन्छ । पृथ्वीनारायण शाहको उदय हुनुपूर्व नेपाल भनेको कुन हो, कहाँ हो कसैलाई पत्तो थिएन । त्यस बखत नेपाल भन्नाले काठमाडौं उपत्यकालाई बुझिन्थ्यो । ५० भन्दा बढी राज्यहरू नेपालको भू–भाग अन्तर्गत विद्यमान थिए । ती स–साना राज्यका राजाहरूमा आपसी सहयोगको भावना थिएन । स–साना कुराहरूमा आपसमा लडिरहन्थे । उनीहरूलाई राष्ट्रियताको ख्याल थिएन । राज्यलाई व्यक्तिगत सम्पत्तिका रूपमा लिएर पैत्रिक सम्पत्ति मानी अंशवण्डा गर्ने परम्परा बसाल्ने राज्यहरूको सीमाना साँघुरिदैं गएको पाइन्थो । तर दूरदर्शी राजा पृथ्वीनारायण शाहले राज्यलाई कहिल्यै पनि व्यतिगत सम्पत्ति मानेन् । राज्यहरूको अंशवण्डा गर्ने परम्पराले बाह्य आक्रमण निम्त्याउँछ भन्ने कुरा पृथ्वीनारायण शाहले बुझेका थिए । त्यसकारण पृथ्वीनारायण शाहले त्यस्तो ऐतिहासिक गल्ती दोहोरिन दिएनन् । उहाँमा राष्ट्र र राष्ट्रियताको भावना देखिन्थ्यो ।

यता भारतमा सत्ता जमाइसकेका इष्ट इण्डिया कम्पनीको नीतिबाट पृथ्वीनारायण शाह परिचित थिए । सियो भएर प्रवेश गरी हात्ती बनि निस्कने अङ्ग्रेजहरूको नीति थियो । पृथ्वीनारायण शाह पवित्र हिमाली राज्यहरूमा अङ्गे्जी दृष्टि पर्न नपाओस् भन्ने चाहन्थे । शक्ति सम्पन्न अङ्ग्रेजहरूसँग मुकाविला गर्न नेपाली भू–भागका राज्यहरू एकजुट हुनुपर्छ भन्ने उनको भावना थियो । त्यसकारण उनले दृढ इच्छाशक्ति, साहस र बहादुरीका साथ आफ्नो एकीकरण सङ्कल्प पूरा गर्न क्रियाशील रहे । पृथ्वीनारायण शाहले आफ्नो व्यक्तिगत, पारिवारिक अन्य कुनै पनि नातावाद, कृपावाद र विलासिता जीवनबाट सधैं टाढा रहे । राष्ट्र रहेमात्र हामी रहन पाउँछौं भन्ने धारणा उनमा थियो । ‘जय गोर्खाली विजय’ भन्ने उनको राष्ट्रिय गीत थियो । नेपालको इतिहासमा राष्ट्रियताको जग बसाल्ने श्रेय पृथ्वीनारायण शाहलाई दिनुपर्छ । उनको व्यक्तित्व सबै कोणबाट मूल्याङ्कन हुन जरुरी छ । इतिहासकारहरू भन्छन् उनले नेपालाई हजारौं वर्षसम्म स्वतन्त्र र आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यता राखेको पाइन्छ । अड्डा अदालत स्वच्छ रहनुपर्छ भनि अड्डा अदालतको पैसा दरबारमा भित्र नलैजानु भन्ने आदेश दिएका थिए । सेनाको मनोबल उच्च राख्न उनी आफै युद्धको नेतृत्व गर्दथे । राष्ट्रियताको भावना विकसित गराएर सबैको सहयोगमा उनले नेपाल एकीकरण गरेको हुँदा इतिहासकारहरूले उनको उच्च मूल्याङ्कन गरेका छन् ।

तत्तकालिन राजा जयप्रकाश मल्लले विदेशी फौज बोलाएर पृथ्वीनारायण शाहको प्रतिकार गर्न खोजेका थिए । तर उनी कहिल्यै पनि विदेशी साम्राज्यवाद, विस्तारवाद, अधिनायकवाद, सामन्तीवादको शरणमा परेनन् । पृथ्वीनारायण शाहका विरोधी मकवानपुरका राजा दिग्बन्धन शेनले भारतको मुंगेर सहरमा मानिसहरू पठाएर सैनिक सहायता लिन आग्रह गरेका थिए, उनको आग्रह अनुसार कासिम अलि खानले गुर्गिन खा को नेतृत्वमा सैनिक पठाए । सो युद्धमा कासिम असल खा का १७०० जति सैनिकहरू हताहात भएपछि उनीहरू भागे, सो लडाईंबाट ५०० ओटा बन्दुक हात पारेपछि गोर्खाली सेना अझै बलियो भयो । बाइसे–चौबीसे राज्यहरूलाई गोर्खा राज्यमा गाभ्दै पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरे भने उनका छोरा बहादुर शाहले टिष्टादेखि सतलजसम्म नेपाल राज्यको विस्तार गरे । सुगौली सन्धीमा बुद्धि पु¥याउन नसक्दा मेचीदेखि महाकालीसम्म नेपाल खुम्चनुपर्यो ।

इतिहासकार नरहरिनाथले पृथ्वीनारायण शाह जस्तो राजा इतिहासमा वीरलै जन्मन्छन् भन्ने टिप्पणी गरेका छन् । राष्ट्रियताको सवालमा विदेशीसँग कहिल्यै झुकेनन् र आफूले विजय गरेका राज्यहरूलाई गोरखा राज्य सरह व्यवहार गर्ने भएकोले उनलाई उदारवादी राजा पनि मानिन्छ । आफू राजा भएपछि झन्डै २७ वर्षसम्म अविरल रूपमा बाइसे–चौबीसे राज्य एकिकरण अभियान चलाइरहे । उनले घुस दिने र लिने राष्ट्रका शत्रु हुन भनेका छन् । पृथ्वीनारायण शाहले राज्य एकीकरणका साथसाथै प्रशासनिक, आर्थिक र सांस्कृतिक एकिकरण पनि गरेको पाइन्छ । मेरा साना दुःखले आर्जेको मुुलुक होइन, यो सबै जातको फूलबारी हो । उनले छिन्नभिन्न अवस्थामा रहेको नेपालको एकीकरण नगरेको भए नेपालमा वक्रदृष्टि अङ्ग्रेजहरूले नेपालको स्वतन्त्र अस्तित्वलाई सदाका लागि मेटाइदिन सक्थे । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई आजको कैयन राजनीतिक दल र जातीय समुदायहरूले अपराधीका रूपमा चित्रण गरिरहेको पाइन्छ ।

आज सहिदहरूको अपमान भइरहेको छ । पृथ्वीनारायण शाहको समग्र व्यक्तित्वको मूल्याङ्कन नगरी उनलाई विस्तारवादी र शोषक राजाको रूपमा व्याख्या गरेको पाइन्छ । परापूर्व कालदेखि मनाइदैं आएको पृथ्वी जयन्ती आज देशमा लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र आइसकेपछि मनाउन छाडिएको छ । यो सहिदहरूको अपमान होइन र ? बाइसे–चौबीसे राज्यहरूलाई एकीकरण गरी निर्माण भएको नेपालमा आज फेरि जातजाति, भाषभाषी, प्रदेश, धर्म र सम्प्रदायको नाममा विभाजन गर्न खोजिंदैछ । विदेशी नेतालाई प्रभु भन्ने, पूजा गर्ने, आफ्नै राष्ट्रका महान् नेतालाई हेलाहा गर्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ । यस्ता महान र त्यागी राजाको सम्मानमा राज्यले हरेक वर्ष पुस २७ गते मनाउँदै आएको पृथ्वी जयन्ती भव्य रूपमा मनाउनुपर्छ । यदि उनीलाई विस्तारवादी र अपराधीका रूपमा चित्रण गर्दा सच्चा राष्ट्रवादीहरूको हृदय चसक्क नदुख्ला र ?

बाइसे–चौबीसे राज्यहरूलाई एकीकरण गरी सिंगो नेपालको अवधारणालाई अघि सारेका पृथ्वीनारायण शाहलाई आजका विभिन्न राजनीतिक दलहरूले सामन्ती नेताको रूपमा चित्रण गरेका छन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सञ्चालन नगरेको भए आज हामी नेपाली भएर गर्भका साथ बाँच्न पाउने थिएनौं । सबै नागरिकहरूलाई एकताको सूत्रमा बाँध्न खोज्ने राष्ट्रपितालाई आज अपमान गरिएको छ । आज पृथ्वीनारायण शाहलाई अपराधीको संज्ञा दिइएको छ । नेपाल चार जात छत्तीस वर्णको सुन्दर फूलबारी हो, घुस लिने र दिने दुवै देशका शत्रु हुन्, देश जति टुक्रियो उति कमजोर हुन्छ भन्ने उनको भनाइ थियो, तर अहिलेको स्थिति त्यस्तो छैन । हाम्रा पूर्खाको रगत पसिनाले रक्षा गरेको राष्ट्रिय स्वतन्त्रता रहने हो कि नरहने हो भन्ने दोसाधमा आज हामी छट्पटाइरहेको छौं । हाम्रा भावी सन्ततीले स्वतन्त्र नेपालमा बाँच्न पाउने हुन् कि नपाउने हुन् भन्ने छटपटी बढ्न थालेको छ । व्यक्तिको स्वार्थलाई तिलाञ्जली दिएर नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्मान गर्नुको सट्टा नेपालका विभिन्न ठाउँमा रहेका उनका सालिकहरू फुटाउने र इतिहासको अपव्याख्या गरेर आज राजनीतिक दलहरू आफूहरूलाई सच्चा राष्ट्रवादी भन्न रुचाउँछन् ।
(लेखक नेपाल रेडक्रस सोसाइटी उपशाखा वीरेन्द्रनगरका सभापति हुन् ।)