प्रदेश सांसदलाई सुविधै–सुविधा

सुर्खेत: प्रदेशसभाको दोस्रो कार्यकालका लागि सदस्यहरू निर्वाचित भइसकेका छन् । कर्णाली प्रदेशसभामा ४० जना सदस्य रहन्छन् । उनीहरूले विभिन्न शीर्षकमा सेवा–सुविधा पाउँछन् । उनीहरूको सुविधामै ठूलो रकम खर्च हुने गरेको छ ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन–२०७५ मा पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाबारे व्यवस्था गरिएको छ । कर्णाली प्रदेशसभामा एक जना सभामुख, एक जना उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्ष दलको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक, दलको प्रमुख सचेतक र सत्ता पक्षको सचेतक रहने व्यवस्था छ । उनीहरूले मासिक पारिश्रमिकदेखि स्वकीय सचिवसम्म राख्न पाउने व्यवस्था छ । त्यस्तै, ती पदाधिकारीलाई सञ्चार सुविधा, अतिथि सत्कार, बैठक भत्ता, आवास सुविधा, फर्निचर, दैनिक भ्रमण भत्ता र वैदेशिक भ्रमण भत्ताको सुविधा दिइन्छ ।

पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिकबाहेक अन्य सेवा–सुविधाहरू पनि ऐनमा तोकिएको छ । सभामुखको पारिश्रमिक मात्रै मासिक ६१ हजार चार सय ८० रूपैयाँ छ । त्यस्तै, उपसभामुख र विपक्षी दलको नेताले पारिश्रमिक वापत मासिक ५८/५८ हजार रूपैयाँ पाउँछन् । सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र संसदीय दलको अध्यक्षको पारिश्रमिक ५६ हजार आठ सय ४० तोकिएको छ ।

दलको प्रमुख सचेतक र सत्ता पक्षको सचेतक तथा विपक्षी दलको सचेतकको ५४ हजार पाँच सय २० रूपैयाँ मासिक पारिश्रमिक छ । प्रदेशसभा सदस्यहरूले हरेक महिना ५२ हजार ६ सय रूपैयाँ पारिश्रमिक पाउँछन् । प्रदेशसभा सदस्यहरूलाई पनि एक जना नायव सुब्बास्तरको स्वकीय राख्न पाउने सुविधा छ ।

गत मंसिरमा सम्पन्न निर्वाचनबाट कर्णाली प्रदेशसभामा पाँच वटा दलको सहभागिता रहेको छ । नेपाली कांग्रेस, नेकपा ‐माओवादी केन्द्र) नेकपा (एमाले), एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसद्मा उपस्थिति रहनेछ । कांग्रेस, माओवादी केन्द्र र एमालेका प्रमुख सचेतक तथा सचेतकहरू रहनेछन् ।

त्यस्तै, प्रदेशसभामा चारवटा विषयगत समिति छन् । ती संसदीय समितिमा चार जना सभापति हुनेछन् । कर्णालीमा प्रदेशसभा सदस्यको पारिश्रमिक तथा अन्य सेवा–सुविधामा वार्षिक करिब ११ करोड हाराहारी खर्च हुने गरेको छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले ऐनअनुसार प्रदेशसभा सदस्य तथा पदाधिकारीहरूलाई पारिश्रमिक तथा सेवा–सुविधा उपलब्ध गराइँदै आएको बताए । प्रदेशसभाको पाँच वर्षे पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्यहरू निर्वाचित भइसकेका छन् । अबको केही दिनमा प्रदेशसभा सदस्यको शपथ खुवाएर संसद् बस्नेगरी तयारी थालिएका छन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा–सुविधामा ठूलो रकम खर्च भइरहेको भन्दै आलोचनासमेत हुने गरेको छ ।

 

प्रकाशित मितिः   ७ पुष २०७९, बिहीबार १३:०५