कर्मचारीको व्यवस्थापन

अधिकांश स्थानीय तहले जनशक्तिको अभाव झेलिरहेका बेला वीरेन्द्रनगर नगरपालिकामा भने ठूलो संख्यामा कर्मचारी कार्यरत रहेका हछन् । कतिसम्म भने दरबन्दीभन्दा झन्डै तेब्बर संख्यामा कर्मचारी छन् । प्रदेशकै सबैभन्दा सुगम भएकाले वीरेन्द्रनगर स्थानीय तहका कर्मचारीको पहिलो रोजाइमा पर्ने गरेको छ । सोही आकर्षणले कर्मचारीको चाप अधिक छ । आवश्यकताभन्दा बढी कर्मचारी हुँदा उनीहरूको व्यवस्थापनमा हम्मेहम्मे परेको छ । वीरेन्द्रनगरमा कर्मचारीहरूको संगठन तथा संरचना व्यवस्थापन (ओएनएम) बनेको छैन । जसले गर्दा पालिकामा कर्मचारी कसरी व्यवस्थापन गर्ने भन्ने कठिनाइ छ । अबको केही दिनमा ओएनएम गर्नेगरी प्रक्रियाहरू अघि बढाइएको छ । ओएनएम भएपश्चात् आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत हुनेछ । त्यपछि मात्रै बढी भएका कर्मचारीको व्यवस्थापन गर्न सहज हुने छ । सेवा प्रवाहको आवश्यकता र कामको प्रकृति हेरेर प्रशासन, प्राविधिक तथा स्वास्थ्यका जनशक्तिको दरबन्दी कायम गरिने बताइएको छ । ओएनएम भएपछि कर्मचारी आवश्यक परे थप्ने र बढी भएमा कटौती गर्ने तयारी नगरपालिकाको छ ।

नगरपालिकामा हाल स्थायी र करार गरी तीन सय ५५ जना कर्मचारी छन् । धेरै कर्मचारी हुँदा नगरपालिकालाई उनीहरूको व्यवस्थापनमा सकस भएको छ । यहाँ स्थायी एक सय ९७ जना र करारमा एक सय २३ जना कर्मचारी छन् । कार्यरत कर्मचारीमध्ये प्राविधिकतर्फ स्थायी एक सय २६ र करारका ५४ जना छन् । अप्राविधिकतर्फ स्थायी ७१ जना र करारका ६९ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये पालिकामा तहविहीन १५ जना कर्मचारी छन् । जबकी २०७४ सालमा सामान्य प्रशासन मन्त्रालयले यो पालिकामा कूल ६४ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । त्यसयता नगरमा आउन धमाधम स्वीकृति दिँदा वीरेन्द्रनगरमा कर्मचारीको चाप बढेको हो । नगरपालिकामा स्वास्थ्यमा ४२ जना कर्मचारीको दरबन्दी छ । जहाँ अहिले दरबन्दीभन्दा ५२ जना कर्मचारी बढी छन् ।

छरपष्ट कर्मचारी हँुदा कार्यसम्पादन पनि अस्तव्यस्त भएको नगरपालिकाले जनाएको छ । धेरै कर्मचारी हुँदा सेवा प्रवाह र कार्यसम्पादनमा असर परेको बताए । कर्मचारी दरबन्दी यकिन नहुँदा हाल जति कर्मचारी छन् त्यति नै दरबन्दी भन्न थालिएको छ । भएका कर्मचारीलाई व्यवस्थित गर्न नसक्दा सेवा प्रवाहसमेत चुस्त हुन सकेको छैन । ठूलो संख्यामा हुँदा सबैभन्दा बढी मर्कामा स्वास्थ्यका कर्मचारी छन् । नगरका कुनै शाखामा कर्मचारी फालाफाल छन् भने केहीमा कर्मचारीको अभाव छ । जनशक्ति व्यवस्थापनको निश्चित संगठन संरचना तयार नभएको अवस्थामा अनुमानको भरमा कार्यसम्पादन भइरहेको छ । यसलाई अन्त्य गर्न समयमै औएनएम तयार गरी कार्यान्वयन गर्न जरुरी भइसकेको छ ।

प्रकाशित मितिः   ७ पुष २०७९, बिहीबार ०५:०३