उद्यमले उकासिदैं जीवनस्तर

वीरेन्द्रनगरकी रूपमाया बुढाको आर्थिक अवस्था केही वर्षअघिसम्म नाजुक थियो । साँझ–बिहानको छाक टार्नै मुस्किल थियो । ऋणले सधैं सताइरहन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । रूपमायाको परिवार ऋणमुक्त भएर भविष्यका लागि बचत गर्नसक्ने भइसकेको छ ।

रूपमायाले गरिबी निवारण कोषले सञ्चालन गरेको कार्यक्रममार्फत् सामुदायिक संस्थाबाट २० हजार ऋण लिएर भैंसीपालन गरिन् । भैंसीको दुध बेचेरै उनले अहिले मासिक १५ हजार बचत गर्नसक्ने भएकी छिन् । ‘मेरो अहिले मासिक १५ हजार बचत हुने गरेको छ’ उनले भनिन्, ‘गरिबी निवारण कोषले मेरो जीवन नै परिवर्तन ल्याइदिएको छ ।’

केही समय अगाडिसम्म उनको श्रीमान् रोजगारीका लागि भारतमा जाने गर्दथे । तर हिजोआज घरमै बसेर भैंसीपालनबाट भएको आम्दानीले पसल सञ्चालन गरी बसेका छन् । ‘मेरो श्रीमान् पहिले भारतमा जाने गर्नुहुन्थ्यो’ उनले भनिन्, ‘उहाँले ल्याएको कमाइले वीरेन्द्रनगर जस्तो महँगो ठाउँमा के पुग्थ्यो र ? तर अहिले घरमै बसेर भैंसीपालन तथा खुद्रा पसल गरिरहेका छौ, सजिलो भएको छ ।’ रूपमायाको जस्तै सुर्खेतका ग्रामीण क्षेत्रका नागरिकहरू गरिबीको रेखामुनीबाट माथि उठ्न थालेका छन् ।

गरिबी निवारण कोषको कार्यक्रम सुरु भएपछि उनीहरूको जीवनमा परिवर्तन आउन थालेको हो । सुर्खेतमा गरिबी निवारण कोषको कार्यक्रम लागू भएपछि ग्रामीण क्षेत्रका नागरिकहरूमा विभिन्न सीपमूलक तालिमको साथसाथै विभिन्न आयआर्जनमूलक कार्यमा लाग्न थालेका छन् । सुर्खेतका ३२ वटा गाउँ विकास समितिहरूमा कार्यक्रम सञ्चालन भएको छ ।

कोषसँगको साझेदारीमा जिल्लामा रहेका स्याक, वाम, सुन्दर नेपाल, कोडेट, एलीडीएफ लगायतका संस्थाले ती गाविसहरूमा विभिन्न सामुदायिक संस्थामार्फत् आयआर्जनका क्रियाकलाप गरिरहेका छन् । बाख्रापालन, भैंसीपालन, तरकारीखेती लगायतका क्रियाकलापमा नागरिकहरू संलग्न भएका छन् । सामुदायिक संस्थामार्फत् सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने भएकाले नागरिकहरू ऋण लिएर विभिन्न व्यवसाय गर्न उत्साहित हुँदै गएका छन् ।

हरिहरपुर गाउँ विकास समिति वडा नम्बर ४ का टेकबहादुर कामी पनि कोषकै कार्यक्रम अन्तर्गत सामुदयिक संस्थाबाट ऋण लिएर खुद्रा पसल गरी दैनिक पाँच सय बराबरको नाफा गर्छन् । ‘पहिला मलाई पनि यहाँ केही छैन जस्तो लाग्थ्यो, ऋण लिँदा ब्याज तिर्न ठीक्क हुन्थ्यो, तर अहिले म यो व्यवसायबाट सन्तुष्ट छु,’ उनले भने । गुटु–६ की खगीसरा बोहोराको जीवनमा पनि अहिले परिवर्तन आएको छ । उनले अहिले सामुदायिक समूहबाट ५० हजार सहुलियतमा ऋण लिएर भैंसी किनेकी छिन् । साथमा तरकारी खेती पनि गरेकी छिन् । यी दुई पेसाबाट मासिक रूपमा २० हजार भन्दा बढी आम्दानी गरिरहेको उनले जानकारी दिइन् । सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) का कार्यक्रम संयोजक लालबहादुर जीएमले यो कार्यक्रमले गरिबी रेखामुनी रहेका नागरिकलाई व्यवसायिक बन्न सिकाएको दाबी गरे । उनले भने, ‘कोषको कार्यक्रमले समुदायका नागरिकहरू व्यवसायिक बनेका छन्, अझै हामी उद्यमी बनाउने लक्षमा छौं ।’

प्रकाशित मितिः   २४ पुष २०७३, आईतवार १२:२४