जातीय द्वन्द्व किन ?
केही हप्ता पहिले मंगोल नेशनल अर्गनाइजेशनको कार्यक्रममा लगाइका नारा तथा चर्काइएका भाषणहरूले सुर्खेतको बजारलाई निकै ततायो । हरेक चिया पसलमा यसबारे गफ नसुन्ने गिलासहरू थिएनन् सायद ? मानिसहरू आ–आफ्नै धारणाहरू व्यक्त गर्नमा व्यस्त छन् । मौका पाउना साथ उनीहरू आफ्नो कुरा सुनाइहाल्छन् । जातीय धारणा तथा जातीय विषयलाई हतियार बनाइ मंगोल नेशनल अर्गनाइजेशनले जमातमा आफ्नो पनि उपस्थिति देखायो । तर आम जनसमुदायको धारणा बेग्लै त पक्कै छ । वर्तमान समयमा मंगोल अर्गनाइजेशनलाई आमव्यक्तिले जतिसुकै नकारेता पनि भविष्यमा के यही विषय उसको पतनको विषय होला या अरु नै केही ?
विश्वमा शान्तिको प्रतिकको रूपमा पनि नेपाल परिचित छ । विदेशीहरू यहाँ शान्तिको खोजीमा आउने गर्छन् । मानिसहरू नेपालको स्रोतसाधन तथा यहाको स्वतन्त्रताको बारेमा गफिन्छन् पनि । नेपाल पटक पटक भ्रमण गर्नेहरूमा २८ पटकसम्म पनि नेपाल आउने पर्यटकहरू हामी सरलै भेट्न सक्छौं । उनीहरूलाई नेपाललाई अझै बुझ्न खोज्दैछन् । नेपालमा अझै रम्न चाहन्छन् । नेपालमा अझै भिज्न चाहन्छन् । विकासोन्मुख नेपाललाई मन नपराउने विदेशी सायदै विरलै भेटिन्छन् । जसको कारण हाम्रो आचरण तथा हाम्रा व्यवहार अनि पद्धतिहरूले मुख्य भूमिका खेलिरहेको छ ।
नेपालको संविधान–२०७२ मा नेपाललाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक’ भनि सम्बोधन गरिएको पनि छ । परापूर्वककालदेखि नै नेपाल एक स्वतन्त्रतात्मक मुलुक रही आएको छ । नेपाली नागरिकलाई पनि यस्ता हकहरू दिइएको छ जसको कारण कोही नेपाली नागरिक पनि अछुतो रहन नपरोस् । तर पनि हामी नागरिक यहाँ भुक्नेको पछि लागिरहेका छौं ।
मंगोलका केही अगुवाहरूको भुकाइका पछि केही नागरिकहरू जानी नजानी लागिरहेका छन् । मंगोल उनीहरूलाई वितृत सुनाइरहेको त पक्कै छैन । मंगोल उनीहरूका गुमेका हक अधिकारका बारेमा सुनाउँदैछ, पुस्ताका अनाधिकारिक कहानी घोकाउँदैछ । तर नागरिकहरूलाई हक अधिकारका लागि राज्यद्वारा गरिएका क्रियाकलाप, ऐन कानुन तथा संविधानको बारेमा जानकारी नै नदिइ मंलोल आफूलाई नागरिकसामु एक माध्यमको रूपमा प्रस्तुत गर्न चाहन्छ । तराइमा चलाइएको मधेशी मुद्दा सेलाउन नपाउँदै फेरि पहाडी क्षेत्रमा जातीय हिंसालाई आफ्नो हतियार बनाइ आफ्नो वर्चश्व उच्च राख्न खोज्नेहरू खेती गर्न चाहन्छन्् । उनीहरूको जातीयताको खेती गर्न चाहन्छन् । आम नागरिक तथा जनसमुदायमा रहेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई नागरिकबाटै हटाउने प्रयास गर्ने किसानहरूको जन्म लिन लागेको देख्दा देशको भावी अवस्था कल्पना समेत गर्न डर लाग्छ । जातीय विषय बनमारा झै हो । एकपल्ट हुर्कियो भने यसले सारा जंगल सखाप पारेरै छाड्छ । हुन त बनमाराका लागि यो उपलब्धीको विषय पनि बन्नसक्छ । यसले आफ्नो जमात बढाउँदै सारा जंगल आफ्नो बनाउनु उसको पक्षमा सही पनि हो । उपलब्धी हो । लक्ष्य र प्राप्ती हो । तर वर्तमान समाजको आवश्यकता बनमारा होइन । वनमा सबै प्रजातिका बोटविरुवा तथा जीवजन्तुको आवश्यकता समाजलाई छ ।
समाजमा जातीय हिंसालाई आफ्नो मूल मुद्दा बनाएर राजनीतिको खेती गर्ने मनोभावना लिएका विशेषज्ञको खेतीलाई समाज स्वीकार्न सक्दैन । सुर्खेतको परिवेशमा अधिकांश मात्रामा बाहिरी स्थानबाट आफ्नै झै देखिएका कार्यकर्ताहरूको भीड देखाउनुका साथै चर्को जातीय आक्रोशको नारा आउनुमा आम मानिसहरू के सोचिरहेका छन् ? यसको नतिजा पनि केही दिन अघिको मंगोल विरुद्धका ¥यालीहरूले स्पष्ट देखाइसकेका छन् । भीड त एउटा चटकेले पनि जम्मा गरेको हुन्छ, एउटा कुशल राजनीतिज्ञ जनताका मनमा बस्ने हो गालीमा होइन ।
मंगोल नेशनल अर्गनाइजेशनद्वारा जातीय द्वन्द्व तथा राष्ट्रिय एकता सिर्जना गर्ने खालका भाषणहरू जनतामाझ आइरहेको समयमा प्रशासन पनि किन मौन ? नेपालको संविधान २०७२ को धारा ५ को राष्ट्रिय हित बमोजिम ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्’ भन्ने कुरा उल्लेख गरिएको छ भने मंगोलद्वारा दिइएको अभिव्यक्ति पनि सरासरा गैहकानुनी हो । मंगोल नेपालमा जातीय द्वन्द्वको खेतीगर्न चाहन्छ । त्यो खेती जो एक पटक हुर्काएपछि युगौंयुगसम्म फल दिइरहोस् । राष्ट्रहित प्रतिकुलको आचरण र कार्य संघीय कानुन बमोजिम दण्डनीय हुनेछ भन्ने थाह हुँदाहुँदै पनि मंगोलको यो क्रियाकलापले प्रशासन क्षेत्रलाई चुनौती पनि पक्कै दिएको हो ।
हामी नागरिक पनि यसलाई किन समय दिइरहेका छौं ? हामीलाई थाह छ, जातीय द्वन्द्वको सिर्जना समाजमा आवश्यक छैन भन्ने कुरो तैपनि हामी यसको पछाडि छौ । अर्को कुरा, मंगोल नेशनल अर्गनाइजेशनका भाषण तथा नाराहरू विरुद्ध विरोध ¥याली तथा अन्य क्रियाकलापहरूको भविष्य के ? यसको सकारात्मक पक्ष के ? र नकारात्मक के ? सकारात्मक, जनताका धारणा व्यक्त गरिएको छ । जनता के चाहन्छन् भन्ने कुरो सुनाइएको छ ? अब नकारात्मक, भोलि मंगोलले फेरि आफ्ना कार्यकर्तालाई बाहुनक्षेत्रीले हेप्न थाल्यो भन्दै आफ्ना कार्यकर्तालाई उक्साउछ । तत्पश्चातका एक दुई घटनापछि जातीय द्वन्द्वको पनि सिर्जना नहोला भन्न सकिदैंन । उही पुरानो उखानको कुरा, पहिले कागको पछि दौड्ने या कान छाम्ने । यो दुवै पक्षलाई यो उखान उत्तम छ । मंगोलका कार्यकर्ता तथा अन्य जनसमुदाय दुवैले कागको उखानलाई मध्यनजर गर्नुपर्ने वर्तमान आवश्यकता हो । मंगोलका नारा विरुद्ध जनताले सडक कार्यक्रम गर्नुको साटो राष्ट्रिय हित विपरित कार्य गरिएकोमा सम्बन्धित निकायद्वारा कारबाही अघि बढाइनु सायद बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताको लागि उत्तम पक्ष रहनेछ ।
प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १२:१९
साझा बिसौनी ।