स्वास्थ्यचौकीमा जाँच, निजी क्लिनिकबाट औषधी

तीन वर्षीय छोरा ज्योतिष चौधरीलाई घाउखटिराले सताएपछि आमा रामकुमारीले उनलाई उपचारका लागि बैजापुर उपस्वास्थ्यचौकीमा लगिन् । चौकीका इन्चार्ज हीरामणि गुरुउले उनलाई जाँचेर औषधि पनि लेखिदिए । तर, स्वास्थ्यचौकीमा औषधि नभएपछि उनले निजी क्लिनिकमा किन्न सल्लाह दिंदै पठाए । घाउको पीडाले बालक रोइरहेका थिए ।

‘छोराको उपचार होला भनेर अस्पताल आएकी थिएँ । तर, यहाँ औषधि पाइएन । डाक्टरले गाउँमै किन्न सल्लाह दिनुभयो,’ रामकुमारीले भनिन्,‘पैसा नभएका कारण सरकारी अस्पतालमा आएँ । तर, छोराको उपचार भएन ।’

चिसोका कारण ज्वरो र रुघाखोकीले सताएपछि ज्येष्ठ नागरिक छोटेलाल मगर नाकाबाट उपचारका लागि स्वास्थ्यचौकी आए । उनले पनि सिटामोलसमेत पाउन सकेनन् । काखे छोरा च्यापेर निर्मला केसी पनि उपस्वास्थ्यचौकीमा छिरिन् । उनका छोरालाई रुघाले सताएको थियो । उनलाई पनि स्वास्थ्यकर्मीले औषधि सकिएको भन्दै निजी क्लिनिकमा किन्न सुझाए ।

राप्तीपारिको बैजापुरस्थित उपस्वास्थ्यचौकीमा उपचारका लागि आएका थुप्रै बिरामीले शुक्रबार यस्तै नियति भोग्नुपर्‍यो । दैनिक ८० बढीभन्दा बढी बिरामी यहाँ उपचारका लागि आउने गर्छन् । स्वास्थ्यचौकीमा सिटामोल, जीवनजल, सिप्रो, लुतो, पखाला, घाउखटिराका औषधि सकिएपछि बिरामीहरू उपचारबिनै घर फर्किन विवश छन् । ‘औषधिको चरम अभाव छ । सामान्य औषधि पनि सकिएपछि बिरामीलाई बाहिर किन्न सुझाव दिएका छौँ,’ बैजापुर उपस्वास्थ्यचौकीका इन्चार्ज हीरामणीले भने, ‘जिल्ला जनस्वास्थ्यले पठाएको औषधि एकै दिनमा सकिन्छ ।’

बैजापुर उपस्वास्थ्यचौकीमात्र होइन, बाँकेका प्राथमिक स्वास्थ्य केन्द्र र उपस्वास्थ्यचौकीमा समेत लामो समयदेखि औषधि अभाव हुँदै आएको छ । सरकारले उपस्वास्थ्यचौकीबाट ३५ प्रकारका औषधि निस्शुल्क वितरण गर्ने भने पनि सर्वसाधारणले रुघाखोकी र सामान्य ज्वरोका औषधिसमेत पाउन सकेका छैनन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खरिद गर्न वार्षिक ५५ लाख रुपैयाँ बजेट पाउँछ । खरिद गरिएको औषधिले पनि एकरदुई महिनामात्रै पुग्ने गरेको जनस्वास्थ्यले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज शाहले मन्त्रालयले दुई वर्षदेखि औषधि खरिद नगरेको बताए ।

जीवनजल दैनिक २३ हजार ५ सय प्याकेट माग हुने गरेको छ । त्यस्तै, गर्भवती र सुत्केरी महिलाले प्रयोग गर्ने आइरन चक्की पनि अभाव हुँदै गएको छ । वर्षमा ३० लाख आइरन चक्की आवश्यक पर्नेमा १५ लाख मात्रै पाइएकाले समस्या भएको हो । बाँकेमा ३ प्राथमिक स्वास्थ्य केन्द्र र ४४ उपस्वास्थ्यचौकी छन् ।

इकान्तिपुरबाट

प्रकाशित मितिः   २३ पुष २०७३, शनिबार १५:२०