मतदातामा घट्दो उत्साह

कर्णाली प्रदेशमा ६० प्रतिशत मतदान भएको प्रारम्भिक आकलन

सुर्खेत: प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न मतदान भएको छ । आइतवार देशभर एकैसाथ निर्वाचन सम्पन्न भएको हो । अघिल्ला निर्वाचनको तुलनामा यसपटक मतदाताहरूको सहभागिता भने कम देखिएको छ । निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार यो चुनावमा ६५ प्रतिशतभन्दा पनि कम मत खसेको छ । आयोगले ७० प्रतिशत हाराहारी मतदान हुने प्रक्षेपण गरेको थियो । २०७४ को तुलनामा यसपालि थोरै मतदान भएको छ । दुई चरणमा सम्पन्न अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६८.६७ प्रतिशत मतदाताले भोट हालेका थिए । यसपटकको चुनावमा उक्त प्रतिशत बढ्ने पूर्वाअनुमान गरिए पनि मतदान थोरै भएको हो ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा पनि पहिलो कार्यकालको तुलनामा कम मत खसेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशभर ७० प्रतिशत मतदान भएकोमा यसपटक ६५ प्रतिशत मतदाताले मात्रै भोट हालेका थिए । पछिल्ला वर्षहरूमा नागरिकमा राजनीतिप्रति निराशा बढेकाले त्यसको प्रभाव मतदानमा पनि प्रकट भएको जानकारहरू बताउँछन् । देश संघीय संरचनामा गएपछि पहिलो पटक भएको निर्वाचनमा मतदाता निकै उत्साहित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालको चुनावमा आइपुग्दा मतदाताको उत्साहमा कमी देखिएको हो । यसअघिको कार्यकालका लागि चुनेका प्रतिनिधि र बनेका सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको भन्दै मतदाताहरूमा निराशा बढेको पाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रतिनिधि चुन्न आइतवार मतदान गरेकी वीरेन्द्रनगर–५ की पुजा सापकोटाले जनप्रतिनिधिको भरोसा लाग्नै छाडेको बताइन् । केही विकास भइहाल्छ कि भन्ने झिनो आशले भोट हालेको उनी बताउँछिन् । ‘जनताले अहिलेसम्म नपाएको सुविधा अब आउने नयाँ जनप्रतिनिधिले पूरा गर्नुपर्छ,’ उनले भनिन्, ‘नेताहरूप्रति निराशा बढ्दो छ, यसतर्फ जनप्रतिनिधि गम्भीर बन्नुपर्छ ।’ विगतमा निर्वाचित प्रतिनिधिले शिक्षा, स्वास्थ्य र जनताका आधारभूत आवश्यकताको परिपूर्तिका लागि पनि ध्यान नदिएको उनले गुनासो गरिन् । सोही ठाउँकी ज्येष्ठ नागरिक विष्णु आचार्यले देशमा शान्ति र विकास होस् भन्ने आशाले मतदान गरेको बताइन् । ‘भोट त १५ सालदेखि हाल्दै आएकी छु,’ उनले भनिन्, ‘मत दिन पाउँदा खुसी लाग्छ, बाचा गरेअनुसार काम नहुँदा निराशा पनि उत्तिकै छ ।’ यस निर्वाचनमार्फत सुर्खेतमा दुई प्रतिनिधिसभा सदस्य र ६ जना प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनेछन् । त्यस्तै, कर्णाली प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभामा १२ र प्रदेशसभामा २४ जना सांसद चुनिनेछन् ।

कर्णाली प्रदेशभर यसपालिको चुनावमा पनि गएको स्थानीय तहको निर्वाचनकै हाराहारीमा मतदान भएको छ । यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कर्णालीमा ६० प्रतिशत मतदाताले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ‘यकिन विवरण आउन बाँकी रहेपनि साँझ ५ बजेसम्म यही हाराहारीमा मत खसेको विवरण प्राप्त भएको छ,’ प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने, ‘सुर्खेतमा पनि करिब ६० प्रतिशत नै मतदान भएको प्रारम्भिक आकलन छ ।’ पहिलोभन्दा दोस्रो कार्यकालको चुनावमा झन्डै पाँचदेखि सात प्रतिशत कम मतदान भएको अनुमान गरिएको छ । आइतवारको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि सुरु गरिएको थियो । मतदान बेलुकी ५ बजेसम्म भनिए पनि तोकिएको समयमा केन्द्रभित्र प्रवेश गरेकालाई अबेरसम्म मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

मतदान शान्तिपूर्ण

देशभरका अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भएको छ । केही केन्द्रहरूमा विवाद उत्पन्न हुँदा ढिलागरी मतदान सुरु गरिएको थियो भने कतिपयमा मतदान कार्य नै स्थगित भएको छ । देशभरका १५ केन्द्रमा मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ । सत्ता गठबन्धन र नेकपा ‐एमाले) कार्यकर्ता बीच विवाद बढेर झडपको स्थिति भएपछि ती स्थानहरूमा मतदान स्थगित गरिएको छ । निर्वाचनका क्रममा कर्णालीका कतिपय मतदान केन्द्रमा छिटफुट झडपका घटना पनि भएको प्रहरीले जनाएको छ । राजनीतिक दलका कार्यकर्ताहरूको विवादले ती स्थानमा केही बेर मतदान स्थगित भएको थियो । प्रहरीका अनुसार त्यस्ता ठाउँहरूमा केही समय मतदान कार्य स्थगित भएपनि विवाद समाधान गरेर पुनः सुरु गरिएको थियो । अपवादबाहेक समग्रमा कर्णाली प्रदेशभर शान्तिपूर्ण तरिकाले मतदान भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मतगणना आजदेखि

मतदान सम्पन्न भएका केन्द्रबाट मतपेटीका गणनास्थलमा ल्याउने काम आइतवार साँझबाट सुरु भएको छ । सुर्खेतमा क्षेत्र नं. १ को मेहलकुना र २ को वीरेन्द्रनगरमा मतगणना हुनेछ । अघिल्ला निर्वाचनहरूमा दुवै निर्वाचन क्षेत्रको मतगणना एकै ठाउँबाट गर्ने गरिएकोमा यसपटक सम्बन्धित निर्वाचन क्षेत्रमै मतगणनाको व्यवस्था मिलाइएको छ । मतगणना सोमवारदेखि मात्रै सुरु हुने भएको छ । सुर्खेत क्षेत्र नं. १ को मतगणना भने तत्कालै हुनेछैन । त्यहाँ एउटा केन्द्रमा मतदान स्थगित भएकाले उक्त ठाउँमा मतदान भएपछि मतगणना सुरु हुने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । निर्वाचन क्षेत्र नं. १ को सिम्ता गाउँपालिका ६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि मतदान स्थगित भएको छ । चालिसेले केही प्राविधिक कारणले मतदान रोकिएको र उक्त केन्द्रमा निर्वाचन आयोगको निर्णयपछि मात्रै मतदानको टुँगो लाग्ने बताए । क्षेत्र नं. २ को वीरेन्द्रनगरमा मतपेटीका संकलन गर्ने कार्य भइरहेको र सोमवार बिहानदेखि गणना सुरु हुने बताइएको छ । क्षेत्र नं. २ को मतगणना वीरेन्द्रनगरस्थित सुर्खेत सभागृह ‐सिटीहल) मा हुनेछ । प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा सोमवारबाटै मतगणना थाल्नेगरी तयारी भएको प्रदेश निर्वाचन अधिकारी चालिसेले जानकारी दिए ।

प्रकाशित मितिः   ५ मंसिर २०७९, सोमबार ०५:०५