शिक्षा नीतिभन्दा पूर्वाधारमा जोड
सुर्खेत: अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले राजनीतिक दल र उम्मेदवाहरू विभिन्न एजेन्डा उठाएर भोट माग्न व्यस्त छन् । उम्मेदवारहरूले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरिरहँदा शिक्षाका सवालमा पनि चर्चा हुने गरेको छ । चुनावी प्रतिबद्धतामा पूर्वाधार विकासका एजेन्डाले प्राथमिकता पाए पनि शिक्षालाई अधिकांश उम्मेदवारले छुटाएका भने छैनन् । कतिपय उम्मेदवारहरूका प्रतिबद्धता–पत्रमा भने शिक्षाका महŒवकांक्षी योजनाहरूले पनि ठाउँ पाएका छन् । शिक्षाको नीति निर्माणभन्दा शैक्षिक पूर्वाधार निर्माणका मुद्दामै उम्मेदवारहरूले जोड दिएको देखिन्छ । शिक्षाका पूर्वाधार, संरचना र जनशक्ति व्यवस्थापनलाई उम्मेदवारहरूले एजेन्डाका रूपमा अघि सारेका हुन् ।
सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘क’ का उम्मेदवार यामलाल कँडेलले सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि पहल गरिने जनाइएको छ । उनले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोडेर बजारीकरणमा पहल गर्ने एजेन्डा सार्वजनिक गरेका छन् । मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पसलाई गुणस्तरीय, प्रतिस्पर्धीका साथै उच्च तहको अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गर्न पहल गरिने कँडेलको प्रतिबद्धतामा उल्लेख । सामुदायिक विद्यालयहरूका लागि हाल व्यवस्था गरिँदै आएको बजेटमा वृद्धि गरी सुरक्षित भवन, आवश्यक जनशक्ति र अन्य पूर्वाधारको विकास गर्ने तथा निजी शैक्षिक संस्थाहरूलाई व्यवस्थित गर्न पहल गर्ने उनले बताएका छन् । सुर्खेत क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ का उम्मेदवार कृष्णबहादुर जिसीले सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा प्रत्येक पालिकामा आवासीय विद्यालय स्थापना गर्ने उल्लेख छ । एक पालिका एक नमुना विद्यालय, विद्यालयमा तल्लो तहको कक्षादेखि नै नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठनका लागि पहल गर्ने र सबै विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइने एजेन्डा उनले अघि सारेका छन् । जिसीले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भए आफ्नो क्षेत्रमा पर्ने पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने र सामुदायिक तथा पुस्तकालय अध्ययन केन्द्र्र स्थापना गर्ने योजना रहेको बताए ।
सुर्खेत क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमृत विसीले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत बहुमुखी क्याम्पस र विद्यापुर बहुमुखी क्याम्पसलाई गुणस्तरीय शिक्षा, उच्च शिक्षाको अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने उनको एजेन्डा छ । बिसीले विद्यालयतहदेखि नै प्राविधिक धारका विषयहरू पठनपाठनको व्यवस्था मिलाउने योजनासहितको चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका अर्का उम्मेदवार हृदयराम थानीले १६ बुँदे चुनावी संकल्प–पत्र सार्वजनिक गरेका छन् । उनले त्यसका शिक्षाका ठोस एजेन्डा नसमेटेपनि शैक्षिक क्षेत्रको विकासका लागि आफूले उच्च प्राथमिकता दिएर आवश्यक पहल गर्ने मतदातामाझ बताउने गरेका छन् ।
प्रकाशित मितिः २७ कार्तिक २०७९, आईतवार ०७:४३
साझा बिसौनी ।