शैक्षिक क्षेत्रलाई बेवास्ता

नयाँ शैक्षिक सत्र सुरु भएको ६ महिना भइसक्दासम्म पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पाएका छैनन् भन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । हिमाली जिल्ला हुम्लाका कतिपय विद्यालयका विद्यार्थीले अझै पनि पाठ्यपुस्तक पाएका छैनन् । विद्यार्थीको हातमा पुस्तक नपरेरै पढाइ भइरहेको छ । यसअघि गएको पुस्तक पनि निकै ढिला गरेर मात्रै पुगेको थियो । हुम्लामा केही थान पुस्तक त्रैमासिक परीक्षा सकिएपछि मात्र पुगेको थियो । त्यो पनि अपर्याप्त । विगतमा पनि समयमै पुस्तक नपुग्ने समस्या हुने गरेको थियो । यसवर्ष पनि त्यसैले निरन्तरता पाएको छ । सुधार भएको छैन । समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला गम्भिर हुन नसक्दा पुस्तकविना पढ्नुपर्ने बाध्यतामा विद्यार्थी छन् ।

सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा किस्ता किस्तामा पाठ्यपुुस्तक गयो । पटक–पटक किताब आए पनि अहिले पनि कतिपय विद्यार्थीका हात खाली छन् । त्यहाँ सबै कक्षामा पर्याप्त पाठ्यपुुस्तक नपुगेको हो । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक अमरबहादुुर शाहीले समयमा पाठ्यपुुस्तक नआउँदा विद्यार्थीको पढाइमा अन्योल भइरहेको बताए । गएका तीन वर्ष कोरोना महामारीका कारण अस्तव्यस्त बनेको पठनपाठन यस पटक पनि पाठ्यपुस्तक नहुँदा समस्या भएको शिक्षकहरूले बताएका छन् । सरकारले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थीहरू मर्कामा परेको बताइएको छ । सिमकोट गाउँपालिकाका सामुुदायिक विद्यालयका सबै कक्षामा पाठ्यपुस्तक अहिलेसम्म पुुग्न सकेको छैन । एकातर्फ भौगोलिक विकटताले गर्दा समयमै पाठ्यपुुस्तक पुग्दैन । अर्कोतर्फ हवाइ सेवा उपलब्ध नहँुुदा खच्चडबाट ढुुवानी गर्नुुपर्ने बाध्यता छ । त्यसमाथि सरोकारवालाहरूको बेवास्ताका कारण ढिला हुँदै आएको छ । अदानचुली गाउँपालिकामा पनि सबै बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुुस्तक ढुवानीकर्ता र बिक्रेताको लापरबाहीकै कारण विद्यार्थीको हातमा किताब पुग्न नसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुुख रनसुर रोकायाले बताए । उनका अनुसार उक्त पालिकामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएका छन् ।

विगतका वर्षहरूमा पनि हुम्लालगायतका कर्णालीका हिमाली जिल्लाहरूमा समयमै पाठ्यपुुस्तक पुगेको थिएन । सरकारको बेवास्ताका कारण शैक्षिक अवस्था लथालिङ्ग बनेको छ । चुुनावका मतपत्र समयमै पुग्छन् तर पाठ्यपुस्तक पुग्दैनन् । यसले पनि शिक्षाप्रति सरोकारवाला जिम्मेवार बन्न नसकेको प्रष्ट हुन्छ । जसले गर्दा बर्सेनि पाठ्यपुस्तकको अभाव हुने गरेको छ । यस्तो गैरजिम्मेवारपन अन्त्य गरी विद्यार्थीलाई समयमै पुस्तक पु¥याउन सरोकारवाला पक्ष गम्भिर हुन जरुरी छ ।

प्रकाशित मितिः   १८ कार्तिक २०७९, शुक्रबार ०५:०३