विकास पर्खिएको गढी

पर्यटकीय गन्तव्य बनाउने उम्मेदवारका प्रतिबद्धता

सुर्खेत: हाल वीरेन्द्रनगर–१४ मा पर्ने गढी कुनै बेला सुर्खेतको सदरमुकाम थियो । २०२३ सालपछि जिल्ला सदरमुकाम वीरेन्द्रनगर उपत्यकामा स¥यो । सदरमुकाम सारिएसँगै त्यस क्षेत्रका अधिकांश बस्ती पनि उपत्यकामै सरे । ऐतिहासिक र पर्यटकीय उक्त क्षेत्र विस्तारै ओझेमा प¥यो । बस्ती पातलो भएपछि विकासमा सरोकारवालाको चासो गएन । अहिले पनि गढी आसपासका गाउँहरू आधारभूत पूर्वाधार पर्खिरहेका छन् । त्यहाँका बासिन्दा सडक, खानेपानी र बिजुली बत्ति पु¥याइदिने व्यक्ति र निकायको खोजिमा छन् । प्रदेश राजधानी वीरेन्द्रनगरभित्रको एउटा ऐतिहासिक स्थानका बासिन्दाको दैनिकी कुनै विकट गाउँकोभन्दा कम छैन ।

त्यहाँका बासिन्दाले पक्की सडक, खानेपानी र विद्युत सेवाका लागि वर्षाैंदेखि नेता गुहारे, थुप्रै निकाय धाए । तर, ती मागको सुनुवाई कतैबाट भएन । यसपालि पनि नेताहरू विकासका चुनावी नारा लिएर ती बस्तीहरूमा पुगेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार विकासका योजना सुनाएर गढी क्षेत्रबाट मत बटुल्ने कसरतमा छन् । उम्मेदवारले घरदैलो गर्नेक्रममा विकासका आश्वासन बाँड्न थालेपछि फेरि एक पटक त्यहाँका मतदातालाई आशा भने पलाएको छ । स्थानीय सोभा चालिसे गढीवासीलाई सबैभन्दा बढी सडक र खानेपानीको समस्या रहेको बताउँछिन् । चुनावका बेला नेताहरूले गर्ने प्रतिबद्धता अनुसार काम नहुँदा गढीको अवस्था ज्युँका त्यँु रहेको उनको गुनासो छ । ‘हाम्रो ठाउँले न गतिलो नेता पायो न त कुनै निकायले यहाँका दुःख देखे,’ उनले भनिन्, ‘चुनावताका विकासका अनेक योजना सुनिन्छन्, काम भने कहिल्यै हुँदैन ।’ सोही ठाउँकी भागिरथी गौतमका पनि उस्तै गुनासा छन् । उनले सडक गतिलो नहुँदा बारीमा उत्पादन गरेका कृषि वस्तु बजारसम्म पु¥याउन नसकेको सुनाइन् । ‘अहिलेसम्म भोट धेरैलाई हालियो,’ उनी भन्छिन्, ‘नेताको बानी चुनाव जितेपछि गाउँ नफर्कने हुँदोरहेछ ।’ मत माग्न मात्रै गाउँ पस्ने परिपाटीले विकास हुन नसकेको उनको बुझाइ छ ।

यसअघिका थुप्रै निर्वाचनमा उम्मेदवारहरूले आफू निर्वाचित भए गढी आसपासका बस्तीहरूमा राम्रो सडक, खानेपानी र विद्युतको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए । अहिले फेरि निर्वाचन नजिकिएसँगै गढीको विकास गर्ने चर्चा सुनिन थालेको छ । चुनावी घरदैलो गर्न गढी पुगेका नेकपा ‐एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले अब यो क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास गर्ने योजना रहेको जनाए । एमालेबाट सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहेका कँडेल यसअघि पनि यसै क्षेत्रका जनप्रतिनिधि हुन् । अघिल्लो कार्यकालमा सडक र पर्यटन पूर्वाधारलगायत केही महŒवपूर्ण कामहरू भएको बताएका उनले गढीको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको जिकिर गरे । ‘गढीको आफ्नै ऐतिहासिक र पर्यटकीय महŒव छ,’ उनले भने, ‘यो ठाउँको आवश्यकता अनुसार विकास योजनाहरू अघि बढाइनेछ ।’ कँडेलले वीरेन्द्रनगरदेखि गढी जोड्ने पदमार्ग निर्माण योजना आफ्नै पहलमा थालिएको बताए । अहिले त्यो काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

वीरेन्द्रनगर उपत्यकाबाट नजिकको दूरी भएकाले पनि पछिल्लो समय गढी क्षेत्र आन्तरिक पर्यटकको रोजाइँमा पर्ने गरेको छ । उक्त स्थान उपत्यकाको दृश्यावलोकनका लागि परिचित छ । नेपाल एकीकरणको समयमा बनाइएको ऐतिहासिक गढी भने संरक्षणको पर्खाइमा छ । आन्तरिक पर्यटकहरूको चहलपहल बढेपछि पर्यटन पूर्वाधारको खाँचो रहेको स्थानीयले बताएका छन् । स्थानीय र प्रदेश सरकारले गोठिकाँडा तथा गढी क्षेत्रको पर्यटन प्रवद्र्धनमा खासै चासो नदिएको उनीहरूको गुनासो छ । गोठिकाँडाकी तुल्सी लामिछानेले गढीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न त्यसअनुसारका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउँछिन् । ‘पर्यटकीय क्षेत्र मात्रै भनिएको छ, आधारभूत पूर्वाधारसमेत छैनन्, यसतर्फ सरोकारवालको ध्यान जान आवश्यक छ,’ उनले भनिन् ।

वाम लोकतान्त्रिक गठबन्धनबाट सुर्खेत क्षेत्र नं. २ ‘क’ मा प्रदेशसभा सदस्यका उम्मेदवार बनेका कालिप्रसाद शाक्यले गढीलाई सुर्खेतको पर्यटकीय केन्द्रबिन्दु बनाउने आफ्नो प्रतिबद्धता रहेको दाबी गरे । खासगरी त्यस क्षेत्रको भौतिक पूर्वाधारमा जोड दिने योजना रहेको उनको भनाइ छ । २०७३ सालमा तत्कालीन गढी गाउँ विकास समितिलाई वीरेन्द्रनगरमा गाभियो । नगरवासी भएपछि विकासको लहर आउने अपेक्षा गरेका त्यहाँका नागरिकले अझै पनि नगरपालिका भएको अनुभूति गर्न पाएका छैनन् । त्यो ठाउँका कच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । गढीको छेडादेखि बागखोर हुँदै बराहताल गाउँपालिका जोड्ने मुख्य सडकसमेत कच्ची छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७९, बुधबार ०५:०५