रोचक चुनावी प्रतिस्पर्धाः तीन

पहिले सारथी, अहिले प्रतिस्पर्धी

 

सुर्खेत: २०७४ मा पहिलो पटक प्रदेशसभा सदस्यको निर्वाचन हुँदा नेकपा (माओवादी केन्द्र) ले सुर्खेतको क्षेत्र नं. २(ख) बाट बिन्दमान विष्टलाई उम्मेदवार बनायो । उक्त निर्वाचनमा माओवादी र एमालेबीच तालमेल भएको थियो । एमालेबाट उम्मेदवारका आकांक्षीहरू विष्टलाई जिताउन लागे । माओवादी कमजोर रहेको क्षेत्रबाट एमालेकै सहयोगमा बिन्दमानले बाजी मारे, नेपाली कांग्रेसका तप्तबहादुर विष्ट पराजित भए ।

त्यतिबेला विष्टलाई जिताउन दौडधुप गर्नेहरूको अग्रपंक्तिमा थिए, मोहनसिंह बडुवाल र ताराकेशर गौतम । पश्चिम सुर्खेतमा प्रभावशाली मानिने बडुवाल र गौतम विष्टका मुख्य चुनावी सारथी बने । उनको पक्षमा भोट माग्दै मतदाताको घरदैलो चहारेका उनै बडुवाल र गौतम अहिले भने विष्टसँगै चुनावी प्रतिस्पर्धाका लागि उत्रिएका छन् ।

मंसिर ४ गते हुने प्रदेशसभा सदस्यको निर्वाचनमा तीन फरक दलबाट उनीहरू उम्मेदवार बनेका छन् । निवर्तमान प्रदेशसभा सदस्य बिन्दमान विष्टलाई माओवादीले पुनः सोही क्षेत्रबाट उम्मेदवार बनाएको छ । उनलाई यसपटक नेपाली कांग्रेसको समेत साथ छ ।

यस्तै नेकपा (एमाले) बाट ताराकेशर गौतम उम्मेदवार बनेका छन् । एमालेबाट टुक्रिएको नेकपा (एकीकृत समाजवादी) बाट मोहन बडुवालले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनको भागबन्डामा सुर्खेतका कुनै पनि क्षेत्र समाजवादीको भागमा नपरेपछि बडुवाल उम्मेदवार बनेका हुन् । अघिल्लो चुनावमा सँगै रहेका तीन नेता यसपटक एकअर्कालाई हराएर विजयी हुने दाउमा छन् ।

यो निर्वाचन क्षेत्रमा पश्चिम सुर्खेतका तीन वटा पालिका छन् । जसमध्ये दुई वटामा नेपाली कांग्रेस र एउटामा माओवादी केन्द्रले जितेको छ । स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा कांग्रेस पहिलो शक्ति हो भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छन् । एकीकृत समाजवादी कमजोर अवस्थामा छ ।

माओवादी र कांग्रेसको गठबन्धनका कारण उक्त गठबन्धनका उम्मेदवार बिन्दमान विष्ट बलियो अवस्थामा छन् । पालिका प्रमुखहरूले पाएको मतअनुसार कांग्रेस–माओवादी गठबन्धनसँग २१ हजार मत छ । तीनवटै पालिकामा एमालेले ल्याएको मत १२ हजार छ । एकीकृत समाजवादीसँग एक हजार हाराहारी मत रहेको छ ।

माओवादीका विष्ट विजय यात्रालाई दोहो¥याउने दाउमा छन् । अघिल्लो पटक एमालेको साथ पाएर जितेका उनी यसपटक कांग्रेसको सहयोगमा एमालेलाई हराउन लाग्नेछन् । विष्टले आफूलाई कर्णालीको भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा समेत प्रस्तुत गर्ने गरेका छन् । पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विष्टको जितमा कांग्रेस मतदाताको मतले मुख्य भूमिका निर्वाह गर्नेछ ।

एमालेका गौतम भने पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन् । २०५४ मा तत्कालिन कुनाथरी गाविसको अध्यक्ष जितेका उनी २०७४ मा बराहताल गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । प्रदेशसभा सदस्य उम्मेदवारको रूपमा उनको यो पहिलो परीक्षण हुनेछ ।

लामो समय एमालेबाट राजनीति गरेको मोहनसिंह बडुवाल एमाले टुक्रिएपछि समाजवादीको जिल्ला अध्यक्ष भएका छन् । पश्चिम सुर्खेतमा सम्भावना बोकेका नेताको छवि बनाएका बडुवाल पनि पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन् । यसअघि उनले कुनै पनि संसदीय निर्वाचनमा उम्मेदवार बनेका छैनन् ।

दोस्रो पटक चुनाव जित्ने कसरतमा रहेका विष्टसँग पहिलो पटक निर्वाचन लड्दै गरेका गौतम र बडुवालको रोचक त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

प्रकाशित मितिः   ३० आश्विन २०७९, आईतवार ०५:०४