प्रजनन स्वास्थ्य शिक्षा बढाऊ

पछिल्लो समय गर्भपतन गराउने किशोरीको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या पनि अधिक देखिएको हो । कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण मानिन्छ । तर, बिहे गर्ने उमेर नहुँदै अर्थात् २० वर्ष मुनि उमेर समूहका किशोरीहरूको ठूलो संख्या यही उमेरमा गर्भवती भएपछि गर्भपतन गराइरहेका हुन् ।

पछिल्लो दुई वर्षको तथ्यांक केलाउँदा सुर्खेतमा गर्भपतन गर्ने २० वर्ष मुनिका किशोरीहरूको संख्या वृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा गर्भपतन गर्ने मध्ये दुई सय ४० जना २० वर्ष मुनिका किशोरीहरू रहेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा तीन सय २६ जना २० वर्ष मुनिका किशोरीले गर्भपतन गरेको तथ्यांक कार्यालयसँग छ । यो विवरण सूचिकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो । सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्थाहरू तोकिएका छन् । असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ । जनस्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार अहिले पनि सुरक्षितभन्दा असुरक्षित गर्भपतन गर्नेहरूको संख्या भने ठूलो छ । सुरक्षित गर्भपतन सबैको पहुँचमा नहुनु तथा समाजका डरले पनि धेरैजसो महिलाहरू असुरक्षित रूपमा गर्भपतन गरिरहेका छन् । यद्यपि, सुरक्षित गर्भपतन गराउनेहरूको संख्या पनि सुधार देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा दुई हजार चार सय ८३ जनाले गर्भपतन गरेका थिए । २०७७÷०७८ मा दुई हजार चार सय ७३ जनाले गर्भपतन गरे । आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार ६ सय १५ जनाले गर्भपतन गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको विवरण छ । यो तथ्यांक सुर्खेतमा रहेका सूचिकृत स्वास्थ्य सेवा प्रदायकले राखेका हुन् । ती ठाउँमा निःशुल्क गर्भपतन सेवा दिने गरिएको छ । सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवा प्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको बताइएको छ ।

एकातिर सुरक्षित गर्भपतनमा पहुँच बढेको देखिन्छ भने अर्कोतिर असुरक्षित यौनसम्पर्कका कारण पनि उमेर नपुगी गर्भवती बन्ने र गर्भपतन गराउनेहरू बढ्दै गएको देखिन्छ । उमेर नपुगी गर्भवती हुनु शारीरिक र मानसिक हिसाबले पनि राम्रो मानिदैन । किशोरी अवस्थामा प्रजनन् अंगहरूको पूर्ण विकास नहुने हुँदा गर्भधारणा गर्नु निकै जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन् । उमेर नपुगी गर्भवती हुने अवस्थाको निवारणका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा बढाउनुपर्ने देखिन्छ । विद्यालय तहदेखि नै यसबारेमा जनचेतना जनाउन सकेको खण्डमा असुरक्षित गर्भपतनका साथै उमेर नपुगी गर्भवती हुने र गर्तपतन गराउने जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

प्रकाशित मितिः   १४ आश्विन २०७९, शुक्रबार ०५:०३