मुगुका ६१ प्रतिशत बालबालिका कुपोषित

जिल्लाको नार्थपु गाविस वडा नं ९ की सोविना शाहीकी दुई वर्षीया छोरी कुपोषणले ग्रसित छिन् । घरभन्दा आधा घण्टा टाढा धुपीगाउँ इलाका स्वास्थ्य केन्द्र भए पनि सोविनाले छोरी कुपोषणबाट मुक्त पाउन सकेकी छैनन् । उनकी दुई वर्षकी छोरीको तौल ८ किलो भन्दा कम छ ।

सोविनाकी छोरी उदाहरण मात्र हुन्, मुगुमा कुपोषणको अबस्था भयावह छ । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक तथ्याङ्क अनुशार ३ महिनाभन्दा माथि ५ वर्षभन्दा तलका ६१ प्रतिशत बालबालिका कुपोषित छन् । जिमा, रोवा, भीई, फोतु, नार्थपु, कार्कीबाडा, माग्री, सेरी, गम्था, हयाङलु गाविसका बालबालिका कुपोषणले ग्रसित छन् । रुगा गाविसमा कुपोषण हुनेको संख्या उच्च रहेको छ ।

जिल्लामा कुपोषणको अवस्था भयावह छ, न्यूनिकरण गर्न नसक्दा हामीले पनि हार खाइसक्यौ जिल्ला स्वास्थ्य अधिकृत सरोज अधिकारीको भनाइ छ । कडा कार्यक्रम लागू नगरेसम्म कुपोषण अन्त नहुने उनले जनाए । मुगुको कुपोषण न्यूनिकरण गर्न कडा कार्यक्रम सञ्चालन गरिदिन मन्त्रालयमा पत्रचार गरिसकेको अधिकारीले भने, ‘सायद यो चालु वर्षभित्र माग गरेको कार्यक्रम प्रारम्भ हुन सक्छ’ ।

गत साउनदेखि कार्तिक मसान्तसम्म ११ प्रतिशत बालबालिकामा कडा २७ प्रतिशत बालबालिकामा मध्यम र ६१ प्रतिशत बालबालिकामा सामान्य कुपोषण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो चालु आर्थिक वर्षमा जिल्ला स्वास्थ्य कार्यालयमा उपचार हुन नसकेका १७ जना बालबालिका जिल्ला बाहिर रिफर गरिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमका टिम लिडर लोकबहादुर बिकले बताए ।

स्वास्थ्य कार्यालयमा गत वर्षको कुपोषण बालबालिकाको तथ्याङ्क हेर्ने हो भने भर्ना भएका कुपोषित बालबालिकाको संख्या ४ सय ३६ जना रहेको छ । तीमध्ये निको भएका २ सय ७० जना छन् । २१ जना बालबालिकालाई रिफर गरिएको छ । एक जनाको मृत्यु भएको र बाँकीको उपचार भइरहेको टिम लिडर बिकको भनाइ छ । कुपोषण देखा परेका बालबालिकालाई तीन महिनासम्म उपचार गर्ने गरिएको छ ।

जिल्लामा कुपोषणको भयावह हुनुको कारण पोसिलो खाने कुरामा ध्यान नदिनु, सरसफाईमा कमी, जनचेतनाको अभाव रहेको छ । सेतो चामलको प्रयोग बढेपछि कुपोषण वृद्धि भएको स्थानीयको भनाइ छ । जिल्लाका ३ महिनाभन्दा माथि र ५ वर्ष मुनिका बालबालिकालाई कुपोषण न्यूनिकरणको लागि जिल्ला स्वास्थ्य कार्यालयमा वार्षिक बजेट ४० लाख ६८ हजार ७० रुपैयाँ रहेको छ ।

सीमित जिल्ला स्वास्थ्य कार्यालय मात्र नभएर सप्रोष नेपाल लगायत गैसस संस्था पनि कुपोषणको संख्या घटाउन परिचालित भए पनि कुपोषणको अवस्था भयावह बन्दै गएको छ ।

इकान्तिपुर

प्रकाशित मितिः   १९ पुष २०७३, मंगलवार १३:५८