बाजुराबाट चामल ओसार्दै हुम्लाका नागरिक

हिजोआज कवाडीदेखि बाजुराको कोल्टीसम्म मूलबाटोभरि ओहोरदोहोर गरिरहेका भेडाच्याङ्ग्राले बेस्सरी धूलो उडाइरहेका हुन्छन् । भेडाच्याङग्रासँगै आफू पनि धुलाम्मे हुँदै चामल ओसार्ने चटारोमा हुम्लीको पनि लर्को लाग्न थालेको छ ।

हिउँद सुरु भएपछि हुम्लाको विभिन्न गाविसका बासिन्दालाई नुन र चामल ओसार्न घरदेखि कोल्टीसम्म ओहोरदोहोर गर्ने चटारो नै पर्छ । कालिका २ काँखेका पदमबहादुर शाहीसहित ८ परिवारको समूहको कोल्टी आउने क्रममा रुगिनको लेब्रीको बास तेस्रो दिनको हो ।

‘कोल्टी पुग्न अझै कम्तीमा दुई दिन हिँड्नुपर्नेछ,’ सय बढी भेडाच्याङ्ग्रा लिएर आएका शाहीले भने, ‘खाद्यान्न ओसार्न नसके परिवार भोकै हुने अवस्था छ । घरपरिवार हाम्रो बाटो कुर्दै बसेका होलान् ।’ कोल्टीबाट नुन र चामल लिएर घर पुग्न उनीहरूलाई कम्तीमा १२ दिन लाग्छ ।

दिउँसो भेडा हिँडाउन असजिलो हुने भएकाले उनीहरू फर्कंदा भेडालाई राति हिँडाउने र दिउँसो चराउने गर्दछन् । हुम्लाका गाउँमा यसपालि पनि खडेरी पर्‍यो । खडेरीले अन्न तथा दालबालीको उत्पादन लगभग शून्य भएकाले गाउँघरमा भोकमरीको अवस्था आएको उनीहरूले बताए । ‘बाजुराबाट चामल नल्याए छाक टार्ने अवस्थै छैन,’ कालिकाका अजवीर नेपालीले भने ।

गाउँघरमा पसलेहरूले चामल बिक्री गरे पनि महँगो भएकाले किनिनसक्नु छ । ‘कोल्टीमा ३ हजार ६ सय प्रतिक्विन्टल पर्ने चामलको मूल्य गाउँघरमा १० हजार रुपैयाँ पर्छ,’ स्थानीय भयदल पुनले भने, ‘नुनको भाउसमेत अचाक्ली छ ।’ कोल्टीमा ९ रुपैयाँमा पाउने नुन गाउँघरमा ६० पर्ने उनले बताए ।

हुम्लाका श्रीनर क्षेत्रका मैला, मदना, श्रीनगर, कालिका र जैर गरी पाँच गाविसका बासिन्दा अहिले कोल्टीको दानसाँघु बजारमै निर्भर छन् । आफ्ना २१ भेडालाई अढाइ क्विन्टल चामल बोकाएर घर फर्कंदै गरेका कालिका–९ पाम्सका भयदल पुनले भने, ‘यही खाद्यान्न फारु गरेर धेरै दिन टिकाउनुपर्ने अवस्था छ ।’

कोल्टीको दानसाँघुसम्म कच्ची सडक खुलेकाले ट्याक्टर पुग्न थालेको छ । गत वर्षदेखि त्यहाँ अस्थायी बजार लाग्न थालेको छ । दानसाँघुमै बजार लाग्न थालेपछि हुम्लीलाई केही राहत मिलेको छ । अघिल्लो वर्षजस्तो सदरमुकाम मार्तडी नै पुग्नुपर्ने बाध्यता छैन । ‘३ दिनको बाटो छोट्टिएको छ,’ पदमबहादुरले भने । बाजुरा सदरमुकामसम्म सडक नपुगेका बेला उनीहरू महिना दिन हिँडेर अछामको साँफेबगर पुग्थे ।

धेरैजसो परिवारको पेसा भेडाच्याङ्ग्रा पालन हो । यिनै भेडाच्याङग्रालाई भारी बोकाएर उनीहरू हिउँदमा खाद्यान्न ओसार्छन् । एउटा भेडाले १२ देखि २० किलोसम्म सामान ढुवानी गर्न सक्ने सुरेश सुनारले बताए ।

खाद्यान्नका लागि बाजुरासम्म पुग्दा बाटोमा उनीहरूले अनेकौं सास्ती खेप्नुपर्छ । भेडा चोरी हुने र स्थानीय युवाले दुस्ख दिने गरेको उनीहरू बताउँछन् । भेडालाई चरिचरनको समेत समस्या हुने गरेको सुरेशले बताए । ‘पहिलाको जस्तो वनजंगल नभएकाले भेडा चराउने समस्या हुन्छ,’ कालिकाकै दधी नेपालीले भने, ‘कतिपय ठाउँमा वनजंगल मासेको भन्दै स्थानीयले जरिवानासमेत तिराउँछन् ।’ इकान्तिपुरबाट

प्रकाशित मितिः   १९ पुष २०७३, मंगलवार ११:२९