‘कालोपत्रे सडक र बिजुली खोइ ?’
मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमासमेत चर्चा छ । प्रशासनिक केन्द्रको नेतृत्व गर्दै आए पनि सुर्खेतले विकासमा भने नेतृत्व गर्न सकेको छैन । जिल्लामा समानुपातिक विकास नहुँदा पूर्व भन्दा पश्चिम क्षेत्र भौतिक पूर्वाधारमा पिछडिएको छ । राजनीतिक नेतृत्वको कमजोरीले विकास देख्न नपाएको पश्चिमका नागरिकले गुनासो गरेका छन् ।
‘मैले धेरै पटक भोट दिएँ, चुनावपछि नेता गाउँ फर्केनन्’ बावियाचौरका उदयबहादुर सिंजाली दुखेसो पोख्छन्, ‘पूर्वमा त्यस्तो विकास छ, पश्चिमका नेता नै जिम्मेवार भएनन् । आजसम्म दर्जनौं गाविसले बिजुली देखेका छैनन्, सडक पनि कालोपत्रे भएन ।’ कालोपत्रे सडक र बिजुली नहुँदा विकास नै रोकिएको भन्दै उनले पश्चिमलाई नेताहरूले नै अन्धकारमा राखेको गुनासो गरे । उनले थपे, ‘हामीलाई धेरै चाहिदैंन, पहिला बड्डिचौरदेखि लगामसम्म सडक कालोपत्रे गरिदेऊ । सबै गाविसमा बिजुली पु¥याऊ, त्यसपछि यस क्षेत्रको कायापलट नै हुन्छ ।’
जिल्लाको क्षेत्र नम्बर ३ अन्तर्गत प्रायः सबै गाविसहरू अन्धकारमा छन् । त्यस क्षेत्रमा हालसम्म पनि विद्युतको राष्ट्रिय प्रशारणलाइन पुग्न सकेको छैन । बिजुली नहुँदा पश्चिमका नागरिक सोलारको भरमा उज्यालो खोजिरहेका छन् । बिजुलीकै अभावमा अन्य उद्योग सञ्चालन हुन सकेका छैनन् भने विकासको प्रक्रियासमेत सुस्त बनेको हो । अर्कोतर्फ सडक कालोपत्रे नहुँदा सदरमुकाम वीरेन्द्रनगरसँग पश्चिमको सम्बन्ध सहज हुनसकेको छैन । वर्षात्को बेलामा यस क्षेत्रका नागरिकले यात्रामा सास्ती भोग्नु परिरहेको छ । पश्चिमका नागरिकको मुख्य माग भनेकै कालोपत्रे सडक र बिजुली रहेको छ । यी दुवै पूर्वाधार उपलब्ध भएमा समग्र विकासले गति लिने अपेक्षा स्थानीयको छ ।
पश्चिमबासी पहिलो विकासको आधारको रूपमा सडकलाई कालोपत्रे गर्नुपर्ने बताउँछन् । तर हालसम्म चुनाव जितेका हरेक नेताले केवल आश्वासन मात्र दिएको उनीहरूको गुनासो छ । बावियाचौर–२ निवासी पम्फा खराल भन्छिन्, ‘चुनावमा आउँदा सबै नेताले सडक कालोपत्रे गर्छु भने, बिजुली ल्याउने कुरा गरे । हामीले त्यही आशमा भोट पनि हाल्यौं, कालोपत्रे सडक र बिजुली खोइ ?’ नेताले बिजुली नल्याएपछि बावियाचौरमा गाउँलेहरू मिलेर बिजुली बालेको भन्दै उनले छिमेकी गाविसहरू अँध्यारोमै रहेको बताइन् । पश्चिममा बिजुली लैजान भन्दै केही स्थानमा पोल गाढिएको भए पनि हालसम्म ठोस पहल हुन सकेको छैन । यस्तै वर्षाैंदेखि सडक कालोपत्र नहुँदा यहाँका नागरिक दल र नेतालाई सराप्न थालेका छन् । अर्कोतर्फ चुनावी नारा बनाए पनि नेताहरूले समेत यसतर्फ ध्यान दिएका छैनन् ।
यहाँका नागरिक सडक र बिजुली मात्र उपलब्ध भए विकासले फड्को मार्ने बताउँछन् । जिल्लाको पूर्व र सदरमुकामको तुलनामा पश्चिमलाई विकासमा हेप्ने गरिएको उनीहरूको गुनासो छ । यस्तै पश्चिमवासी खानेपानी र सिँचाइको समेत राम्रो व्यवस्था नभएको दुखेसो पोख्छन् । बावियाचौरकी कली बिसी आफूहरू सदरमुकाम भन्दा पश्चिममा बसेकै कारण राज्यको सेवा सुविधाबाट वञ्चित भएको बताउँछिन् । उनले सडक, बिजुली, खानेपानी तथा सिँचाइको समेत विकास नभएको बताइन् । उनले भनिन्, ‘दुई घण्टाको बाटोमा दिनभर यात्रा गर्नुपर्ने बाध्यता छ, कालोपत्रे गरेको भए समयमा नै पुगिन्थ्यो । बिरामी हुँदा पनि समयमा नै अस्पताल लैजान कठिन छ, कच्ची बाटोमा भनेको बेलामा गाडी पाउँदैन ।’ सडकको अवस्थामा सुधार नहुँदा सदरमुकाम वीरेन्द्रनगरबाट पश्चिम क्षेत्रमा विकास र सम्भावनाहरू पुग्न नसकेको उनको भनाइ छ ।
पश्चिम क्षेत्रको विकास नहुनुको मुख्य दोष स्थानीय नागरिकहरू नेतालाई दिन्छन् । कुनैबेला जिल्लाका मुख्य पार्टीको नेतृत्वमा पुगेका पश्चिम क्षेत्रकै नेताहरूलेसमेत पहल नगरेको उनीहरूको आरोप छ । यस्तै आफ्नै क्षेत्रका नेता मन्त्री र सांसद हुँदा पनि विकासका लागि कुनै पहल नगर्दा समग्र विकास अलपत्र परेको स्थानीयको गुनासो छ । नेतृत्वको कमजोरी र बेवास्ताका कारण नै सम्भावना भएर पनि सडक कालोपत्रे नभएको, बिजुली पुग्न नसकेको, सञ्चारको भरपर्दो सुविधा नभएको, चौकुने सिमेन्ट उद्योग सञ्चालनमा आउन नसकेको, पर्यटकीय स्थलहरू ओझेलमा परेको, शिक्षा र स्वास्थ्यका भौतिक संरचनाहरू निर्माण नभएको यहाँका नागरिकहरू बताउँछन् ।
प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार ११:०७
साझा बिसौनी ।