जातीय द्वन्द्व आखिर के का लागि , कसका लागि ?

tulmaya-tamangएकातिर समाज परिवर्तनको कुरा अर्कोतिर शान्तिपूर्ण समाजमा आतंक मच्चाउने खराब विचारहरूको प्रत्यरोपन । हिजोसम्म हामी आफैलाई आफ्नो संस्कृति, रीतिरिवाज, धर्म, परम्परा, भाषा, भेषभूषाको महत्व थिएन । अहिले हामीले शिक्षा हासिल गरेर, देश विदेश घुमेर, अरुको देखासिकी गरेर बल्ल यसको संरक्षणतर्फ अघि बढ्दैछौं । यति गर्न त जानियो तर यसलाई कसरी अगाडि बढाउने, कसरी विश्वसामु चिनाउने भन्ने तिर ध्यानाकर्षण छैन, केबल अफ्नो यो पहिचानलाई पुन कसरी विलुप्त बनाउने भन्ने बाटो खोज्दैछौं ।

राजनीतिक क्षेत्रमा आफ्नो बर्चश्व देखाउन, उच्च पदको मोह हुनेले अब यो सानो गलत विचारलाई ठूलो द्वन्द्वको रूप दिएर हाम्रो मन मस्तिष्कसँग खेलवाड गर्दै छन् । केबल उसको लक्ष्य प्राप्तीको लागि खुड्किला बनाउँदैछन् एउटा हतियार, एउटा भर्याङ जसरी । हामी पनि उनीहरूको स्वर्थ पूरा गराउन आँखा छोपेर, कान थुनेर लागि परेकाछौं ।

भोलिका दिनमा त्यो युद्धले केवल रगतको खोलो बगाउने छ । कयौं परिवारले आफ्नो प्रियजन गुमाउने छन् । कति बालबालिका टुहुरा हुनेछन् । कति परिवारको घर धान्ने स्तम्भ ढल्ने छन् आखिर हामीले प्राप्त गर्ने यति मात्रै होइन र ? यसको जिम्मेवार को थियोे र अब सबैको क्षतिपूर्ति कसले दिन्छन् त ? आफ्नो परिवारको ज्यानको बदलामा पाएको त्यो रकमले के तपाईंको मन टाल्न सक्छ ? फेरि त्यो क्षतिपूर्ति पनि पाउला भन्ने कसरी विश्वास गर्ने ? फेरि कति वर्ष पो धाउनुपर्ने हो ? फेरि चिनेन भन्दिने पो हो कि ?

हामीलाई साधनझै प्रयोग गर्नेले हामीलाई के दियो त ? के यो नयाँ नौलो विषय हो र ? लगभग १० वर्ष चलेको संकटकालीन समयदेखि लिएर गत साल भएको टीकापुर हत्याकान्ड अझै आलो नै छन् । बिर्सिसकेकै हो र ? ठाउँमा पुग्नुपर्ने त पुगे हामीले के परिवर्तन पायौं त ? अझै पनि हामी किन त्यही मार्गमा हिँड्दैछौं ? जान्ने बुझ्ने जति केबल आफ्नो स्वर्थ मात्रै हेर्दैछन् नबुझ्ने जति अरुको वह–वहमा रम्दै छन् ।

अरु सोझाहरूलाई हेर उनीहरू के चाहन्छन् ?

सोझा भड्काउने काम भनेको धेरै नजानेको अलि–अलि पढ्न लेख्न आउनेहरू हुन जुन सबैभन्दा जन्नेको चाप्लुसी गर्दै हिँड्छन् । जसरी नि सोझा साझालाई दुःख । के आफ्नो जातको पहिचान र अधिकार जोगाउन मागेर पाइन्छ र ? के तपाईं आफ्नो जातप्रति त्यति नै सकारात्मक भए व्यक्तिगत रूपमा राम्रो कार्य गरेर पहिचान बढाउन सक्ने सामथ्र्य राख्न सकिदैन र ? यस्तो विभेद उत्पन्न गराउनेलाई राम्रोसँग सोध्नुस् जुन जातीय पहिचानको लागि विनाश निम्त्याउन लागिएको छ त्यो जातको इतिहास समेत थाहा छ कि छैन भनेर । साँच्चै नै आफ्नो वर्गको हितमा कार्य गर्न खोज्नेले जिम्मेवारीको बोध गरेको छ कि छैन ? हामी पनि उस्तै फेरि सधैं गाली दिदैं भन्छौं यो नेता त्यस्तो त्यो उस्तो अनि जातीय अन्तर ल्याएर नेपालीको एकता भङ्ग गर्ने नेता चाहिँ कस्तो हो मलाई भन्देऊ न हो कसैले । होइन भने अन्य मुलुकको रणनीति यहाँ नतेर्साऊ ।

शिक्षा परिवर्तनको लागि हो यहीबाट हामीले हाम्रो हरेक संस्कृतिको महव बुझ्ने मौका पायौं तर त्यो ज्ञानको गलत प्रयोग गर्नु कहाँसम्मको बिडम्वन ? विभेदले केबल विनाश निम्त्याएको छ, अशान्ति फैलाएको छ । २१ सौं शताब्दीका शिक्षित व्यक्ति हुनुमा यो जस्तो लाजमर्दो कुरा केही देखिन्न । पश्चिमा मुलुकमा शिक्षा आर्जन गरेर विकासको सीमा नागेर चन्द्रमा पुगिसके हामी भने जात र धर्मको नाममा पहिचानको लडाईं लड्दैछौं । यो जस्तो दुरदशा के होला त ?

म कसैको विरोधि होइन । म केबल शान्ति र एकता चाहन्छु । म तामाङ हो तर मलाई तामाङ राज्य चाहिँदैन । म आफूलाई सभ्य सामाजिक प्राणीको रूपमा चिनाउन मन पराउँछु । म आफ्नो जातको पहिचान र आधिकार आफ्नो सामथ्र्यमा पाउन चाहन्छु ।