गैरजिम्मेवार सांसद
कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल सकिनै लागेको छ । करिब साढे चार वर्षको अवधिमा सभाका दुई सय १५ वटा बैठक बसेका छन् । तर अधिकांश प्रदेशसभा सदस्यहरू भने बैठकमा नियमित उपस्थित नभएको पाइएको छ । प्रदेशसभाका सदस्यहरूले संसद् बैठकभन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । संसद्मा जनताको आवाज बोलेर सरकारलाई खबरदारी गर्दै कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट उनीहरू विमुख देखिन्छन् । कर्णालीका सांसदहरू जनजीविकाका सवालभन्दा सत्ता राजनीतिको खेलमा बढी रुमलिएको आलोचनासमेत हुँदै आएको छ । आफ्नो दायित्व र जिम्मेवारीप्रति गम्भीर नभएर सांसदहरू पार्टी गतिविधिमा नै बढी भुलिरहेको आरोप लाग्ने गरेको हो ।
प्रदेशसभा सचिवालयको विवरणअनुसार संसद्मा सबैभन्दा बढी गयल हुनेमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका शाही ९७ वटा बैठकमा मात्रै उपस्थित भएका हुन् । बाँकी एक सय १८ बैठकमा भने उनी उपस्थित भएनन् । प्रदेशसभामा सबैभन्दा धेरै उपस्थित हुने सदस्यमा राजु नेपाली देखिएकी छन् । उनी दुई सय १५ मध्ये दुई सय १० वटा बैठकमा उपस्थित भएकी छिन् । नेपाली जम्मा पाँच वटा बैठकमा मात्रै अनुपस्थित भएकी हुन् । त्यस्तै, हालका मुख्यमन्त्री जीवनबहादुर शाही यस अवधिमा एक सय ७७ दिन संसद् बैठकमा हाजिर भएका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका नेता यामलाल कँडेल एक सय ७२ दिन संसद् बैठकमा उपस्थित भएका छन् भने प्रमुख सचेतक गुलाबजंग शाह एक सय ९६ दिन बैठकमा उपस्थित भएको विवरण छ । कर्णाली सरकारका कतिपय मन्त्रीहरू आफ्नो मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमको छलफल चलिरहँदासमेत बैठकमा भेटिँदैनन् ।
प्रदेशसभाका सदस्यहरूले संसद् बैठकभन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । संसद्मा जनताको आवाज बोलेर सरकारलाई खबरदारी गर्दै कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट उनीहरू विमुख देखिन्छन् । कर्णालीका सांसदहरू जनजीविकाका सवालभन्दा सत्ता राजनीतिको खेलमा बढी रुमलिएको आलोचनासमेत हुँदै आएको छ । आफ्नो दायित्व र जिम्मेवारीप्रति गम्भीर नभएर सांसदहरू पार्टी गतिविधिमा नै बढी भुलिरहेको आरोप लाग्ने गरेको हो । संसद् बैठकमा उपस्थित हुनेको संख्याले पनि उक्त आरोपलाई बल पुग्छ । कर्णाली प्रदेशसभा सदस्यहरूले नीतिगत तथा अन्य संसद्का गतिविधिका बारेमा अध्ययन छलफल चलाएको समेत न्यून देखिन्छ । जनताको प्रतिनिधिको रूपमा प्रस्तुत नभइ सांसदहरू मन्त्री बन्न र जागिर खान चुनिएकोजस्तो देखिने गरेको छ ।
प्रकाशित मितिः २३ भाद्र २०७९, बिहीबार ०५:०३
सम्पादकीय ।