प्रत्यक्षतर्फ महिलाको दाबी नै न्यून

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै दलहरू यतिबेला उम्मेदवार छनोटको प्रक्रियामा जुटेका छन् । प्रमुख राजनीतिक दलहरूले केन्द्रको निर्देशनअनुसार धमाधम उम्मेदवार सिफारिस गरिरहेका हुन् । दलहरूको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको विवरण हेर्दा महिलाको नाम फाट्फूट मात्रै देखिएको छ । आसन्न संसदीय चुनावमा खुल्ला प्रतिस्पर्धा गर्ने आकांक्षी उम्मेदवारको सूचीमा महिलाको संख्या न्यून देखिएको हो । पार्टीको विधान र मापदण्डले बाध्य बनाएको अवस्थाबाहेक दलहरूले प्रत्यक्षतर्फ महिलालाई सिफारिस गरेका छैनन् ।

उसो त महिलाहरू उम्मेदवार कम सिफारिसमा पर्नुमा राजनीतिक दलहरूको प्रवृत्ति मात्रै जिम्मेवार छैन । दलहरूले महिलालाई पन्छाएको नभइ स्वयम् उनीहरूले नै रुचि नदेखाउने गरेको पाइएको छ । उम्मेदवार सिफारिसका लागि नाम छनोट गर्न भइरहेका बैठकहरूमा महिलाहरूले सकभर दाबी नै नगर्ने गरेका हुन् । ‘प्रत्यक्ष चुनाव लड्न दाबी नै कम आउने गरेको छ,’ कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी भन्छन्, ‘आकांक्षा नै व्यक्त नगरेपछि सिफारिसमा पर्ने सम्भावना पनि न्यून हुने नै भयो ।’

कर्णाली प्रदेशमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूमध्ये धेरैले उम्मेदवार सिफारिस गरिसकेका छन् । दलहरूले कतिपय ठाउँमा सर्वसम्मत उम्मेदवारको टुँगो लगाएका छन् भने केहीमा पाँच÷सात जनासम्मको नाम सिफारिस गरेका छन् । सिफारिसका ती विवरणहरूमा प्रतिनिधिसभा र प्रदेशसभा दुुवैमा प्रत्यक्षतर्फ महिलाको नाम कतैकतै मात्रै देखिन्छ । सिफारिसमा परेका सम्भावित उम्मेदवारमा पुरुषकै वर्चस्व रहेको हो । सिफारिसमा महिलासँगै दलित र अन्य आरक्षित समुदायको प्रतिनिधित्वसमेत निकै कम छ । उनीहरू समानुपातिकतर्फ मात्रै धेरै सिफारिस भएका छन् ।

एमाले सुर्खेतले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ उम्मेदवारको सिफारिस गरेको छ । एमालेले सुर्खेतका चार वटा प्रदेशसभाका निर्वाचन क्षेत्रमा तीन ठाउँमा सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरेको छ भने एउटामा पाँच जनाको नाम पठाएको छ । ती सबै पुरुष हुन् । निर्वाचन क्षेत्र नं. १ (क) मा ठम्मर विष्ट र (ख) मा खड्कबहादुर खत्रीको एकल नाम सिफारिस भएको छ । त्यस्तै, क्षेत्र नं.२ (क) बाट यामलाल कँडेल सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र नं. २ (ख) मा एमालेले पाँच जना नेताको नाम सिफारिस गरेको छ । त्यहाँ ठूलो संख्यामा नाम सिफारिस गर्दासमेत एक जना महिला परेका छैनन् ।

एमालेले प्रतिनिधिसभा क्षेत्र नंंं. २ मा भने एक जना महिलासहित तीन जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । उक्त क्षेत्रमा एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि जिल्ला पार्टी अध्यक्ष अमृतबहादुर विसी, उपाध्यक्ष कूलमणि देवकोटा र जिल्ला कमिटी सदस्य तुल्सी कँडेललाई सिफारिस गरेको हो । एमालेले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सीटमा उम्मेदवार सिफारिस गर्दा एक जना महिलाको नाम मात्र परेको छ । आइतवार साँझ यो समाचार तयार पार्दासम्म एमालेले सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारको सिफारिस टुँगो लगाइसकेको छैन । प्रतिनिधिसभामा तीन जनाको नाम सिफारिस गर्दा एक महिला अनिवार्य गर्ने मापदण्ड बनाइएको एमालेले जनाएको छ । प्रदेशमा भने उक्त मापदण्ड लागू गरिएको छैन ।

नेपाली कांग्रेसले पनि सुर्खेतबाट उम्मेदवार सिफारिसको काम सकेको छ । पार्टीका केन्द्रीय उपसभापति रहेका पूर्णबहादुर खड्का क्षेत्र नं. १ बाट एकल उम्मेदवार सिफारिस भएका छन् भने क्षेत्र नं. २ बाट हृदयराम थानी, श्याम भारती, निरञ्जन केसी र कमलबहादुर खत्रीको नाम सिफारिस गरिएको छ । कांग्रेसले प्रतिनिधिसभा उम्मेदवारका लागि एक जना महिलाको पनि नाम सिफारिस गरेको छैन । सुर्खेत क्षेत्र नं. १ (क) मा प्रदेशसभाका लागि कांग्रेसले प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गर्दा एक जना पनि महिला अटाएका छैनन् । सुर्खेत क्षेत्र नं. १ (ख) बाट भने कांग्रेसले प्रत्यक्षतर्फ ७ जनाको नाम सम्भावित उम्मेदवारको सूचिमा छ । जसमा एक जना महिला पनि परेकी छन् । हाल प्रदेशसभा सदस्य समेत रहेकी अमृता शाहीलाई कांग्रेसले प्रदेशतर्फ प्रत्यक्षमा सिफारिस गरेको हो । उनी यसअघि भने समानुपातिकबाट प्रदेशसभामा आएकी थिइन् ।

कांग्रेस नेतृ पार्वती गिरि भन्छिन्, ‘महिलाहरूसँग चुनाव लड्ने आँट र आकांक्षा भएपनि प्रत्यक्षतर्फ टिकट दिन दलहरू अझै तयार नभएको देखिन्छ ।’ उनले महिलाहरू निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गर्न तयार भएपनि नेतृत्वले विश्वास नगर्दा अवसरहरूबाट वञ्चित हुनु परेको बताइन् । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यतर्फ सुर्खेत क्षेत्र नंं. २ बाट झक्कबहादुर मल्लको नाम सर्वसम्मत सिफारिस गरेको छ । सोही क्षेत्रमा प्रदेशतर्फ (क) मा रत्नबहादुर गाहा पनि एकल सिफारिस भएका छन् । प्रदेशसभा (ख) मा तीन जनाको नाम सिफारिस गर्दा एक जना महिला र एक जना दलित समुदायका पनि परेका छन् । माओवादी केन्द्रले सुर्खेत क्षेत्र नंं. १ (क) बाट तीनै जना पुरुषको नाम सिफारिस गरिएको छ भने १ (ख) मा माओवादीले कृष्ण जिसीलाई सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा माओवादीका सीता नेपाली र उदयराम डाँगी आकांक्षी देखिएका छन् । त्यहाँ नेपालीलाई सिफारिस गर्ने सम्भावना बलियो देखिएको नेताहरूले बताएका छन् ।

कर्णाली प्रदेशमा प्रतिनिधिसभाका १२ र प्रदेशसभाका ४० सीट छन् । २०७४ को संसदीय निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आएका सबै महिला सांसद समानुपातिक हुन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा १३ जना महिला सांसद छन् । प्रत्यक्ष चुनाव लड्न पार्टीले नै विश्वास नगर्ने, महिलाहरूको दाबीसमेत कमै रहनेलगायतका कारण उनीहरू प्रत्यक्ष निर्वाचनका उम्मेदवार नै बन्ने सम्भावना कम हुने गरेको राजनीतिक क्षेत्रका जानकारहरू बताउँछन् । कांग्रेस सुर्खेतका सचिव सुवेदीले प्रत्यक्षतर्फ दाबी आएको क्षेत्रबाट महिलाहरू सिफारिस भएको जनाए । उनका अनुसार जहाँ पुरुष मात्रै सिफारिस भए ती ठाउँमा महिलाले उम्मेदवारका लागि दाबी नै नगरेका हुन् । माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष विमला केसीले आफ्नो पार्टीमा उम्मेदवार सिफारिस गर्दा महिला र दलितलाई प्राथमिकता दिएर गर्न भनिएको बताइन् । उनले भनिन्, ‘केही क्षेत्रबाट महिला प्रत्यक्षतर्फ सिफारिस भएर पनि आउनुभएको छ । नभएका ठाउँमा दाबी नै नगरेका कारण सिफारिस नभएको हो ।’

प्रकाशित मितिः   २० भाद्र २०७९, सोमबार ०५:०५