बरु आमा मर्नुपर्ने तर छोरा जन्माउनैपर्ने ?
२०७८ माघ ५ गते बिहानै हुम्लाको अदानचुली गाउँपालिकाकी ३३ वर्षीया नैन छत्यालले दशौं छोरीलाई जन्म दिएपछि आफ्नो प्राण सधैंका लागि त्यागिन् । उक्त घटना स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमका लागि समाचार बन्यो । प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण भयो । सामाजिक सञ्जालमा घटनाप्रति दुःख व्यक्त गर्ने थुप्रै थिए । एक किसिमले उक्त समाचार ‘भाइरल’ भयो । अर्को दिनबाट सायद सबैले बिर्सिए !
एक महिलाले प्राण त्यागेको घटना एक दिनका लागि सर्वत्र छाउने समाचारमा सीमित भयो । तर यो यस्तो विडम्बनापूर्ण घटना थियो, जसमा नैनले आफ्नो प्राण मात्रै त्यागेकी थिइनन्, छोरा जन्माउने र घर तथा समाजले दिएको तनावबाट मुक्त भएर बाँच्ने सपना पनि उनको स्वास र शरीरसँगै सधैँका लागि विलय भएको थियो ।
३३ वर्षको उमेरमा दशौं सन्तान जन्माउँदासम्म उनको खेपेको शारीरिक तथा मासिक पीडा हामी अनुमान मात्रै गर्नसक्छौं । छोराकै लागि दश जना सन्तान जन्माउँदा आमाले नै प्राण त्याग्नुपर्ने घटनाले आजको समय, समाज र चेतनालाई गिज्याइरहेको छ । छोरी जन्माएकै कारण उनले कति मानसिक तथा शारीरिक हिंसा खेप्नु प¥यो होला ? एउटा गर्भवती महिलालाई त्यस समयमा कस्तो वातावरण हुनुपर्छ ? कस्तो सहानुभूति हुनुपर्छ होला ? न उनको परिवारले बुझ्यो, न समाजले । उनीबाट त घर र समाजले केवल छोरा मात्र चाहिरह्यो, चाहे त्यसका लागि आमाको ज्यानै किन नजाओस् ।
पितृसत्तात्मक सोचले जबसम्म यो समाजमा जरा गाडेर बस्छ तबसम्म छोरी माथि विभेद भइरहन्छ । यो सोच सबैले त्याग्न जरुरी छ । आफूले जन्म दिएका सन्तानहरूलाई समान व्यवहार गर्न सकियो भने सभ्य समाजको निर्माण हुन्छ ।
समय गणनाको हिसाबले हामी २१औँ शदाब्दीको लामो यात्रा पार गरेर अहिलेको वर्तमान बाँचिरहेका छौं । यति लामो यात्राका क्रममा समाजको रूप–रङ्गमा धेरै परिवर्तन आइसकेको छ । चेतनाका थुप्रै नयाँ पालुवा पलाएका छन् । विभेदजन्य सामाजिक तथा साँस्कृतिक पर्खालहरू ढलिरहेका छन् । यही बीचमा नैन छन्त्याल घटनाले भने हाम्रो सामाजिक संरचना र चेतनाको जग अपेक्षाकृत बलियो नभइसकेको महसुस गराउँछ । आजको समयमा पनि छोरी जन्माएवापत आमाले हेपिनुपर्ने, छोरा जन्माउनका लागि दशौं सन्तान जन्माइरहनुपर्ने दुःखद समाचारहरू सुन्न नपरोस् भन्ने लाग्छ । तर पत्रकारिता गरिरहँदा यस्तो दुःखद समाचार आफैले लेख्नुपर्ने विडम्बनाले भने पिरोलिरहन्छ । झस्काइरहन्छ ।
छोरी जन्माएकै कारण नैनले कतिसम्म अपहेलित हुनुपर्यो होला ? उनको मनमा के बित्थ्यो होला ? उनले वर्सेनी जन्माएका छोरीहरूको अवस्था देख्दा उनको मन कति दुख्यो होला ? उनी कति विक्षिप्त अवस्थामा बाँचेकी थिइन् होला ? उनले त्यसै प्राण त्याग गरेकी होइनन्, उनले प्राण त्याग्नुमा दोष आफन्त, परिवार अनि हामी बसेको यो समाजलाई जान्छ । पितृसत्तात्मक समाज–संरचना र त्यसकै जगमा स्थापित पुरातन सोचले नैनजस्ता थुप्रै आमाहरूको ज्यान लिइरहेको छ । के यो सतिप्रथा भन्दा कम हो र ? उस्तै र उत्तिकै क्रूरतापूर्ण घटना हो ।
पृत्तिसत्तात्मक सोचले महिलालाई हेर्ने दृष्टिकोण अझै पनि पुरुष सरह समान हुन सकेको छैन । हुन त संविधानले महिला र पुरुषलाई समान हक प्रदान गरेको छ । कानुनको दृष्टिमा सबै समान छन् । संविधानको धारा ३८ मा प्रत्येक महिलालाई लैंङ्गिक भेदभावविना समान वंशीय हक हुने व्यवस्था गरिएको छ । प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक हुने उल्लेख छ । यसलाई मौलिक हकको रूपमा संविधानमा व्यवस्था गरिएको छ । तर व्यवहारिक रूपमा सुधार हुन सकेको छैन । आज पनि महिलालाई सन्तान जन्माउने मेसिनका रूपमा प्रयोग गरिएको छ । छोरा जन्माउनैपर्ने बाध्यताको निर्माण गरिएको छ ।
छोरा जन्माउने आशमा धेरै छोरी जन्मिएपछि उनीहरूको लालनपालनमा समस्या छ । उनीहरू सानै उमेर विवाह गर्न बाध्य छन् । जसले गर्दा बाल विवाह बढ्दो छ । गर्भमै छोरीहरू मारिनुपर्ने बाध्यता छ । जसकारण भ्रूण हत्या पछिल्लो समय बढ्दो छ । छोरा नजन्माएकै कारण महिलाहरू नै हिंसामा परेका छन् । अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । कर्णाली प्रदेशमा यस्तो समस्याहरू अझ पछिल्लो समय बढ्दो छ ।
पाँच वर्ष अघि कामको शिलशिलामा सुर्खेतको पूर्वी भेगमा पुग्दा भेटिएकी एक जना महिलाले छोराको आशामा पाँच छोरी जन्माइसकेकी थिइन् । उनी छोरा पाउने आशामा फेरि गर्भवती थिइन् । सुत्केरी हुने समय नजिकिँदै आएको थियो । तर उनको घरमा साँझबिहानको गर्जो टार्ने उपायसम्म थिएन । उनका श्रीमान् कमाईका लागि भारत थिए । यस पटक पनि छोरा नजन्माए अर्को विवाह गर्ने धम्की दिएका थिए । उनको अनुहारमा छोरा जन्मिने आशासँगै फेरि छोरी जन्मिए भोग्नुपर्ने पीडा, तनाव र डर प्रष्ट देखिन्थ्यो ।
रिर्पोटिङ्गकै शिलशिलामा एकजना महिलाले छोरा जन्माउने आशामा चार पटक गर्भपतन गरेको सुनाएकी थिइन् ।
‘आफूलाई त छोराछोरी एकै लाग्छ’ उनले भनेकी थिइन्, ‘तर घरपरिवार आफन्त र समाजका लागि भए पनि छोरा जन्माउनुपर्ने रहेछ ।’ तीन छोरी जन्माउँदा र चार पटक गर्भपतन गराउँदा उनी शारीरिक रूपमा कमजोर भइसकेकी थिइन् । मानसिक रूपमा पनि थकित थिइन् । यस्ता थुप्रै महिला छन्, जसले छोरा जन्माउनकै लागि उनले जस्तै पीडा भोगिरहेका छन् ।
पहिलो सन्तान छोरा होस् वा छोरी यसमा कसैलाई पनि प्रवाह हुँदैन । सकेसम्म पहिलो सन्तान छोरा भए आनन्द महसुस गर्ने जमात बढी छ । यदि पहिलो सन्तान छोरी जन्मिएर दोस्रो सन्तान छोरा होस् भन्ने चाहना हुन्छ । यदि दोस्रो सन्तान छोरी नै जन्मिए पछि महिलामाथि अपहेलना गर्न थालिन्छ । मानसिक तनाव हुन थाल्छ ।
छोरा जन्माउनैका लागि दोस्रो विवाह गरेको घटना पनि प्रशस्तै छन् । श्रीमतीले छोरी मात्रै जन्माइ भन्ने दोष दिएर कानुनलाई समेत चुनौती दिँदै दोस्रो विवाह गरेका छन् । रिपोर्टिङ्गकै शिलशिलामा वीरेन्द्रनगर–९ स्थित एउटा घरमा धेरै मानिसहरू झुम्मिएको देखेँ । नजिकै गएर बुझ्दा थाहा भयो, त्यस दिन उक्त घरमा पुरुषले दोस्रो विवाह गरेका रहेछन् । श्रीमतीले तीन वटा छोरी जन्माएकाले छोरा जन्माउका लागि अर्को बिहे गरेको थाहा भयो । अर्को विवाह गरेको थाहा नै नदिएर बजारमै कोठा लिएर राखेका रहेछन् । पछि कान्छी श्रीमती छोरा जन्माउने गरी एक्कासी घरमा भित्रिँदा सबैलाई थाहा भएछ । छोरा जन्माउने गरी एक्कासी सौता घरमा भित्रिँदा उनको मनमा के बित्यो होला ?
हामी यस्तो समाजमा छौं, जहाँ एकातिर महिलालाई पुजिन्छ भने अर्कोतिर महिलामाथि विभिन्न वहानामा अनेक विभेद र ंिहसाले थिचिइन्छ । विशेष गरेर विभिन्न चाडपर्वको समयमा छोरीलाई विशेष रूपमा पुज्ने गरिएको छ । उनीहरूको खुट्टाको जलसम्म खाइन्छ । तर त्यसबाहेकको समयमा भने फरक व्यवहार हुन्छ । यो विरोधाभाषपूर्ण व्यवहार अन्त्य हुन सकेको छैन ।
पितृसत्तात्मक सोचले जबसम्म यो समाजमा जरा गाडेर बस्छ तबसम्म छोरीमाथि विभेद भइरहन्छ । यो सोच सबैले त्याग्न जरुरी छ । आफूले जन्म दिएका सन्तानहरूलाई समान व्यवहार गर्न सकियो भने सभ्य समाजको निर्माण हुन्छ । यसका लागि घरबाटै र हरेक व्यक्तिबाटै सुरुवात गर्न आवश्यक छ । छोरा जन्मिए पछि खसी काटेर भोजभतेर गर्ने र छोरी जन्मिदा सुत्केरी आमालाई खान समेत नदिने प्रवृत्ति अझै पनि हाम्रो समाजमा छ । छोरा जन्मिए पछि खुशीयाली मनाउने र छोरी जन्मिए दुःखमनायी गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । राज्यले आवश्यकता अनुसार कानून निर्माण, भएका कानुन परिमार्जन र प्रभावकारी कार्यान्वयनमा ध्यान दिन आवश्यक छ । जसले समतामूलक समाज निर्माण गर्न सकोस् । अनि आमाहरूले छोरा जन्माउनकै लागि मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुन सकोस् ।
प्रकाशित मितिः १८ भाद्र २०७९, शनिबार ०५:०६
मुना हमाल ।