विद्युतीकरणमा कर्णाली सबैभन्दा पछाडि

सुर्खेत: सात वटा प्रदेशमा कर्णाली विद्युतीकरणमा सबैभन्दा पछाडि छ । प्रदेशका १० मध्ये तीन जिल्लामा अझैसम्म पनि विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । यहाँका डोल्पा, मुगु र हुम्लामा राष्ट्रिय ग्रिड नपुगेको हो । कतिपय जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेपनि सदरमुकाम केन्द्रित छ । ती जिल्लाका अधिकांश पालिकाहरूमा विद्युतीकरण भएको छैन । नेपाल विद्युत प्राधिकरणको विवरणअनुसार कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । देशभरका सात सय ५३ स्थानीय तहमध्ये चार सय ७६ स्थानीय तहमा मात्रै पूर्ण विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, दुई सय ४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा भने प्राधिकरणले विद्युत पु¥याउन सकेको छैन ।

प्राधिकरणले मुलुकभरिका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्यांकअनुसार कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत सेवा पाइरहेका छन् । सबैभन्दा कम कर्णाली र सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ । प्रदेश नं. १ मा ९१.२३ प्रतिशत, वागमतीमा ९७.४७, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको छ । देशभरका ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ ।

कर्णालीमा रूकुमपश्चिममा ७५ देखि ९५ प्रतिशत विद्युतीकरण भएको छ । त्यस्तै, सल्यान सुर्खेत र दैलेखमा ५० देखि ७५ प्रतिशत विद्युतीकरण भएको विवरण प्राधिकरणको छ । जुम्ला, कालीकोट, मुगु र हुम्लामा २५ देखि ५० प्रतिशत विद्युतीकरण भएका जिल्ला हुन् भने जाजरकोटमा २५ प्रतिशत मात्र विद्युतीकरण भएको छ । डोल्पा, मुगु र हुम्लामा राष्ट्रिय ग्रिड नपुगेपनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत केही स्थानमा विद्युतीकरण भएको छ । प्राधिकरणले आगामी दुई वर्ष (सन् २०२४) भित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पु¥याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न योजनाबद्ध रूपमा काम भइरहेको जनाएको छ ।

आर्थिक वर्ष २०७२÷०७३मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएकोमा हाल ९२.५१ प्रतिशतमा पुगेको छ । सात प्रदेशमध्ये चार प्रदेश करिब करिब पूर्ण विद्युतीकरण भएका छन् । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लाहरूमा विद्युतीकरणमा केही ढिलाइ भएता पनि अब दुई वर्षभित्रमा सबैको घरधुरीमा विद्युत पु¥याउने गरी उच्च प्राथमिकताका साथ काम भइरहेको प्राधिकरणको भनाइ छ ।

प्रकाशित मितिः   १७ भाद्र २०७९, शुक्रबार ०५:०८