सतर्कता अपनाऔँ
केही महिना सुस्ताएको कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुनः बढ्न थालेको छ । साउन लागेयता संक्रमणदर उकालो लागेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको विवरणअनुसार पछिल्ला दिनमा संक्रमणदर बढ्दो क्रममा छ । यो लहरमा असारमा फाटफूट संक्रमित पुष्टि हुने गरेकोमा साउनदेखि संक्रमण बढेको हो । अहिले प्रत्येक दिनजसो संक्रमित भेटिने गरेका छन् । गएको दुई सातामा प्रदेशभर ८४ जनामा संक्रमण पुष्टि भएको छ । दैनिक सरदर ६ जनामा संक्रमण फेला परिरहेको निर्देशनालयको तथ्याङ्कमा देखिन्छ । कर्णाली प्रदेशका अन्य जिल्लाभन्दा सुर्खेतमा बढी संक्रमित पुष्टि भएका छन् । यहाँ गत दुई सातामा एक सय २२ जनाको कोरोना परीक्षण गर्दा ४० जनामा संक्रमण फेला परेको छ । दैनिक संक्रमणदर ३० प्रतिशतभन्दा माथि रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण भए÷नभएको पत्ता लगाउन पीसीआर वा एन्टिजेन विधिबाट परीक्षण गर्नुपर्ने हुन्छ । कर्णालीमा संक्रमणदर बढे पनि परीक्षणको दायरा भने साँघुरो छ । पीसीआर परीक्षणका लागि सुर्खेत नै आउनुपर्ने बाध्यता छ । हाल वीरेन्द्रनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ । यसअघि प्रदेशका चार वटा स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । प्रदेश अस्पताल, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, स्वास्थ्य सेवा कार्यालय दैलेख र रुकुम–पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा अहिले पीसीआर परीक्षण सुरु गरिएको छैन । संक्रमणको ग्राफ बढिरहेका बेला परीक्षणको दायरा सीमित हुँदा सेवाग्राही मर्कामा छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर गर्न सुर्खेत आउनुको विकल्प छैन ।
यसपटक संक्रमित पुष्टि भएकाहरूमा जटिल लक्षण भने देखिएका छैनन् । केही महिनायता कर्णालीमा कोरानाका कारण हुने मृत्युदर शून्य छ । तर, दिनानुदिन बढ्दो सक्रमणले खतराको संकेत गरेको छ । आउन सक्ने जोखिमलाई ख्याल गर्दै परीक्षणको दायरा बढाउन र विगतमा अपनाइएका सतर्कताका उपायलाई निरन्तरता दिनुपर्ने देखिन्छ । सहजताका लागि एन्टिजेन विधिबाट सबै स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाइनुपर्छ । परीक्षणको दायरा विस्तार गरेर समयमै सतर्कताका उपाय अवलम्बन नगरिए स्थिति भयावह नहोला भन्न सकिँदैन । किन कि विगत वर्षहरूमा संक्रमण नियन्त्रणमा हेलचक्य्राइँ गर्दा अस्पतालहरूमा बिरामीको चाप थेगिनसक्नु भएको थियो । संक्रमण नियन्त्रणका आवश्यक योजना बनाएर कार्यान्वयन नगरे यसपटक पनि उही अवस्था दोहोरिन सक्छ । त्यसैले यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जान जरुरी छ । कोरानाविरुद्धको खोप लगाउनेलाई संक्रमण भएपनि असर कम देखिने गरेको चिकित्सकहरूले बताएका छन् । खोप अभियानलाई तीव्र बनाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र प्रदेश भित्रने सीमा नाकादेखि सार्वजनिक स्थलहरूमा चेकजाँच, भिडभाड नियन्त्रण तथा सावधानीमा जोड दिन आवश्यक छ ।
प्रकाशित मितिः १७ श्रावण २०७९, मंगलवार ०५:०३
सम्पादकीय ।