कृषिकर्मले उकासियो जीवनस्तर

सुर्खेत: भेरीगंगा नगरपालिका–४ की सुशीला वली तरकारी खेती गर्छिन् । उनले व्यावसायिक तरकारी खेती गर्न थालेको १६ वर्ष भयो । बारीमा बाह्रैमास तरकारी उत्पादन गर्ने वली यसै व्यवसायबाट बर्सेनि लाखौँ रूपैयाँ कमाउँछिन् । उनले आठ रोपनी जमिनमा तरकारी लगाउने गरेकी छन् । वलीले पछिल्लो समय कृषिसँगै व्यावसायिक पशुपालमा पनि हात हालेकी छन् । ‘डेढ दशकअघिसम्म निर्वाहमुखी खेतीकिसानी मात्रै गरिन्थ्यो,’ उनले भनिन्, ‘आफैँ बजारबाट तरकारी किनेर खानु पर्ने अवस्था भोगिएको हो । केही वर्षयता मैले बजारलाई तरकारी दिइरहेकी छु ।’

तरकारी खेतीबाट मनग्य आम्दानी गर्ने उनले करोडौंको सम्पत्ति जोडेकी छन् । वली वर्षमा कम्तिमा पनि १० लाखको तरकारी बेच्ने गरेको बताउँछिन् । उनका छोरीछोरीको पढाइदेखि घरखर्चसम्म यही कृषिकर्मबाट धानिएको छ । ‘६ जनाको परिवार यसबाटै हुने कमाईमा आश्रित छ,’ उनी भन्छिन्, ‘खानलाउन र छोराछोरीको शिक्षादीक्षा कृषि पेसा गरेरै चलिरहेको छ ।’

वलीले तरकारी र पशुपालनबाट भएको आम्दानीको केही हिस्सा बचतसमेत गर्छिन् । उनका तीन छोरी र एक छोरा छन् । छोराछोरी काठमाडौं बसेर उच्च शिक्षा पढिरहेका छन् । उनले तरकारी खेती गरिरहेको भेरीगंगा–४ को हर्रेलाई अहिले तरकारी ब्लक क्षेत्रका रूपमा विकास गरिएको छ । तरकारी ब्लक कार्यक्रममार्फत कृषि विकास निर्देशनालयले मिनि टेलर (हाते ट्याक्टर) पाएसँगै उनलाई खेतीको काममा सहज भएको छ । पवित्रा कृषि तथा पशुपंछी फर्म दर्ता गरेर व्यावसायिक कृषिमा होमिएकी वलीलाई बारीदेखि बजारसम्म सघाउने श्रीमान् छन् । विगतमा कमाउन विदेश जाने गरेका उनी केही वर्षयता श्रीमतीले सुरु गरेको कृषि फर्ममा व्यस्त छन् । ‘पहिले श्रीमान् विदेश जाने आउने गर्नुहुन्थ्यो । उताभन्दा यतै आफ्नै बारीमा तरकारी फलाउँदा बढी कमाई हुने भएपछि दुवैजना यही व्यवसायमा लाग्यौँ,’ वलीले भनिन् । सुरुवातमा करेसाबारीबाट तरकारी खेती थालेकी वलीले अहिले उन्नत जातका बाख्रापालनसमेत गर्छिन् । बाख्रापालन व्यवसायबाट पनि वर्षमा झन्डै पाँच लाख कमाउने गरेको उनले सुनाइन् । मौसमी तथा बेमौसमी तरकारी खेती र पशुपालन गर्दै आएकी उनले यी व्यवसायलाई थप बढाउने सोच बनाएकी छन् । आम्दानीका स्रोत नहुँदा कुनै बेला चरम आर्थिक अभाव झेलेको उनको परिवारको जीवनस्तर अहिले भने निकै उकासिएको छ ।

भेरीगंगा नगरपालिका–४ कै कल्पना थापाको घरबाट अहिले थरीथरीको तरकारी बजारमा जान्छ । केही वर्षअघिसम्म घरमा खानका लागि मात्र तरकारी लगाइन्थ्यो । निर्वाहमुखी कृषि थियो । उनले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरिन् । थापाको बारीमा अहिले काँक्रा, टमाटर, लौका र चिचिन्डा लटरम्म फलेका छन् । दुई रोपनी क्षेत्रफल जमिनमा तरकारी खेती गरेको उनले बताइन् । ‘आम्दानी राम्रै भइरहेको छ, तरकारी बिक्री नहोला कि भन्ने चिन्ता पनि छैन,’ उनले भनिन्, ‘अझै क्षेत्रफल बढाएर खेती गर्ने सोचमा छु ।’ एउटै प्लाष्टिकको टनेलमा उत्पादन भएको तरकारीबाट हजारौँ आम्दानी हुने गरेको उनी बताउँछिन् । थापाले सरदर वार्षिक पाँच लाख आम्दानी गर्छिन् । घरखर्च चलाएर केही बचत पनि गर्दै आएकी छन् । कृषि विकास निर्देशनालयले उनलाई पनि हाते ट्याक्टर सहयोग गरेको छ । कृषि औजार पाएपछि खनजोतमा सजिलो भएको उनको भनाइ छ । सोही ठाउँकी उषा वलीले पनि बाँझो जमिनलाई उपयोग गरेर तरकारी खेती गरिरहेकी छन् । २८ वर्षीया वलीले तरकारीबाट वर्षमा तीन लाखसम्म आम्दानी गर्छिन् । पाँच वर्षअघिसम्म उनको परिवारले तरकारी किनेर खान्थ्यो ।

भेरीगंगगा–४ हर्रेका अधिकांश घरधुरीले पछिल्ला वर्षहरूमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् । घर–घरमा व्यावसायिक रूपमा तरकारी उत्पादन हुने गरेको हो । त्यहाँ किसानहरूको तरकारी ब्लक सञ्चालक समन्वय समिति छ । समितिका संयोजक प्रकाश वलीले कृषि विकास निर्देशनालयले आफूहरूलाई कृषि औजार र बिउबिजनलगायतमा अनुदान दिने गरेको जनाए । उनका अनुसार निर्देशनालयसँग समितिले अनुदानका लागि १२ लाख रूपैयाँ सम्झौता गरेको थियो । त्यसमध्ये चार लाख ७० हजार दुई सय ६० रूपैयाँ किसानका लागि अनुदानमा खर्च भयो । उक्त रकमबाट मिनिटेलर, स्प्रे ट्याङ्की, क्यारेट र प्लाष्टिक टनेल निर्माण गरिएका हुन् । यसका साथै दुई लाख बराबरको तरकारीको बिउ वितरण गरिएको छ । हर्रेस्थित यो तरकारी ब्लकमा सात वटा टोल छन् । त्यहाँका एक सय ८२ जना किसानले व्यावसायिक तरकारी खेती गर्छन् । मसिना, सानो हर्रे, ठूलो हर्रे, अमल्लीसेनी, हान्ने सिमल, बाइसकाटे र सालघारी क्षेत्र तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । व्यावसायिक तरकारी खेतीमा लागेपछि उक्त क्षेत्रका किसानहरूको आर्थिक अवस्था सुध्रिदै गएको बताइएको छ । व्यावसायिक रूपमा कृषि गर्ने किसानहरूलाई प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयले थुप्रै शीर्षकमा अनुदान दिँदै आएका छन् ।

प्रकाशित मितिः   ५ श्रावण २०७९, बिहीबार ०५:०५