‘जसलाई चाहें, उनैलाई पाएँ’
विवाह गर्नको लागि हरेक केटा वा केटीले आफ्नो जोडी अफू भन्दा सक्षम होस् भन्ने चाहन्छन् । तर, यहाँ दीपबहादुर रानाले आफ्नो जीवनसाथी आफू भन्दा सक्षम होइन इमान्दार, मेहेनती हरिदेवीलाई जीवनसाथीको रूपमा छाने । रानालाई हरिदेवीको पढाइ नै उनको लगनशीलता, मेहेनत र शान्त स्वभाव नै सक्षम लाग्यो । त्यसैले रानाले हरिदेवीको पढाइ होइन बानी व्यवहार हेरर उनलाई मन पराए ।
उता कत्ति नपढेको केटीलाई पढेको केटाले मन पराएको कुरा एक हिसाबले हरिदेवीलाई खुशी दिएको थियो भने अर्का कुराले मनमा कता–कता डर पनि पैदा गराएको थियो । तर, पनि मायामा पढाइलाई हेरिदैंन मन हेरिन्छ भन्ने सोचाइले हरिदेवीले पनि रानासँगको जीवन सहजै कट्न सक्छ जस्तो लाग्यो ।
पिता टेकबहादुर राना र माता रेशमकुमारी रानाको कोखबाट २०३० सालमा दैलेखको नारायण नगरपालिका–१ मा जन्मिएका दीपबहादुर रानाको बाल्यकाल सामान्य नै रह्यो । लाउन खानमा राम्रै भए पनि घरदेखि बाहिरको सबै काम गर्नुपर्ने हुन्थ्यो । उनले भने, ‘लाउन खानमा दुःख थिएन, काममा चाहिँ धेरै दुःख थियो ।’ रानालाई अहिले पनि गर्न नआउने काम केही छैन । राना दिनभर काम गर्ने अनि रातीको समयमा टुक्की बालेर पढ्ने गर्थे ।
चञ्चले स्वभावका रानाले कक्षा तीनसम्म गाउँकै विद्यालयमा पढे । कक्षा चारदेखि एसएलसीसम्म त्रिभुवन उच्च मावि दैलेखमा पढेका राना उच्च शिक्षाको लागि सुर्खेत आए । उनले तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्यापसबाट मानेजम्याटबाट ब्याचलर पनि सके । उनी सुर्खेतमा पढ्न आएका थिए । तर, उनी व्यापारी बन्न पुगे । हुन त रानाको बाल्यकालदेखिको सपना बैंकमा काम गर्ने र बैंकको म्यानेजर बन्ने थियो । समयले मान्छेलाई कहिले कहाँ पु¥याउँछ कसैलाई थाहा हुँदैन । रानालाई पनि समयले नै व्यापारी बनायो । देखेको सबै सपना पूरा हुँदैन त्यस्तै रानाको पनि बाल्यकालदेखिको बैंक म्यानेजर बन्ने सपना अधुरै रह्यो । बैंक म्यानेजर बन्ने सपना अधुरो रहे पनि व्यापारले भने उनलाई सफलतामा नै पु¥यायो । बाल्यकालदेखि नै पढ्नुपर्छ भन्ने भावना भएका राना पढाइमा पनि अगाडि नै थिए । रानालाई मगरका छोरा छोरीले धेरै पढ्दैनन् तर, मैले धेरै पढ्नुपर्छ केही गर्नुपर्छ भन्ने लाग्ने गथ्र्याे ।
व्यापार सुरु गर्नुभन्दा पहिला उनी विभिन्न प्राइभेट कम्पनीहरूमा जागिर गर्थे । २०५८ सालदेखि आफ्नै व्यापार सुरु गरेका राना अहिले हार्डवेयरको पसल दीप ट्रेडर्स सञ्चालन गरेका छन् । उनी व्यापार व्यवसाय मात्र होइन सिद्धार्थ सहकारी सञ्चार संस्थाको अध्यक्ष लगायत विभिन्न संघ–संस्थाहरूमा आवद्ध समेत भएका छन् ।
राना एक दिन नजिकैको अर्काे गाउँमा आफन्त बितेकोले त्यहाँ गएका थिए । त्यहाँ उनले एउटा केटीलाई देखे । जुन केटी सानी थिइन् तर, राम्री, मेहेनत र काम गरिरहेकी थिइन् । ती केटीको स्वभाव आनीबानी सबैले रानाको नजर उनी तिरै लग्यो ।
रानाले देखेको केटी अरु कोही नभएर हरिदेवी थिइन् । पहिलो नजरमा नै रानाले हरिदेवीलाई मन पराइसकेका थिए । त्यतिबेला राना १४ वर्षको र हरिदेवी ११ वर्षकी थिइन् । रानाले उनलाई हेरेको र मन पराएको कुरा हरिदेवीलाई भने थाहा थिएन । हरिदेवीको लगनशीलता, मेहेनत र इमान्दारिताले रानालाई आफ्नो जीवनको अन्त्यसम्म साथ दिनसक्ने साथीको रूपमा सोची सकेका थिए ।
रानाले हरिदेवीलाई देखेको दुई वर्षपछि मात्र उनीहरूको बोलचाल भएको थियो । हरिदेवीको मामाको छोरीसँग रानाको चिनजान भएकाले उनले मामाको छोरीसँग मलाई हजुरको बैनी मन पर्छ भनेपछि हरिदेवीले थाहा पाएकी थिइन् । उनले भनिन्, ‘मलाई उहाँले मन पराएको मेरो मामाको छोरी दिदीले भनेपछि मात्र थाहा पाएको थिएँ ।’ त्यसपछिका दिनमा मात्र हरिदेवी र रानाको बोलचाल भएको थियो । दाउरा घाँस, मेला पातसँग जाने गर्थे ।
दिदीमार्फत् मन पराएको कुरा भनिसकेपछि फेरि हरिदेवीलाई म तिमीलाई मन पराउँछु भनिरहनु पनि परेन । तर, हरिदेवीलाई भने दिदीले भनेको कुरामा विश्वास लागेको थिएन । किनकी रानाले पढेका थिए हरिदेवीले एक कक्षा पनि नपढेको हुँदा पढेको केटाले के मन पराउला र भन्ने लागेको थियो । उनले भनिन्, ‘उहाँले धेरै पढ्नु भएको थियो, मैले एक कक्षा पनि नपढेको मान्छे कसरी मन पराउनु भयो होला भन्ने लागेको थियो ।’ तर, मायामा धनी गरीब, जातभात कुनै पनि कुराले कुनै प्रभाव पार्दैन भन्ने कुरा रानाले सावित नै गरेर देखाइ दिए ।
रानालाई हरिदेवीको पढाइप्रति होइन उनको इमान्दारी, लगनशीलता र मेहेनतप्रति लगाव थियो । हरिदेवीको आनीबानीले रानाको मन तानेको थियो । त्यसैले पनि रानालाई हरिदेवीको पढाइसँग कुनै मतलब नै थिएन । हरिदेवी जस्तो जीवनसाथी उनले अरु कोही पाउँदिन भन्ने लागेर नै हरिदेवीलाई जीवनको सहयात्री बनाउने निधो गरेका थिए ।
बोलचाल भएको तीन वर्षपछि उनीहरूले विवाह गर्ने निधो गरे । उनीहरूले २०५९ सालमा भागी विवाह गरे । विवाहपछि हरिदेवीको माइतीले सुरुमा छोरीले भागेर विवाह गरी भनेर केही समय त रिसाए पनि तर, बाबुआमाको मन हो धेरै समयसम्म रिसाइरहन सक्दैन । त्यसैले पनि हरिदेवीको बाबुआमाले रानालाई नपढेको छोरी भगाएर विवाह गर्नु भएको छ पछि दुःख नहोस् भन्दै सम्झाए ।
…
पिता छविलाल आले र माता तुलमाया आलेको कोखबाट २०३३ सालमा नारायण नगरपालिका–१ दैलेखमा जन्मिएकी हरिदेवीको बाल्यकाल सुखद्सँग बित्यो । उनको बाल्यकाल मेलापात, घाँस दाउरा र घरको काम गर्दैमा बित्यो । त्यतिबेला छोरीलाई पढाउनु पर्छ भन्ने मानसिकता थिएन । उनले भनिन्, ‘त्यतिबेला छोरीलाई पढायो भने चिठ्ठी लेख्न जान्ने हुन्छन् भनेर पढाउने चलन थिएन त्यसैले मैले पनि पढ्न पाइनँ ।’ उनलाई किताब कस्तो हुन्छ, विद्यालय कस्तो हुन्छ, कसरी पढ्छन् भन्ने लाग्ने गथ्र्याे । बाल्यकाल हरिदेवीदेखि नै सबैको सम्मान गर्ने, धेरै नबोल्ने शान्त स्वभावकी थिइन् ।
विवाहपछि हरिदेवीले घरमा पनि छोरीको जस्तै व्यवहार पाइन् । घरको जेठो बुहारी भएका कारण पनि सबैले उनलाई छोरीजस्तै माया गरे । उनलाई माइतीको झल्को मेटाउने माया घरपरिवारले दिए । विवाहपछिको दिनमा यो जोडी एकअर्काेको सम्मान गर्दै जीवन अगाडि बढाए । संघर्ष गर्दै आफ्नो व्यापारलाई अगाडि बढाए । विवाहपछि र श्रीमान् श्रीमती भएपछि सामान्य भनाभन हुनु झगडा हुनु त स्वभाविकै नै हो । यस्तै सामान्य झगडा यो जोडीको पनि हुने गर्छ तर, एकै छिनको लागि मात्र धेरै समयसम्म दुवै जना रिसाएर बस्न सक्दैनन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमतीको झगडा भनेको परालकै आगो हो एकै छिनमा निभिहाल्छ ।’ उनीहरूको झगडा पनि एकै छिनमा निभिहाल्छ ।
यो जोडी समय भएसम्म घुम्न पनि जाने गर्छन् । उनीहरू एकअर्काेको जन्मदिन, विवाह वर्ष आउँदा एकअर्काेलाई प्रयोगमा आउने सामान गिफ्ट पनि दिने गर्छन् । हरिदेवीलाई रानाले घरको काममा समेत सघाउने गर्छन् । सम्बन्ध दिगो बनाउनको लागि एकअर्काेबीचको विश्वासको डोरी बलियो हुनुपर्ने उनीहरू बताउँछन् । उनीहरूका अनुसार दाम्पत्य जीवन सफल बनाउनको लागि एकअर्काे बीचमा कुनै पनि कुरा लुकाउन नहुने र एकले अर्काेप्रति शंका नगरी विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । जब सम्बन्धमा विश्वास नै हुँदैन भने त्यो सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन ।
यो जोडीका अनुसार जीवन भनेको चर्खा जस्तै हो घुमीरहन्छ । जीवन सधैं एकै नाश रहिरहँदैन त्यसैले जीवनलाई घुम्ने चर्खा पनि भनिन्छ । संघर्षले जीवनलाई सार्थक बनाउने यो जोडीको भनाइ छ । उनीहरू भन्छन्, ‘संघर्ष विनाको जीवन सफल बनाउन सकिदैंन ।’ उनीहरूका अनुसार जीवनसाथी भनेको आफ्नो शरीरको आधा अङ्ग हो । जो अङ्ग विना जीवनमा बाँच्न सकिदैंन । जीवनको अन्त्यसम्म साथ दिने साथी नै जीवनसाथी हुन सक्छन् । पे्रम र विवाह बीचमा यो जोडीले भिन्नता रहेको बताउँछन् । प्रेम जोसँग पनि गर्न सकिन्छ । तर, विवाह एक जनासँग मात्र गरिन्छ । प्रेम घरपरिवार, व्यक्तिदेखि वस्तुलाई पनि गरिन्छ । विवाह जीवनमा एक पटक एक जनासँग मात्र गरिन्छ । प्रेममा भन्दा विवाहमा जिम्मेवारी धेरै हुन्छ । त्यसलाई जीवनको अन्त्यसम्म निभाउनुपर्छ ।
उनीहरू विवाह बन्धनमा भर्खर बाँधिएका तथा विवाह बन्धनमा बाँधिन लागेका जोडीलाई पहिला एकअर्काेको बारेमा राम्रोसँग बुझेर र एकअर्काेबीचमा राम्रो विश्वासको वातावरण बनाउनुपर्ने सुझाव दिन्छन् । सम्बन्ध एकअर्काे बीचमा शंका उपशंकाले चल्न नसक्ने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘वैवाहिक सम्बन्धलाई सफल बनाउन एकअर्काे बीचमा विश्वास, समझदारी हुन जरुरी छ ।’
प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १२:३५
साझा बिसौनी ।