बिरामीले अब दैनिक आधा घण्टा दौडिनुपर्ने

सामान्यतया बिरामीलाई अस्पतालमा भर्ना गरिन्छ । रोग निको पार्नका लागि आवश्यक औषधि उपचार पनि गरिन्छ । तर, सुर्खेतमा भने बिरामीको रोग निको पार्नका लागि नयाँ अभियान थालिने भएको छ । जिल्लामा नसर्ने (दीर्घरोग) का बिरामीहरूको संख्या बढ्दै गएपछि त्यस्ता बिरामीलाई स्वास्थ्य कार्यालयले नै अब हरेक दिन दौडाउने भएको हो । जिल्लाका बिरामीले अब दैनिक कम्तीमा आधा घण्टा अनिवार्य दौड्नु पर्नेछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले नसर्ने रोगबाट ग्रसित बिरामीहरूका लागि नयाँ अभियान थालेको हो । कार्यालयले नसर्ने रोगबाट पीडित भएका बिरामीलाई शारीरिक अभ्यासमार्फत् निको बनाउने तयारी गरेको छ । नसर्ने (क्यान्सर, वाथ, मधुमेह, मुटु, फोक्सो र मृगौला) सम्बन्धी रोगका बिरामीको संख्या जिल्लामा उच्च रहेको भन्दै कार्यालयले यसको रोकथामको उपयुक्त विकल्प शारीरिक व्यायाम नै भएको निश्कर्ष निकालेको हो । अभियान अन्तर्गत वीरेन्द्रनगरमा विभिन्न तीन वटा रुट तय गरेर बिरामीलाई हरेक दिन बिहान आधा घण्टा दौडाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘शारीरिक व्यायाम नगर्दा मान्छेहरू नसर्ने खालका रोगले थला परे, खानपानमा ध्यान नदिँदा नगरक्षेत्रमा बिरामीको संख्या बढ्दो छ’ जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारी भन्छन्, ‘आजसम्म हाम्रो अभियान सरुवा रोगविरुद्ध मात्र केन्द्रित भयो, अर्कोतर्फ नसर्ने रोगले प्रकोप लियो । अब हामी नसर्ने रोगविरुद्ध पनि अभियान सुरु गर्दैछौं, त्यसका लागि शारीरिक अभ्यासमा जोड दिनेछौं ।’ उनले वीरेन्द्रनगर क्षेत्रमा दीर्घरोगका बिरामीको चाप बढी भएको र पहिलो चरणमा नगरक्षेत्रका बिरामीलाई कार्यालयले दौडाउने बताए । शारीरिक व्यायामले दीर्घरोगको रोकथाममा सहयोग पुग्ने बताउँदै उनले भने, ‘नगरक्षेत्रमा तीन वटा रुट बनाउने छौं, अब बिरामीले हरेक दिन बिहान ती रुटमा कम्तीमा आधा घण्टा दौड्नुपर्नेछ । यसले उनीहरूको रोग निको हुनेछ, राज्यको आर्थिक भार पनि कम हुनेछ ।’

वीरेन्द्रनगर नगरपालिकासँग मिलेर दौडने रुटहरू तय गरिनेछ । यस्तै स्वास्थ्यकर्मीले नसर्ने रोगबाट बिरामीहरूको ज्यान गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले खानपानमा ध्यान दिन र योगा गर्न सुझाव दिएका छन् । डाक्टर महेशकुमार खनाल भन्छन्, ‘सरुवा रोगले भन्दा नसर्ने रोगबाट धेरैको ज्यान गइरहेको छ, तर राज्यको ध्यान सरुवा रोगमा मात्र केन्द्रित छ । अब नसर्ने रोगविरुद्ध पनि लडौं, त्यसका लागि राज्यले नै शारीरिक व्यायामलाई प्राथमिकता दिन जरुरी छ ।’ योग र साधनाले पनि अधिकांश नसर्ने खालका दीर्घरोगलाई कम गर्न सकिने भन्दै उनले अब यसतर्फ अभियान थाल्नुपर्नेमा जोड दिए । उनका अनुसार शारीरिक अभ्यासको कमी, मानसिक तनाव र खानपानका कारण अधिकांश व्यक्तिहरू नसर्ने खालका रोगबाट पीडित भइरहेका छन् । हरेक दिन ३० मिनेट दौडेमा शरीरका अङ्गहरू चलायमान हुने र रोगविरुद्ध लड्ने प्रतिरक्षा शक्तिमा वृद्धि हुने उनको दावी छ ।
मद्यपान, धुम्रपान, व्यस्तता, तनाव र खानपानमा ध्यान नदिँदा नसर्ने खालका रोगको प्रकोप बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा भर्ना भएकामध्ये ३७ प्रतिशत बिरामी नसर्ने खालका रोगबाट ग्रसित हुने गरेको भन्दै कार्यालयले जिल्लामा सबैभन्दा बढी क्यान्सरबाट पीडित भएको उल्लेख गरेको छ । यस्तै मधुमेह र मुटु सम्बन्धी रोगबाट पीडित हुनेहरूको संख्या वर्षेनी बढ्दै गएको र ठूलो मात्रामा रकम खर्च भइरहेकाले आफूहरूले नसर्ने रोगविरुद्ध अभियान थालेको कार्यालयका सूचना अधिकारी बसन्तमान श्रेष्ठले बताए । उनका अनुसार अब जिल्लामा नसर्ने रोगविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिनेछ । यस्तै शारीरिक अभ्यास अन्तर्गत बिरामीलाई नियमित योगा र दौडमा सहभागी गराउने गरी कार्यालयले तयारी थालेको उनको भनाइ छ । यसले बिरामीको आधा रोग कम हुने र मानिसहरू स्वस्थ रहने अपेक्षा यहाँका स्वास्थ्यकर्मीले गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले नसर्ने रोगविरुद्ध सचेतना अभियान अन्तर्गत शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न गरेको अन्तरक्रियामा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले दीर्घरोगविरुद्ध सामूहिक लडाईं आवश्यक रहेको बताए । यस्तै पतञ्जली योगका शिवराज जैसीले नियमित योग र साधना गरे दीर्घरोगबाट मुक्ति मिल्ने दावी गरे । सो अवसरमा सहभागीहरूले अब नसर्ने रोगविरुद्ध पनि राज्यले अभियान थाल्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मितिः   १६ पुष २०७३, शनिबार १२:१२