महिनादिनसम्म आउँदैन धारामा पानी

सुर्खेत: वीरेन्द्रनगर–१ को सिर्जना टोलका धाराहरूमा खानेपानी नआएको दुुई साता बढी भयो । त्यसअघि पनि त्यहाँ पानी नियमित थिएन । स्थानीय खगिसरा गिरी वर्षा सुरु भएयता थप समस्या भइरहेको बताउँछिन् । ‘एक साताको अन्तरमा आउने पानी असार लागेपछि झन् आउनै छोड्यो,’ उनले भनिन्, ‘खानेपानी त बजारबाट किनेर पनि चलाइएको छ । शौचालय जानेसमेत पानी नहुँदा निकै सकस छ ।’

उपत्यकाका कतिपय क्षेत्रमा एक महिनादेखि धारामा पानी आएको छैन । नगरको वडा नं. ३ स्थित पतेनी रोडका उपभोक्ताले विगत एक महिनादेखि पानीको हाहाकार खेपिरहेका हुन् । सडक निर्माणका क्रममा पाइप लाइन काटिएका छन् । तर, मर्मत नगरिँदा त्यो क्षेत्रमा खानेपानीको संकट थप चुलिएको छ । ‘अघिल्लो महिनासम्म केही दिन बिराएर पानी आइरहेको थियो । अहिले त पानी आउनै छोड्यो,’ पतेनी रोडकी मिरा कार्कीले भनिन् । पानीका दुःख भनिसाध्य नभएको कार्की बताउँछिन् । यरीचोकदेखि पतेनी रोडसम्म नयाँ जडान गरिएका धारामा केही दिनको अन्तरालमा पानी आए पनि पुुराना धारामा एक महिनायता पानी नै नआएको हो । यस विषयमा टोल सुुधार समितिदेखि वडा नगर र सुुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उपभोक्ताको गुनासो छ । टोल सुुधार समितिका अध्यक्ष नरेन्द्र रोकायाले आफूहरूले माथिल्ला निकायमा समस्या राख्दै आएपनि बेवास्ता भइरहेको बताए । वीरेन्द्रनगरका वडा नं. ९, १०, ११ र १२ मा पनि खानेपानीको उस्तै संकट छ । हप्तौदेखि धारामा पानी नआउँदा उपभोक्तालाई निकै कठिनाइ भइरहेको वीरेन्द्रनगर–११ का घनश्याम वलीले बताए । वली भन्छन्, ‘हाम्रोतिर पानी नआएको लामो समय भयो । देउती मन्दिर नजिकै रहेको कुवाबाट पानी बोकेर गुजरा चलाउन बाध्य छौँ ।’ उनले राजधानीमा बसेर खानेपानीकै सुविधा नपाउँदा स्थानीय सरकार भएको अनुभूति नै नभएको बताए । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था र स्थानीय सरकार खानेपानीको समस्या हल गर्न गम्भीर नदेखिएको वलीले जनाए । भद्रगोल वितरण प्रणालीका कारण पनि उपत्यकाबासीले पानी नपाएको उनको आरोप छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले यतिबेला खानेपानीको चरम संकट खेपिरहेको छ । खानेपानीको यस्तो हाहाकार पहिलो पटक भएको भने होइन । नगरबासीले वर्षाैंदेखि पानीको अभाव झेल्दै आएका छन् । पछिल्लो समय समस्या झनै विकराल बनेको छ । विगत केही वर्षदेखि माग धेरै र आपूर्ति न्यून हुँदा आलोपालो पानी वितरण गरिँदै आएको थियो । यो वर्ष पनि असार लाग्नुअघि एक साताको फरकमा एक पटक भएपनि उपभोक्ताका धारामा पानी आउथ्यो । तर, असार सुरु भएयता धारामा फिटिक्कै पानी आएको छैन । मनसुनको महिनामा पनि वीरेन्द्रनगर काकाकुलजस्तै बनेको छ ।

वीरेन्द्रनगर उपत्यकामा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी उपलब्ध गराउँदै आएको छ । बर्खायाम लागेसँगै पानी वितरणमा समस्या आइरहेको जनाएको छ । केही दिनयता मुहानमा नै पिउनयोग्य पानी नहुँदा वितरण नगरिएको संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताए । उनका अनुसार पानी मुहानमै लेदो र धमिलो छ । बाढी र पहिरोले खानेपानीका कतिपय संरचनामा समेत ठूलो क्षति पुगेको छ । पाइपलाइन र अन्य संरचनाहरूमा नोक्सानी भएकाले मर्मतको काम चलिरहेको छ । देवकोटा भन्छन्, ‘असार ४ गतेसम्म ६ दिन बिराएर पानी दिने गरिएकोमा त्यसपछि मुुहानमै लेदो र धमिलो हुुँदा प्लान्टमा हाल्न सकिएको छैन ।’ लाइनको मर्मत र इन्टेक तथा प्लान्टहरूमा पानी हाल्ने प्रयास भइरहेकाले केही दिनमा अवस्था सहज बन्दै जाने बताइएको छ ।

शुक्रवारदेखि आंशिक रूपमा भएपनि धारामा पानी पठाउने गरी काम भइरहेको अध्यक्ष देवकोटाले जनाए । ‘प्राकृतिक प्रकोप कसैको बसमा हुुँदैन, हामी निरन्तर मर्मत कार्यमा जुटिरहेका छौँ,’ उनले भने, ‘इत्राम र खोर्के खोला स्रोतको पानी हिजोदेखि वितरण थालिएको छ ।’ झुुप्रा खोला र खरि खोलाको मुहानमाथिका बस्तीहरूमा डोजर लगाएर सडक निर्माण भइरहेकाले हिलो बगेर पानीको स्रोत नै धमिलो बनेको संस्थाले जनाएको छ । पानी पिउनका लागि योग्य बनाएर मात्र पठाउने गरिएको अध्यक्ष देवकोटा बताउँछन् । पानीको अभाव आकाशिएपछि संस्थामा दैनिक ध्यानाकर्षण गर्न जानेहरूको घुइँचो लाग्ने गरेको छ । बिहीवार सुर्खेत उद्योग वाणिज्य संघको टोलिले खानेपानी सेवा सहज बनाउन संस्थाको ध्यानाकर्षण गराएको छ ।

नगरमा पानीको हाहाकार भइरहँदा नगरपालिका भने बेखबरजस्तै बनेको उपभोक्ताको गुनासो छ । नगर उपप्रमुुख निलकण्ठ खनालले आफूहरू खानेपानीको समस्या न्यूनीकरण गर्न लागि परेको दाबी गरे । ‘एक साताभित्र सबैका धारामा पानी पुुग्ने गरी आवश्यक समन्वय भइरहेको छ,’ उनले भने, ‘म आजै खानेपानीको मुुहानमा पुुगेर फर्किएको छु । मुहानमा नै पानी धमिलो हुँदा वितरण समस्या भएको हो ।’ खानेपानी आधारभूत आवश्यकता भएकाले पनि नगरपालिका यसको परिपूर्तिका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १७ असार २०७९, शुक्रबार ०५:०५