कांग्रेस महाधिवेशनको राजनीतिक महत्व
विष्णुकुमार खड्का |
नेपालको सबैभन्दा पुरानो र हालको प्रमुख राजनीतिक दल नेपाली कांग्रेस यतिबेला पार्टीको बहुप्रतिक्षित केन्द्रीय महाधिवेशन संघारमा छ । नेपाली प्रजातान्त्रिक आन्दोलनको एक अग्रणी राजनीतिक दल जसको इतिहास र वर्तमानमा समेत नेपाली राजनीतिको निर्णायक भूमिका रहने गरेको थियो र छ यतिबेला इतिहासकै सबैभन्दा सङ्क्रमणकालीन र युगान्तकारी परिवर्तनको संघारमा छ । स्वभाविक रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशन र त्यस दलको केन्द्रीय नेतृत्व छनौटमा केन्द्रित भएको पाइन्छ किनकि यसको आन्तरिक र बाह्य राजनीतिमा बेग्लै अर्थ र महŒव छ । त्यसो त कुनै पनि राजनीतिक दलका लागि त्यस दलको आन्तरिक जीवनमा महाधिवेशनले अवश्य महŒव त राख्छ नै त्यो हिसाबले नपाली कांग्रेसको आन्तरिक जीवनमा पनि त्यो राजनीतिक दलले लिने राजनीतिक फैसला र रणनीति लगायत राजनीतिक कार्यक्रम कार्यन्वयनका लागि छनौट गरिने नेतृत्वसहितको सङ्गठन संरचनाले अर्थ र महŒव राख्दछ । यो महाधिवेशन नेपाली कांग्रेस निकट आस्था राख्ने नेता कार्यकर्ताका लागि चासो र चिन्तनको सवाल त अवश्य बनेको छ नै त्यसका अलावा अन्य राजनीतिक दल निकटस्थ आस्था राख्ने नेता कार्यकर्ता र स्वतन्त्र नागरिक समाजको समेत उच्च चासो र चिन्तनको विषय बनेको छ । यसको प्रमाण सामाजिक सञ्जाल र आम सञ्चार जगतमा नेपाली कांग्रेसको महाधिवेशन र त्यसको नेतृत्व छनौटको विषयमा प्रकाशित समाचार, लेख, अनुमान र टिकाटिप्पणी लगायत पृष्ठपोषण, चियागफ आदि पर्याप्त छन् ।
नेपालको राजनीतिक इतिहासमा १०४ वर्षीय जहानिया राणा शासन विरुद्धको पृष्ठभूमिमा उठान गरिएको सचेत युवाहरूले थालनी गरेको एक युगान्तकारी र साहसिक आन्दोलनको सङ्गठित शक्तिको नामाकरण कांग्रेस थियो भनियो भने सायद इतिहासप्रति न्याय नै हुन्छ । छिमेकी मुलुक भारतमा शासन गरिरहेको विश्व साम्राज्यवादी बेलायतको इष्ट इन्डिया कम्पनीका विरुद्धमा महात्मा गान्धी लगायतकाले भारतीय कांग्रेसका नाममा सञ्चालित भारत छोड आन्दोलन सफल भएपछि इष्ट इन्डिया कम्पनी रिझाएर शासन गरिरहेको नेपालको राणा शासनको पनि सातोपुल्तो उडिरहेको बेलामा करिब भारत छोड आन्दोलनकै अनुशरण गरेको जस्तो लाग्ने गरी सुरु गरिएको नेपालको राणा विरोधी आन्दोलनको सुरुवात पनि नेपाली कांग्रेसको नाममा वीपी कोइरालाले भारतमै गरेका थिए । वि.सं. २००३ साल कार्तिक १५ गते बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन भइ भारतको कलकत्ताको भवानीपुरमा वि.सं. २००३ माघ १२ र १३ गते नेपाली कांग्रेसको रूपमा नेपाली राष्ट्रिय कांग्रेसको नाममा पहिलो महाधिवेशन सम्पन्न गरेको थियो । वि.सं. २००४ मा दोस्रो, वि.सं. २००५ मा तेस्रो, वि.सं. २००६ चैत्र २७ गते चौथो तथा एकीकरण महाधिवेशन, वि.सं. २००९ जेठमा जनकपुरमा पाँचौं, वि.सं. २०१२ माघमा वीरगन्जमा छैठौं, वि.सं. २०१७ मा सातौं वि.सं. २०४८ मा झापाको कलवलगुडीमा आठौं, वि.सं. २०५३ मा काठमाडौंमा नवौं, वि.सं. २०५७ मा पोखरामा दशौं, वि.सं. २०५९ मा पार्टी विभाजनका कारण एघारौं महाधिवेशन छुट्टाछुट्टै सम्पन्न गरे पनि वि.सं. २०६४ मा पार्टी एकीकरण भइ वि.सं. २०६७ असोजमा काठमाडौंमा १२ औं महाधिवेशन सम्पन्न गरेर १३ औं महाधिवेशनमा होमिएको कांग्रेसका सामु आन्तरिक र बाह्य व्यवस्थापनका चुनौतीका चाङ छन् ।
भारतमा महात्मा गान्धीको नेतृत्वमा गठन भएको भारतीय कांग्रेसले भारतबाट इष्ट इन्डिया कम्पनी सरकारलाई हटाएर लोकतन्त्र स्थापना गर्न र भारतलाई स्वतन्त्र गर्न सफल भएपछि भारतमा सबैभन्दा लोकप्रिय राजनीतिक दलको रूपमा भारतीय कांग्रेस बन्यो र संस्थापनदेखि नेतृत्व स्थापित गर्दै आएको गान्धी परिवारले नै भारतीय कांग्रेसलाई निरन्तर नेतृत्व प्रदान गरयो । करिब त्यस्तै प्रकृति र घटनाक्रमसँग मिल्ने नेपाली कांग्रेस विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा स्थापित भएदेखि निरन्तर रूपमा सुशील कोइरालासम्म आइपुग्दा करिब कोइराला वंशको नेतृत्व र छत्रछायाँमा अगाडि बढेकोमा केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा सुशील कोइरालाको आकस्मिक निधनले कांग्रेसको कोइराला नेतृत्वमा क्रमभङ्ग भएको छ । त्यसो त यसअघि पनि वीपी कोइरालाको निधनपछि गिरीजाप्रसाद कोइरालाले नेतृत्व स्थापित नगरुन्जेलसम्म केही समय कांग्रेस नेतृत्व कोइरालातिर बन्न पुगेको थियो जो धेरै टिकाउ हुन सकेन । नेपाली कांग्रेसको करिब सात दशक राजनीतिक इतिहासमा मुस्किलले एक दशक कोइरालातिरबाट हाकियो होला बाँकी छ दशक कोइरालावंशले हाँकेको कांग्रेस यो महाधिवेशनबाट भने नेतृत्व कोइराला इतरमा जाने प्रबल सम्भावनाको रूपमा आङ्कलन र अड्कलबाजीहरू पनि गरिएका छन् । त्यसो त कोइराला परिवारको तर्फबाट गिरीजापुत्री एवम् नेतृ सुजाता कोइराला आफै सभापतिको दाबीमा छिन् भने वीपीपुत्र सशांक कोइरालालाई महामन्त्री बनाएर आफूपछिको कोइराला उत्तराधिकारी र कोइराला परिवारको विश्वासपात्र भएको आश्वासन कार्यकर्तालाई दिलाउन कार्यबाहक सभापति रामचन्द्र पौडेल व्यस्त देखिन्छन् । त्यसैगरी कोइराला परिवारका निकै विश्वास पात्र मानिएका महामन्त्री समेत रहेका कृष्णप्रसाद सिटौला सके कोइराला परिवारभित्रबाट महामन्त्री बनाउने र नत्र युवा पुस्ताको सेन्टिमेन्ट खिच्ने गरी कुटनीतिक दाउपेचसहितको सभापतिको दाबी गरेका छन् भने सधैं कोइराला इतरको नेतृत्वको अगुवाइ गर्दै आएका र कोइराला परिवारको नेतृत्वसँग पटक–पटक सभापतिमा उम्मेदवारी दिएका शेरबहादुर देउवा भने संस्थापन पक्षमा देखिएको यो खटपटको भरपुर फाइदा उठाउने गरी आन्तरिक व्यवस्थापन गर्दै नेतृत्व हत्याउने ध्याउन्नमा जुटेको
देखिन्छ । त्यसो त उनको खेमाको आन्तरिक व्यवस्थापन गर्न पनि कम चुनौतीपूर्ण भने छैन । कांग्रेसको संस्थापन पक्षमा देखिएको आन्तरिक सङ्कटको फाइदा उठाउन सकेभने यस चोटी कांग्रेसको नेतृत्व कोइरालाइतर या देउवाको पक्षमा पर्नसक्ने अनेकन विश्लेषण र अड्कलबाजीहरू पनि हुने गरेका छन् । कांग्रेसको नेतृत्व कसको पक्षमा जाला भन्ने फैसला कांग्रेस महाधिवेशनलाई नै जिम्मा छोडेर यिनी सम्भावित उम्मेदवारहरूमध्ये कसको पक्षमा पर्दा राष्ट्र र पार्टीको जीवनमा पर्न जाने प्रभावका सम्बन्धमा भने सबैको चासोको सवाल बनेको छ ।
नेपाली कांग्रेसको यो केन्द्रीय महाधिवेशन मुख्य रूपमा नेपालको सङ्क्रमणकालीन राजनीतिक व्यवस्थापन र नेपाली कांग्रेसको आन्तरिक जीवनमा देखापरेको संक्रमणकालीन व्यवस्थापनका हिसाबले महŒवपूर्ण देखिन्छ । जब नेपाली कांग्रेसको नेतृत्वमा मुलुकभरी राणा विरोधी आन्दोलन भयो स्थापनाको पहिलो पाँच वर्षमै राणा शासनको अन्त्य गर्न सफल भए र नेपालमा राजासहितको प्रजातन्त्रको स्थापना भयो जतिबेला नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्ने अन्य राजनीतिक दलहरू अत्यन्त न्यून थिए । राजा, राणा र कांग्रेसको त्रिपक्षीय शक्ति सन्तुलनको उपजको रूपमा लिइएको
वि.सं. २००७ सालको फागुन ७ को प्रजातन्त्र कांग्रेसको आन्तरिक जीवनमा देखापरेको सङ्कटका कारण राजाको शक्ति बलियो बन्दै गयो र दुई तिहाई बहुमत प्राप्त पहिलो जननिर्वाचित बनेको विश्वेश्वरप्रसाद कोइरालाको सरकारसहित २००७ सालको उपलब्धि वि.सं. २०१७ सालमा गुम्यो । जनताको प्रचण्ड जनमत हुँदाहुँदै पनि कांग्रेसले प्रजातन्त्रको रक्षा गर्न सकेन र राजा महेन्द्रको पञ्चायतको विरुद्धमा तीन दशक अरू लड्नुपर्ने स्थिति सिर्जना भयो । त्यतिबेलासम्म नेपालमा कम्युनिष्ट निकट आस्था राख्ने राजनतिक दलहरू पनि अस्तित्वमा थिए । वि.सं. २००६ सालमा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिसकेका भए पनि ठूलो जनमत आर्जन भने गर्न सकेका थिएनन् । पञ्चायतका
तीन दशकमा नेपालमा कांग्रेस र कम्युनिष्ट शक्ति करिब–करिब प्रतिस्पर्धामा आउन सक्ने भए पनि पञ्चायत विरोधी शक्ति भएको हुँदा नमिलिकन पञ्चायती व्यवस्था फाल्न नसकिने निश्कर्षसहित जनआन्दोलन गर्दा वि.सं. २०४६ सालमा फेरि राजासहितको बहुदलीय प्रजातन्त्रको पुनर्बहाली भयो । त्यसपछिको आमनिर्वाचनमा पनि नेपाली कांग्रेसले नै स्पष्ट बहुमत ल्यायो फेरि पनि कांग्रेसको आन्तरिक समस्याको कारणले आफ्नो बहुमतको सरकार आफै गिराएर मध्यावधि निर्वाचनमा जानुप¥यो । त्यसको एक दशकमा फेरि राजाको प्रत्यक्ष शासन सुरु भएपछि नेपाली कांग्रेसकै नेतृत्वमा
वि.सं. २०६२÷०६३ को आन्दोलनबाट नेपालमा राजारहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो । राणा विरोधी आन्दोलनमा गाँसिएको राजतन्त्रप्रतिको कांग्रेसको सम्बन्ध र विश्वास करिब ६ दशकपछि समाप्त गरेको छ जो एक युगान्तकारी निर्णय थियो । त्यो निर्णय लिन कांग्रेसको तत्कालीन नेतृत्व गिरिजाप्रसाद कोइरालालाई ठूलै राजनीतिक जोखिम उठाउनुपरेको थियो त्यो पनि सशस्त्र युद्धमा रहेको अर्को राजनीतिक दुस्मन शक्तिलाई राजनीतिक मूलधारमा सँगै ल्याएर । गणतन्त्र स्थापनासँगै संविधानसभाबाट संविधान जारी गर्ने र राज्यको पुनर्संरचनासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ स्वरूप र संरचना गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गतर्फ उन्मुख गराउने अभियानको अगुवाइ समेत कांग्रेसले नै गर्नपर्ने परिस्थिति र राजनीतिक शक्ति सन्तुलनले दिएको छ । बडो संयोग नै भन्नुपर्छ पहिलो संविधानसभाबाट जारी हुनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दोस्रो संविधानसभाको निर्वाचन गरेर पहिलो शक्तिको रूपमा आएको नेपाली कांग्रेस र त्यसका सभापति सुशील कोइरालाको नेतृत्वमा गणतन्त्र नेपालको संविधान जारी हुनपुग्यो । यसरी हेर्दा कांग्रेसले प्रजातन्त्र स्थापनादेखि गणतन्त्र स्थापना हुँदै संविधान सभाबाट संविधान जारी गर्ने राजनीतिक परिघटनाहरूको नेतृत्व गर्न पाउनु कांग्रेस या कांग्रेस नेतृत्वको सफलता या संयोग के थियो जे थियो त्यो यथार्थ थियो । तर विडम्बना संविधानसभाबाट आफैले जारी गरेको संविधानप्रति छिमेकी भारत र मुलुककै मधेस केन्द्रित दलको असन्तुष्टिसँगै कांग्रेस र कांग्रेस नेतृत्व त्यसको सफल कार्यान्वयन गर्ने युगीन जिम्मेवारीबाट पन्छिन खोज्नु नेतृत्व या कांग्रेसको राजनीतिक स्वखलन या परिबन्द के हो त्यो बुझिनसक्नुको छ । जे होस् आज नेपालको राजनीतिक आन्दोलनमा कांग्रेस र त्यसको नेतृत्वको जबर्जस्त भूमिका देखिन्छ त्यसको निरन्तरता दिनसक्ने नेतृत्व निर्माण र राजनीतिक कार्यक्रम बनाउन यो महाधिवेशनले के भूमिका खेल्छ सर्वत्र चासोको सवाल बनेको छ ।
प्रकाशित मितिः १८ फाल्गुन २०७२, मंगलवार १२:४३
साझा बिसौनी संवाददाता ।