गठबन्धनमा बदलाव

प्रदेश र संघको निर्वाचन एमाले–माओवादी सहकार्य कति सम्भव ?

सुर्खेत: गत वैशाखमा भएको स्थानीय तह निर्वाचनका लागि सुर्खेतका पाँच वटा पालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रबीच चुनावी तालमेलको सहमति भयो । तर गठबन्धनले सोचेअनुरूप नतिजा दिएन । चौकुने गाउँपालिकामा सहकार्य सफल भएपनि अन्य चार पालिकामा असफल भयो ।

निर्वाचनको नतिजासँग दुवै दल सन्तुष्ट थिएनन् । जसको प्रभाव चौकुनेमा गाउँ कार्यपालिका गठनदेखि जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनसम्म देखियो । सत्तारुढ दल कांग्रेससँगको तालमेल तोडेर माओवादीले नेकपा (एमाले)सँग सहकार्य अघि बढाएको छ । एमाले–माओवादी सहकार्यले जिल्ला समन्वय समिति सुर्खेतको नेतृत्वसमेत हात पार्न सफल भएको छ । शुक्रवार भएको निर्वाचनमा नेपाली कांग्रेसलाई पराजित गर्दै एमाले–माओवादी गठबन्धन विजयी भएको हो । जिल्ला समन्वयको निर्वाचनसँगै सुर्खेतमा सत्तारुढ पाँच दलीय गठबन्धन भत्किएको छ ।

एमाले–माओवादी सहकार्यको सुरुवात

पार्टी एकीकरण गरेर पनि छुट्टीएका एमाले र माओवादीबीच चुनावी सहकार्य गर्नु सजिलो थिएन । त्यसमाथि केन्द्रीयस्तरबाटै सत्तारुढ दलरुबीच गठबन्धन बनेको थियो । कार्यपालिका र समन्वय समिति गठनमा पनि गठबन्धन कायम राख्न निर्देशन नेतृत्वले दिएको थियो । तर त्यसलाई समेत लत्याउँदै सुर्खेतमा भएको एमाले–माओवादी गठबन्धनले यहाँको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।

तत्काल सम्भव नदेखिएको एमाले–माओवादी सहकार्यको सुरुवात भने चौकुने गाउँपालिकाबाट भएको हो । त्यसो त चौकुनेको तालमेल पनि कम रोचक छैन । स्थानीय निर्वाचनमा माओवादी र कांग्रेसबीच सहकार्य थियो । सोही गठबन्धनबाट पालिका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भए । तर गाउँ कार्यपालिका गठनमा उक्त गठबन्धन तोडियो, एमाले र माओवादी एकठाउँमा उभिए । ‘प्रतिकूल परिस्थितिकाबीच पनि हामीले पालिकामा सहकार्य ग¥यौं’ एमाले चौकुनेका अध्यक्ष हरी अधिकार भन्छन्, ‘त्यसले जिल्ला समन्वयमा समेत सहकार्यको बाटो खोल्यो ।’
जिल्ला समन्वयमा बहुमतका लागि १० मत आवश्यक पथ्र्यो । तर एमालेसँग नौ मात्रै थियो भने कांग्रेससँग आठ र माओवादीसँग एक मत थियो । केन्द्रीय गठबन्धनअनुसार कांग्रेस र माओवादी एकठाउँमा हुँदा पनि बहुमत पुग्ने अवस्था थिएन । बरु माओवादीको एक मत एमालेसँग मिल्दा बहुमत पुग्थ्यो । माओवादीले त्यही सजिलो बाटो रोज्यो । अर्थात् सत्तारुढ गठबन्धन कांग्रेससँगको तालमेल तोड्दै एमालेसँग मिलेर जिल्ला समन्वय समितिको उपप्रमुखसहित तीन पद आफ्नो पोल्टामा पार्न सफल भयो । एमाले–माओवादीको यो सहकार्यलाई जिल्लामा बाम एकताको सुरुवातको रूपमा चर्चा गर्न थालिएको छ ।

त्यसो त माओवादीलाई एमालेसँग सहकार्य गर्नबाट रोक्न कांग्रेसले प्रयास नगरेको भने होइन । उसले जिल्ला समन्वयमा उपप्रमुखसहित तीन सदस्य पदमा माओवादीका लागि छोडेको थियो । कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले गठबन्धनप्रति इमान्दार भएकै कारण चार पदमा उम्मेदवारी नदिएको बताए । उनका अनुसार कांग्रेस र माओवादीबीच यसअघि नै लिखित सहमतिसमेत भएको थियो । तर त्यसको कार्यान्वयन भएन । ‘माओवादीले हामीसँग सहकार्यको सहमतिसमेत गरेको थियो’ उनी भन्छन्, ‘सोहीअनुसार हामीले पाँच वटा पदमा मात्रै उम्मेदवारी दिएका हौं, तर माओवादीले इमान्दारिता देखाएन ।’ जिल्ला समन्वयमा सहकार्य टुटेपछि आगामी दिनमा पनि माओवादीसँग तालमेल हुन नसक्ने टिप्पणी कांग्रेसभित्र चल्न थालेको छ । ‘यसरी जाँदा आगामी दिनमा विश्वासको वातावरण बन्दैन’ सुवेदीले भने ।

माओवादीका नेताहरू भने कांग्रेसले स्थानीय निर्वाचनमै इमान्दारिता नदेखाएको आरोप लगाउँछन् । पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण जिसी ‘जितेन्द्र’ ले कांग्रेसले स्थानीय तहको निर्वाचनमा इमान्दारिता नदेखाएका कारण एमालेसँग गठबन्धन गर्नुपरेको बताए । स्थानीय निर्वाचनमा जिसीकै गृहपालिका चिङ्गागमा कांग्रेस–माओवादी तालमेल अन्तिम समयमा तोडिएको थियो ।

समन्वय प्रमुखमा सुनार

जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार गंगाराम सुनार निर्वाचित भएका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का सचिनकुमार बडुवाल विजयी भएका छन् ।

त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल तथा अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकमा सावित्रा टमटे समन्वय सदस्यमा निर्वाचित भएका छन् । उनीहरू सबै माओवादी–एमाले गठबन्धनका उम्मेदवार हुन् ।

कांग्रेसले प्रमुखसहित पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । उसले प्रमुखमा दिलीपकुमार वाग्ले तथा महिला सदस्यहरूमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीको उम्मेदवारी दर्ता गरेको थियो । प्रदेशस्तरमा भएको कांग्रेस–माओवादी सहमतिअनुसार कांग्रेसले अन्य पद माओवादीका लागि छोडेको थियो । तर जिल्लास्तरमा एमालेसँग सहकार्य गर्दै माओवादीले उपप्रमुखसहित तीन पदमा जित हात पारेको छ ।

२०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसले एकलौटी नेतृत्व गरेको थियो । यसपटक एमालेले नेतृत्व पाएको छ । एमालेले प्रमुखसहित अन्य पाँच सदस्य पाउँदा माओवादीले उपप्रमुख र दुई सदस्य पाएको छ ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७९, शनिबार ०५:०२