फोहोर व्यवस्थापनमा बेवास्ता

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले बजारबाट उठाएको फोहोर जथाभावी फाल्ने गरेको पाइएको छ । फोहोरको उचित व्यवस्थापन नभएको भन्दै वीरेन्द्रनगर–१ का बासिन्दाले विरोध जनाएका छन् । नगरले फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि उनीहरूले आइतवार फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकेका हुन् । जहाँ त्यही फोहोर फाल्दा दुर्गन्ध गाउँसम्म आएको र फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ स्थित तारेभिर नजिकै फोहोर फाल्दै आएको छ । अधिकांश फोहोर त्यहाँ नपुग्दै बाटोमै फाल्ने गरिएको भेटिएको हो । सोही ठाउँमा निर्माणाधीन ल्याण्डफिल्ड साइट पनि अझै पूरा भएको छैन । फोहोर व्यवस्थापनमा नगरपालिका बेखबर बनेको स्थानीयको आरोप छ ।

वीरेन्द्रनगर–१ स्थित सिर्जना टोल र गंगटेखोलालगायतका स्थानमा फोहोरको थुप्रो लागेको छ । नगर क्षेत्रबाट उठाएको फोहोरलाई बस्ती नजिकैका सडक किनारा र खोला खाप्सामा फाल्ने गरिएको हो । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नं. १ को माथिल्लो क्षेत्र प्रभावित बनेको छ । सोही ठाउँकी खगिसरा गिरीले सडक छेउछाउमा फोहोरको थुप्रो लागेको र त्यसबाट फैलिएको दुर्गन्धले हिँड्नसमेत समस्या भइरहेको बताइन् । उनले भनिन्, ‘सडक छेउछाउमा फोहोर फाल्दै जान्छन्, नगरपालिकाले निगरानी गर्दैन, हामीलाई निकै सास्ती भएको छ ।’ उनले त्यसरी थुपारिएको फोहोर सडकभरी हुने गरेको बताइन् ।

फोहोर फाल्नुपर्ने स्थानमा नभइ जंगलभर थुपार्ने गरिएपछि स्थानीय आक्रोशित भएका छन् । ल्याण्डफिल्ड साइड निर्माण भइरहेको नजिकै फोहोर फाल्नुपर्ने भएपनि जथाभाबी फाल्दा वन क्षेत्र पनि दुर्गन्धित बनेको छ । घाँस–दाउरा गर्न र गाईबस्तु चराउनसमेत नमिल्ने गरी दुर्गन्ध फैलिएको स्थानीयले बताएका हुन् । फोहोर कृष्ण सामुदायिक वन क्षेत्रमा फाल्ने गरिएको छ । कुहिने, नकुहिने फोहोर नछुट्टयाएरै जथाभाबी फाल्ने गरिएको हो । सामुदायिक वन क्षेत्रमा जताततै फोहार मात्र देखिने गरेको छ । फोहोरको उचित व्यवस्थापन नहुँदा बोट–बिरुवाहरू विनास हुनुका साथै जंगली जनावरसमेत विस्थापित भएको त्यहाँका स्थानीय बताउँछन् । फोहोर संकलनमा भएको सम्झौता कार्यान्वयनमा नगरपालिका चुकेको स्थानीय गोरख रावतले बताए । रावत भन्छन्, ‘नगरपालिकाको लापरबाहीले वडा पूरै दुर्गन्धित भएको छ । जताततै फोहोरबाहेक अरु देख्न सकिन्न ।’ नगरपालिकाले निर्माण गरेको ल्याण्डफिल्ड साइट क्षेत्र पनि डम्पिङ्ग साइड मात्रै भएको उनी बताउँछन् । ल्याण्डफिल्ड साइटसम्म जाने पहुँच मार्गसमेत राम्रो नहुँदा गाडीहरू बाटोमै रोकेर फोहोर फाल्ने गरेको पाइएको छ । त्यहाँसम्म पुग्नलाई भरपर्दो सडक छैन । नगरपालिकाले सडक छेउछाउमा जताततै फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गरी दीर्घकालीन समाधानतर्फ लाग्न स्थानीयले माग गरेका छन् । बाटोमा फोहोर देखिन थालेपछि नगरपालिकालाई पटक–पटक खबरदारी गरे पनि सुनुवाइ नभएको रावतले जनाए । उनका अनुसार फोहोर व्यवस्थित रूपमा फाल्नुपर्ने, वडा नं. १ को फोहोर उठाएको शुल्क लिन नहुने र नगरपालिकाले सम्झौता गरेबमोजिम कार्यान्वयन गर्नुपर्ने माग स्थानीयका छन् । त्यस्तै, फोहोर व्यवस्थापन गर्ने स्थानसम्मको बाटो कालोपत्रे हुनुपर्ने, गंगटे खोलामा पुल बनाउनुपर्ने, फोहोर तोकिएको ठाउँमा नै बिसर्जन गर्नुपर्ने लगायतका माग स्थानीयले नगरपालिकासँग राखेका छन् ।

वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा ल्याण्डफिल्ड साइट निर्माण भइरहेको छ । ल्याण्डफिल्ड साइट निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् । दिसाजन्य लेदो व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण थालिएको हो । २०६७ सालदेखि निर्माणको प्रक्रिया अघि बढाइएको थियो । जग्गा प्राप्तिको प्रक्रिया र आईए, डीपीआरलगायतका काममा ढिलाइ हुँदा समयमै सम्पन्न हुन नसकेको नगरपालिकाले जनाएको छ । अहिले दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माणको काम भइरहेको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । उनका अनुसार प्लान्टमा दिसाजन्य लेदो प्रशोधित गरेर सफा पानी निकाल्ने काम गरिने छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले स्रोतको खोजी गरिरहेको पौडेल बताउँछन् । नगरपालिकाले संघ र प्रदेश सरकारसँग पहिलो प्राथमिकतामा राखेर फोहोर व्यवस्थापनका लागि बजेट माग गरेको उनको भनाइ छ ।

नगरको फोहोर व्यवस्थापनका लागि ३४ करोड बजेट लाग्ने अनुमान गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको बजेटले नभेट्ने भएपछि स्रोतको खोजी गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ल्याण्डफिल्ड साइट तथा फोहोर व्यवस्थापन गर्ने स्थानसम्म पुग्न अहिले बाटो, भवन तथा प्लान्ट निर्माणको काम गरिरहेको छ । असार मसान्तबाट प्लान्ट प्रयोगमा आउने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लेदो व्यवस्थापन प्लान्ट निर्माणका लागि हालसम्म दुई करोड बजेट खर्च गरेको छ । त्यस्तै, पहुँच मार्ग निर्माण तथा स्तरोन्नतिमा नगरले तीन करोड बजेट खर्च गरेको बताइएको छ । कमजोर फोहोर व्यवस्थापनका कारण वीरेन्द्रनगर दिनप्रतिदिन कुरूप र दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले बजार क्षेत्रको फोहोरसमेत समयमै उठान सकिरहेको छैन । नगरले जारी गरेको फोहोरमैला व्यवस्थापन निर्देशिका समेत पूर्णरूपमा कार्यान्वयन भएको छैन । बढ्दो जनसंख्याको चापले वीरेन्द्रनगरमा फोहोर मैला व्यवस्थापन चुनौति बन्दै गएको छ ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७९, मंगलवार ०६:११