लगानीकर्ताको अभावमा बहुमूल्य जडीबुटी खेर
पश्चिम सुर्खेतका लेकाली डाँडाहरूमा पर्याप्त मात्रामा पाइने बहुमूल्य जडीबुटीहरूको संरक्षण र उपयोग नहुँदा करोडौंको आर्थिक स्रोत खेर गइरहेको छ । लगानीकर्ताको अभावका कारण जडीबुटीको उत्पादन, प्रशोधन र बजारीकरण हुन सकेको छैन ।
जैविक विविधतायुक्त चौकुने पहाडका आसपासमा पाइने दुर्लभ जडीबुटीहरूको वैज्ञानिक अनुसन्धान नहुँदा करोडौंको सम्पत्ति छाडा चौपायाको चरन बनेको हो । हालसम्म यस क्षेत्रका बासिन्दा बहुमूल्य जडीबुटीको बारेमा अनभिज्ञ छन् । साथै, सरकारी स्तरबाट समेत कुनै अध्ययन, अनुसन्धान हुन सकेको छैन । यसले हजारौं हेक्टरमा फैलिएको राष्ट्रिय तथा सामुदायिक वनभित्रको बहुमूल्य जडीबुटी खेर गएको छ ।
जुडीबुटीको बजारीकरणसम्बन्धी ज्ञानको कमी छ भने शीप, प्रविधि र व्यावसायिक जनशक्तिको अभाव रहेको छ । परम्परागत हिसाबले पहिचान भएका केही जडीबुटीको सामान्य किनबेच हुने गरे पनि त्यो व्यवस्थित हुन सकेको छैन । आधुनिक प्रविधिबाट जडीबुटीको पहिचान र प्रशोधन गरी बजारीकरण गर्न सके करोडौं रुपैयाँ गाउँ भित्र्याउन सकिने विज्ञहरूको भनाइ छ ।
स्थानीय बासिन्दामा ‘एलोपेथिक’ औषधिप्रति बढ्दो आकर्षणका कारण जडीबुटी खेर गएको हो । जिल्लामा पाइने ३ सय ५० प्रजातिका जडीबुटीमध्ये धेरैजसो पहिचान हुन नसकेर झारपातको रूपमा कुहिएर खेर गइरहेको सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले बताए । जिल्लामा पाइने जडीबुटी औषधिजन्य प्रयोजनका हिसाबले निकै उपयोगी भएको भेरी अञ्चल आयुर्वेदिक औषधालयका डा. महेशकुमार खनाल बताउँछन् । जडीबुटीको पहिचान गरेर उपभोग गर्न सके सामान्य रोगका लागि हजारौं खर्च गरेर एलोपेथिक औषधि सेवन गर्नु नपर्ने उनको भनाइ छ ।
आफ्नो क्षेत्रमा पाइने बहुउपयोगी जडीबुटीको सदुपयोगका लागि गुटु गाउँका बासिन्दाले प्रशोधन केन्द्र स्थापना गर्न सरकारसँग माग गरेका छन् । समुद्र सतहबाट ४ सयदेखि १ हजार ७ सय २७ मिटर उचाइको उक्त जङ्गलको क्षेत्रफल करीब ५ हजार ५ सय हेक्टर छ । यहाँ पहाडी क्षेत्रमा पाइने विभिन्न जातिका वनस्पति र वन्यजन्तु समेत पाइन्छ ।
यस क्षेत्रमा सबैभन्दा बढी पाइने वनस्पति टिमुर हो । यसबाहेक काउलो, तेजपत्ता, दालचिनी, समयो, जटामसी, सुनाखरी, विषजरा, सतुवा, सुनगाभा, भुतले, कुटकी जस्ता जडीबुटी पाइन्छन् । त्यस्तैरु बोजो, चिराइतो, जामुने, मान्द्रो, लोठ सल्ला, उकु डाइना, सतुवा, कुरिलो, पाखनबेत, वनलसुन, सिलाजीतलगायत बहुमूल्य जडीबुटी अधिक पाइने स्थानीय बासिन्दा बताउँछन् ।
जिल्ला वन कार्यालयका अनुसार नेपालमा पाइने २ सय १८ प्रजातिका जडीबुटीमध्ये सुर्खेतका जङ्गलमा १ सय ५७ प्रजाति पाइन्छन् । लगानीकर्ताको अभावमा जङ्गलमा पाइने जडीबुटीको व्यावसायिक सङ्कलन र विक्री हुन नसक्दा राज्यको आयस्रोत गुमेको जिल्ला वन अधिकृत हेमराज विष्टले बताए । जडीबुटीमा सम्भावना भए पनि विभिन्न कारणले लगानीकर्ताहरू जडीबुुटीको व्यापारतर्फ आकर्षित हुन नसकेको सुर्खेत उद्योग वाणिज्य सङ्घको भनाइ छ । सङ्घका अनुसार जडीबुुटीको असन्तुलित बजार, व्यावसायिक सुरक्षा, पूर्वाधार, जडीबुटीको परिणामसम्बन्धी तथ्याङ्क र स्थानीयवासीमा चेतनाको अभावजस्ता समस्या छन् । त्यसैले, जडीबुटीलाई आयस्रोतको रूपमा विकास गर्न केन्द्रीयस्तरबाट स्पष्ट नीति बनाई सम्भाव्यता अध्ययन गर्नुपर्ने सङ्घका अध्यक्ष प्रकाश अधिकारी बताउँछन् । अनि मात्र लगानीकर्ता आकर्षित हुने र राज्य तथा स्थानीय बासिन्दालाई फाइदा पुग्ने उनको भनाइ छ ।
अभियानबाट
प्रकाशित मितिः १४ पुष २०७३, बिहीबार १२:३२
साझा बिसौनी ।