कस्तो नेतृत्व चुन्दैछन् वीरेन्द्रनगरका मतदाता ?

सुर्खेत: स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न पाँच दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै मतदाताहरू जनप्रतिनिधि चुन्न उत्साहित भएका छन् । उम्मेदवारले घरदैलो कार्यक्रम र प्रतिबद्धताहरू सार्वजनिक गरिसकेकाले मतदातालाई कुन उम्मेदवार कस्तो भन्ने मोटामोटी जानकारी भइसकेको छ । कसलाई भोट दिने भन्ने निधो मतदाताले गरिसकेका छन् । स्थानीय तहको चुनाव वैशाख ३० गते हुँदैछ । सोहीदिन मतदाताले नजिकको सरकारको नेतृत्व चुन्नेछन् ।

वीरेन्द्रनगर–६ का गणेशबहादुर थापाले यसपटक युवा उम्मेदवारलाई भोट हाल्ने मनसाय बनाएका छन् । ७५ वर्षीय उनी जनप्रतिनिधि चुन्ने दिन नजिकै आएपछि आफू निकै उत्साहित बनेको बताउँछन् । ‘जुनसुकै पार्टीको भएपनि मैले त यसपालि युवा उम्मेदवारलाई भोट दिने सोच बनाएको छु,’ उनी भन्छन्, ‘स्थानीय सरकारको नेतृत्व युवाको काँधमा नआइ विकास हुने देखिएन ।’ थापाले स्थानीय जनप्रतिनिधिसँग गाउँ–ठाउँको विकास गर्ने योजना हुनुपर्ने बताए । त्यस्ता योजना र कार्यान्वयन गर्न सक्ने इच्छाशक्ति युवापीढिसँग हुने उनको विश्वास छ । थापा २०७४ को स्थानीय तह निर्वाचनमा गरेका बाचा पूरा नगर्ने जनप्रतिनिधिलाई भने युवा भएपनि यसपटक ठाडैँ अस्वीकार गर्ने पक्षमा छन् ।

वीरेन्द्रनगर–४ कि ४० वर्षीय सम्झना चालिसे आश्वासन र बाचा सबैका उस्तै भएकाले योग्य व्यक्ति छनोटमा कठिन हुने गरेको बताउँछिन् । उनले पनि यसपटक कसलाई भोट दिने भन्ने सोच बनाइसकेकी छन् । ‘अहिले कुरा सबैका राम्रै हुन्छन्,’ उनले भनिन्, ‘जिते भने काम पो गर्छन् कि गर्दैनन् ।’ नेताको बोलीमा खासै विश्वास नगर्ने उनी यसपालि आफूले महिलाको हक अधिकारका सवालमा काम गर्ने योजना भएका उम्मेदवारलाई मतदान गर्ने सोचमा छन् । ‘भौतिक पूर्वाधारको विकासमा धेरैले जोड दिएको देखियो,’ उनी भन्छिन्, ‘मुख्य सवाल त सामाजिक विकासको हो ।’ सामाजिक विकासका एजेन्डा बोकेका उम्मेदवारले नगरको नेतृत्व गर्न पाए समग्र विकास सम्भव हुने उनको बुझाइ छ । एजेन्डासँगै उनको पनि पहिलो रोजाइँमा भने युवा उम्मेदवार छन् । चालिसे भन्छिन्, ‘यो पटक पार्टी होइन नेतृत्व गर्नसक्ने योग्य व्यक्ति हेरिन्छ ।’ पार्टीभन्दा पनि माथि उठेर रोजगार, स्वास्थ्य, शिक्षालगायतका सवालमा काम गर्ने नेतृत्व आउनुपर्ने उनको भनाइ छ ।

धेरैजसो मतदाताले कसलाई भोट दिने भन्ने निक्र्याैल गरे पनि केहीलाई भने अझै दोधार छ । ‘नेतृत्व चुन्ने भन्ने कुरा गाह्रो रहेछ, हामी चुनावमा जति उत्साहित हुन्छौँ त्यति नै संयमित पनि बन्नुपर्छ,’ वीरेन्द्रनगर–६ का ८५ वर्षीय दीर्घ बुढाक्षेत्री भन्छन् । उनले गलत व्यक्तिलाई जनप्रतिनिधि चुने त्यसको असर सबै क्षेत्रमा पर्ने बताए । युवा नेतृत्व चुन्न रुचाउने उनी झुठा आश्वासन बाँड्नेदेखि सचेत हुनुपर्ने बताउँछन् । ‘धेरै नेता कार्यकर्ताको काम गर्ने शैली हेरियो, भोट माग्ने बेला झुठा बाचा गर्छन् । जितेपछि वास्तै गर्दैनन्,’ उनले भने, ‘त्यस्ता नेतालाई अब दोहोरिन दिनु हुँदैन ।’

गएको स्थानीय तह निर्वाचनमा विश्वास गरेर चुनेका कतिपय जनप्रतिनिधिले अपेक्षाअनुसार काम नगरेको केही मतदाताको गुनासो छ । वीरेन्द्रनगर–१२ कि सीताकुमारी ढकाल गफ कम काम बढी गर्ने जनप्रतिनिधि चाहिएको बताउँछिन् । चुनाव जितिसकेपछि उम्मेदवारहरूमा देखिएको परिवर्तनले आफूलाई छक्क पार्ने गरेको उनले सुनाइन् । ‘जितेपछि स्वभाव र शैली नै फेरिन्छ,’ उनले भनिन्, ‘अघिल्लो पटक मत दिएर जिताएकाको व्यवहारले निराश बनाएको छ ।’ उनले राजधानी नगरमा व्यवस्थित सडक, खानेपानीलगायतका क्षेत्रमा विगतका जनप्रतिनिधिले आशा गरेअनुरूप काम गर्न नसकेको जनाइन् । ढकाल यसपटक निकै ख्याल गरेर मत हाल्ने विचारमा छिन् । ‘पूरा गर्न सकिने विकासको एजेन्डा अघि सारेका उम्मेदवारलाई मात्रै मेरो भोट जान्छ,’ उनले भनिन् ।

वीरेन्द्रनगरमा अहिलेलाई ठूला–ठूला विकासका खाका कोर्ने नभइ राजधानीको आधारभूत पूर्वाधार स्थापना गर्न सक्ने नेतृत्व आवश्यक रहेको मतदाताहरूले बताएका छन् । जनप्रतिनिधिका झुठा आश्वासनले आजित भएका मतदाता अब महत्वाकांक्षीभन्दा सहजै गर्न सकिने प्रतिबद्धता जनाउनेलाई विश्वास गर्ने बताउँछन् । अधिकांश मतदाताको भनाइ छ, ‘नगरलाई हरेक हिसाबले सुविधा सम्पन्न बनाउने नेतृत्व चाहिएको छ ।’ मतदाताले नगर हाँक्ने योग्य व्यक्ति चयन गर्न खोजे पनि राजनीतिक दलका घोषणा र प्रतिबद्धताले भने उनीहरूलाई झुक्याउने गरेका छन् ।

प्रकाशित मितिः   २६ बैशाख २०७९, सोमबार ०५:०५