राजधानी नगरमा सबैको नजर

सुर्खेत: स्थानीय निर्वाचन नजिकिएसँगै सम्भावित परिणामबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ । वैशाख ३० मा हुने निर्वाचनमा कुन दलका उम्मेदवारले जित्छन् भन्ने चर्चा सुरु भएको हो । कर्णालीका ७९ स्थानीय तहमध्ये प्रदेश राजधानीसमेत भएकाले वीरेन्द्रनगरमा सबैको विशेष चासो छ । खासगरी ठूला राजनीतिक दलहरूले वीरेन्द्रनगरलाई महŒवका साथ हेरेका छन् । नेकपा ‐एमाले) र नेपाली कांग्रेस यतिबेला वीरेन्द्रनगरमा बढी नै केन्द्रित देखिन्छन् । राजधानी नगरको हार–जित दलहरूका लागि प्रतिष्ठाको विषय बनेको छ ।

६७ हजार मतदाता रहेको वीरेन्द्रनगरमा १६ वटा वडा छन् । अघिल्लो स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा मुख्य प्रतिस्पर्धी दल एमाले र कांग्रेस हुन् । यहाँ नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीको जनमत पनि राम्रै भएको मानिन्छ । वीरेन्द्रनगरको चुनावी मैदानमा यसपटक नेकपा ‐एकीकृत समाजवादी) पनि थपिएको छ । वीरेन्द्रनगरमा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् भने अरु दलहरू एक्ला–एक्लै भिड्दैछन् । कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुखमा संयुक्त उम्मेदवार उठाएका छन् । प्रतिस्पर्धी दलले नगरमा तेस्रो जनमत भएको पार्टीसँग तालमेल गरेपछि एमालेलाई चुनौती थपिएको छ । कांग्रेस आफैभित्र एकढिक्का नभएको अवस्थामा माओवादीको साथले मात्रै चुनावी परिणाम अनुकूल नहुने हो कि भन्ने भयमा समेत देखिन्छ । यस्तो परिस्थितिमा राप्रपा र एकीकृत समाजवादीले काट्ने भोट निर्णायक ‘फ्याक्टर’ बन्न सक्ने कतिपयको विश्लेषण छ ।

केही दिनयतादेखि दलहरूले उम्मेदवारसहित घरदैलो र चुनावी कोणसभाहरू गरिरहेका छन् । दलका चुनावी अभियान र कार्यक्रममा देखिएको उपस्थितिले पनि मतपरिणाबारे आ–आफ्नै जोडघटाउ सुरु भएका छन् । एमाले आक्रामक रूपमा चुनावी अभियानमा लागेको देखिन्छ भने कांग्रेस मसिनो तरिकाले पार्टीभित्रको असन्तुष्टि मिलाउने प्रयास गरिरहेको छ । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेकाले कांग्रेस दुई पार्टीको आन्तरिक शक्ति पनि जाँच्दै छ । विगतमा कमजोर राप्रपा अहिले केही सुदृढ बनेको आकलन गरिएको छ । त्यस्तै, निर्वाचनमा पहिलो पटक सहभागी भएको नयाँ दल एकीकृत समाजवादीले आफूलाई नगरमा यसैपटक परीक्षण गर्दैछ । विगतका निर्वाचन परिणामअनुसार वीरेन्द्रनगरका मतदातास्थिर रहेको देखिन्छन् । केही मत तलमाथि भएपनि एमाले र कांग्रेसकै उम्मेदवारले नगरको नेतृत्वमा बाजी मार्ने जानकारहरू बताउँछन् । गएको स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको प्रमुखसहित ६ वडा कांग्रेस र उपप्रमुखसहित नौ वडा एमाललेले तथा एउटा वडा माओवादी केन्द्रले जितेको थियो । राप्रपाको भने अघिल्लो स्थानीय तह निर्वाचनमा न्यून प्रभाव देखिएको थियो ।

एमाले र कांग्रेसबाट उम्मेदवार बनेकाहरू आफूहरूसँग विगतको गर्विलो इतिहास भएकाले जित्ने दाबी गरिरहेका छन् भने राप्रपा र एकीकृत समाजवादी पनि यसपटक राम्रै प्रभाव देखाउने बताउँछन् । वीरेन्द्रनगरमा दलहरूले सैद्धान्तिक भोटबाहेक उम्मेदवारका कारण लोकप्रिय भोटसमेत ल्याउने अनुमान गर्न थालिएको छ । एमालेले मोहनमाया ढकाललाई नगर प्रमुख र उपप्रमुखमा निलकण्ठ खनाललाई उम्मेदवार बनाएको छ । ढकाल नेकपा ‐एमाले) कि केन्द्रीय सदस्य र यसअघिकी उपप्रमुख पनि हुन् । खनाल एमाले नगर कमिटी अध्यक्ष तथा गएको निर्वाचनमा वडा नं. ४ का निर्वाचित अध्यक्ष हुन् ।

त्यस्तै, कांग्रेस र माओवादी केन्द्रले कांग्रेसका नगर कमिटी अध्यक्ष उपेन्द्र खड्कालाई प्रमुख र माओवादी केन्द्रकी शान्ति ढकाललाई उपप्रमुखको साझा उम्मेदवार बनाएका छन् । विगतमा वीरेन्द्रनगरको नगर प्रमुख भइसकेका मुकुन्दश्याम गिरी राप्रपाबाट प्रमुखको उम्मेदवार छन्् । उनी राप्रपाका प्रभावशाली नेतासमेत मानिन्छन् । राप्रपाले वीरेन्द्रनगरको उपप्रमुखमा लक्ष्मीकुमारी विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले धना शाहीलाई प्रमुख र वीरबहादुर रावतलाई उपप्रमुखको उम्मेदवार उठाएको छ । सबै दलबाट राजनीति र स्थानीयस्तरमा प्रभाव रहेका व्यक्तिहरू उम्मेदवार बनेकाले पनि वीरेन्द्रनगरको चुनावी परिमाण यसपटक थप रोचक बन्ने देखिएको छ ।

एमालेबाट नगर प्रमुखको उम्मेदवार बनेकी मोहनमाया ढकाल पार्टीको लोकप्रियता र आफ्नो कार्यक्षमताका आधारमा जित सुनिश्चित रहेको दाबी गर्छिन् । ‘मैले उपप्रमुखको भूमिकामा रहेर पाँच वर्ष नगरमा काम गरेको छु,’ उनले भनिन्, ‘त्यसको मूल्याङ्कन गरेर नगरबासीले यसपटक नगर प्रमुखमा विजयी गराउने विश्वासमा छु ।’ पछिल्लो समय नगरमा एमालेको संगठनसमेत थप मजबुत भएको उनको जिकिर छ ।

कांग्रेस र माओवादी केन्द्रबाट उपप्रमुखको साझा उम्मेदवार बनेकी शान्ति ढकालले आफूहरू संयुक्त रूपमा चुनावी अभियानमा लागेको जनाइन् । नगरमा दुवै पार्टीको बलियो प्रभाव रहेकाले सहज जित्न सकिने उनको दाबी छ । कांग्रेस र माओवादी केन्द्रबीच नगरको प्रमुख र उपप्रमुखमा तालमेल गरिएपनि वडाहरूमा भने आ–आफ्नै उम्मेदवार छन् । यसले गर्दा पनि नगरको मत परिणाम आकलन गरेभन्दा फरक आउन सक्ने अनुमान हुन थालेका छन् । ढिलै भएपनि वडामा समेत तालमेलको प्रयास जारी रहेको कांग्रेस र माओवादी केन्द्रका नेताहरूले  बताएका छन् ।

एकीकृत समाजवादीबाट नगर प्रमुखको उम्मेदवार बनेकी धना शाही आफूहरू योजनाबद्ध रूपमा चुनावी अभियानमा लागेकाले परिणाम पक्षमा पर्ने विश्वासमा रहेको बताउँछिन् । उनले भनिन्, ‘हामी नयाँ दल पनि हो, पुराना पार्टीहरूबाट आजित नगरबासीले विकल्प खोजेका छन् । यसकारण पनि हाम्रो पक्षमा जनमत सिर्जना हुने अपेक्षा छ ।’ वीरेन्द्रनगरमा वडादेखि पालिकासम्म विभिन्न पदमा केही व्यक्तिले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् । चुनावी प्रचार र प्रभावका हिसाबले उनीहरूले भने न्यून मत मात्रै काट्ने आकलन गरिएको छ ।

प्रकाशित मितिः   १९ बैशाख २०७९, सोमबार ०९:४७