उम्मेदवारका प्रतिबद्धता
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । देश नै निर्वाचनमय भएको छ । स्थानीय सरकार सञ्चालनका लागि नागरिकले आफ्नो मतमार्फत जनप्रतिनिधि चुन्दैछन् । चुनिएका जनप्रतिनिधिले पाँच वर्ष स्थानीय सरकारको नेतृत्व गर्नेछन् । नागरिकको सबैभन्दा नजिकका सरकारको नेतृत्व चयन हुने भएकाले पनि निर्वाचनको आफ्नै महङ्खव छ । यसमा हरेक नागरिकको सहभागिता महङ्खवपूर्ण हुन्छ । संविधान प्रदत्त अधिकारको कार्यान्वयन गर्नसक्ने, नागरिकका आकांक्षा र स्थानीय आवश्यकतालाई नजिकबाट बुझ्ने तथा सुशासनको प्रत्याभूति दिलाउने नेतृत्वको खाँचोलाई आम नागरिकले महसुस गरेका छन् । विगतका जनप्रतिनिधिहरूको नेतृत्वमा स्थानीय सरकारले प्रदान गरेका सेवाको मूल्यांकन पनि नागरिकले गरेकै छन् । त्यसैले यो निर्वाचन अझ रोचक र विशेष हुनसक्ने छ ।
सरकार निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको छ । निर्वाचन आयोगको त्यसैमा लागेको छ । मतदानको मिति नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारलाई भोट माग्ने चटारो छ । आफ्नो पार्टी र उम्मेदवारको पक्षमा जनमत जुटाउन नेता कार्यकता चुनावी अभियानमा व्यस्त छन् । चुनावको मुखमा मतदाता फकाउन उम्मेदवारसहित घरदैलो सुरु भएको हो । केही उम्मेदवारले एकसरो मतदाता भेटिसकेका छन् भने कतिपय घरदैलो गर्ने तरखरमा छन् । विगतमा झैं यसपटक पनि उम्मेदवारहरू लिखित आश्वासन बोकेर मतदाताको घर आँगनमा पुगेका छन् । मतदाता रिझाउन आश्वासको नाम दिइएको छ, प्रतिबद्धता–पत्र । केही दलले केन्द्रबाट घोषणापत्र सार्वजनिक गरेका छन् भने स्थानीय तहस्तरीय प्रतिबद्धतापत्र समेत सार्वजनिक भइरहेका छन् । घोषणा वा प्रतिबद्धतापत्र उम्मेदवारका योजना नागरिकसमक्ष पु¥याउने एक तरिका हो । यसले मतदातालाई कस्तो उम्मेदवारलाई मत दिने भन्ने निर्णय गर्न त सघाउँछ नै सँगसँगै निर्वाचित भएर आउने जनप्रतिनिधिलाई आफ्नो कार्यकालमा गर्नुपर्ने काम, दायित्व र जिम्मेवारी बोधसमेत गराउँछ । त्यसैले प्रतिबद्धतापत्रको ठूलो महङ्खव छ । यद्यपि यसको उपयोग तथा सदुपयोग भने हुन सकेको छैन ।
प्रतिबद्धतापत्रलाई निर्वाचनअघि मतदाता रिझाउने औजारका रूपमा मात्रै लिने गरिएको छ । जसले गर्दा आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रतिबद्धता जनाउने, पूरा हुन नसक्ने औधि महत्वाकांक्षी योजना बनाउने प्रवृत्ति विगतदेखि नै देखिदै आएको छ । यसपटक पनि त्यसले निरन्तरता पाएको छ । प्रतिबद्धता मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीति त हो नै, त्यससँगै स्वयम् उम्मेदवारको उत्तरदायित्वको लिखित दस्तावेज पनि हो । त्यसैले प्रतिबद्धता हेरेर उम्मेदवार जाँच्ने तथा निर्वाचित भएपछि प्रतिबद्धता कार्यान्वयन गराउन दबाब बनाउने दायित्व आम मतदातामा निहित छ ।
प्रकाशित मितिः १९ बैशाख २०७९, सोमबार ०५:०३
सम्पादकीय ।