स्थानीय सरकारको नेतृत्व हाँक्न हानथाप

कर्णालीमा १३ हजार चार सय तीन जनाको मनोनयन दर्ता, अघिल्लो निर्वाचनभन्दा पाँच सय बढी उम्मेदवारी

सुर्खेत: स्थानीय तह निर्वाचनका लागि कर्णाली प्रदेशका ७९ पालिकामा विभिन्न पदमा १३ हजार बढीले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको मंगलवार साँझसम्मको अद्यावधिक विवरणअनुसार सो संख्यामा मनोनयन दर्ता भएको हो । प्रदेशभर प्रमुुख, अध्यक्ष, उपप्रमुुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी १३ हजार चार सय तीन जनाल उम्मेदवारी दिएका हुन् ।

आइतवार र सोमवार भएको मनोनयन दर्तामा प्रमुुख पदमा दशवटै जिल्लामा एक सय ७६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, अध्यक्ष पदका लागि प्रदेशभर तीन सय आठ जनाले मनोनयन दर्ता गराएका छन् । उपप्रमुुख पदमा एक सय ६० र उपाध्यक्षमा दुुई सय ८८ जना उम्मेदवार बनेका हुन् । कर्णालीमा ५४ गाउँपालिका र २५ नगरपालिका रहेका छन् । प्रदेशभर सात सय १८ वटा वडा छन् । वडा अध्यक्षका लागि तीन हजार दुुई सय सात जनाको उम्मेदवारी परेको छ । वडाहरूमा दुुई हजार तीन सय २८ जनाले महिला सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ । दलित महिला सदस्यमा भने एक हजार नौ सय ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

हुम्लाका दुई वटा पालिकाका तीन वडामा दलित महिला सदस्यका लागि उम्मेदवारी नै परेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले नाम्खा गाउँपालिकाको १ र ६ वडा तथा चंखेली गाउँपालिकाको वडा नम्बर ५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको जनाएको छ । ती वडामा दलित समुदायको बसोबास नभएकाले मनोनयन दर्ता नभएको बताइएको छ । सात गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा छन् । कर्णाली प्रदेशभर सदस्यहरूमा चार हजार नौ सय ३८ जनाले उम्मेदवारी दिएका छन् ।

स्थानीय तह निर्वाचनमा यसपटक मनोनयन दर्ता गराउनेको संख्या बढेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार गएको निर्वाचनभन्दा यसपालि कर्णालीमा पाँच सय १० जना बढीले उम्मेदवारी दिएका हुन् । २०७४ को स्थानीय निर्वाचनमा १२ हजार आठ सय ९३ जनाको मनोनयन परेका थिए । त्यसमध्ये चार सय ८६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । तीन जनाको उम्मदवारी रद्द भएको थियो ।

नौ वटा स्थानीय तह रहेको सुुर्खेतमा दुुई हजार दुुई सय १३ जनाले जनप्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएको वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुर्खेतमा नगर प्रमुुखमा ४८, गाउँपालिका अध्यक्षमा २३, नगर उपप्रमुुखमा ४१ र गाउँपालिका उपाध्यक्षमा २३ जनाको उम्मेदवारी परेको छ । यहाँ पाँच नगरपालिका र चार गाउँपालिका रहेका छन् भने ९९ वटा वडा छन् । अन्य पालिकाको तुलनामा वीरेन्द्रनगरमा धेरै संख्यामा उम्मेदवारी परेको जनाइएको छ । यो नगरमा वडा र पालिकाका विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि बढी छ ।

त्यस्तै, सल्यानमा एक हजार ६ सय ५० जनाले स्थानीय तहको जनप्रतिनिधिमा मनोनयन दर्ता गराएको निर्वाचन आयोगको विरणमा छ । दश वटा स्थानीय तह रहेको सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका छन् भने ८३ वटा वडा रहेका छन् । नगर प्रमुुख पदका लागि १५ र गाउँपालिका अध्यक्षमा ३७ जनाको उम्मेदवारी परेको छ । नगर उपप्रमुखमा १७ र उपाध्यक्षमा ३५ जनाले मनोनयन दिएका हुन् । ११ वटा स्थानीय तह रहेको दैलेखमा एक हजार नौ सय ७८ जनाको उम्मेदवारी परेको छ । दैलेखमा चार नगरपालिका र सात वटा गाउँपालिका छन् भने ९० वटा वडा रहेका छन् । नगर प्रमुुख पदमा २६ र गाउँपालिका अध्यक्षमा ५१ जनाको मनोनयन दर्ता भएको हो । दैलेखमा उपप्रमुुखमा २६ र उपाध्यक्षमा ३९ जनाले उम्मेदवारी दिएका छन् । तीन गाउँपालिका र तीन नगरपालिका रहेको रूकुुम–पश्चिममा एक हजार ८१ जनाको उम्मेदवारी दर्ता भएको तथ्याङ्क छ । उक्त जिल्लामा नगर प्रमुुखमा २०, गाउँपालिका अध्यक्षमा १८, उपप्रमुुखमा १६ र उपाध्यक्षमा १२ जनाले उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगका अनुसार तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा एक हजार तीन सय ४१ जनाले जनप्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यहाँ नगर प्रमुुखमा १५, अध्यक्ष १९, उपप्रमुुख १२ र उपाध्यक्षमा १९ जनाको मनोनयन परेको हो । यस्तै, डोल्पामा वडा र पालिकाका विभिन्न पदमा गरी सात सय १७ जनाले उम्मेदवारी दिएको त्यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुुई नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा नगर प्रमुुखमा १२ र गाउँपालिका अध्यक्षमा पनि १२ जनाको उम्मेदवारी परेको छ । नगर उपप्रमुुखमा १५ र गाउँपालिका उपाध्यक्षमा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जुुम्लामा एक हजार चार सय १६ जनाको उम्मेदवारी परेको छ । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । यो जिल्लामा नगरप्रमुुखमा नौ, गाउँपालिका अध्यक्षमा ५०, नगर उपप्रमुुखमा आठ र गाउँपालिका उपाध्यक्षमा ५२ जनाले उम्मेदवारी दिएका छन् । तीन नगरपालिका तथा ६ गाउँपालिका रहेको कालीकोटमा एक हजार सात सय ३२ जनाले जनप्रतिनिधिका लागि उम्मेदवारी दिएको जनाइएको छ । विवरणअनुसार प्रमुुखमा २३, अध्यक्षमा ५३, उपप्रमुखमा १९ र उपाध्यक्षमा ४६ जनाले मनोनयन दर्ता गरेका छन् ।

एक नगरपालिका र तीन गाउँपालिका रहेको मुुगुुमा पाँच सय ८५ वटा मनोनयन दर्ता भएका छन् । नगर प्रमुुखमा आठ र गाउँपालिका अध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुुखमा ६ र उपाध्यक्षमा १५ जनाले मनोनयन दिएका हुन् । नगरपालिकाविहीन रहेको हुुम्लाका सात वटा गाउँपालिकामा ६ सय ९० जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको विवरणअनुसार त्यहाँ अध्यक्षमा २९ र उपाध्यक्षमा ३५ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ता सम्बन्धित पालिकामा रहेका निर्वाचन अधिकृतका कार्यालयहरूमार्फत गरिएको हो । उम्मेदवारीमाथि दाबी बिरोधका लागि वैशाख १६ गतेसम्मको समय निर्धारण गरिएको छ । कर्णालीमा सबै स्थानीय तहमा मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाइएको छ ।

प्रकाशित मितिः   १४ बैशाख २०७९, बुधबार ०५:१०