हस्तक्षेपकारी भूमिकामा महिला, भान्सादेखि विकास निर्माणसम्म

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ फागुन । 
लेखपराजुल–३ मा वडा नागरिक मञ्च गठनको लागि भेला आयोजना गरिएको थियो । मञ्चको नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूले आ–आफ्नै प्रतिनिधि अघि सारेका थिए । तर भेलामा सबैको सहमतिमा अध्यक्ष चुन्ने कुरा उठ्यो । ‘कोही छ, अध्यक्ष बन्न चाहने ?’ भनेर सोध्दा सबैभन्दा पहिला रत्नी रानामगरले हात उठाइन् । रत्नी अध्यक्षको लागि अघि सर्दा त्यहाँ उपस्थित धेरैले अचम्म माने । कतिपयले त रत्नीले अध्यक्ष बनेर काम गर्न सक्दिनन् समेत भने । तर उनी पछि हटिनन्, उनलाई अरु महिलाहरूको पनि साथ थियो । एकातर्फ राजनीतिक दलहरू आफू निकट व्यक्तिलाई अध्यक्ष बनाउने कसरतमा थिए भने गाउँका अन्य व्यक्तिहरू पनि महिलाले नेतृत्व गर्न सक्दैनन् भनिरहेका थिए । तर रत्नीले अड्डि कसिन् । अध्यक्ष महिलाले नै पाउनुपर्ने दावी गरिन् । अन्ततः अरु सबैपछि हटे उनी अध्यक्ष बन्न सफल भइन् ।
रत्नीलाई वडा नागरिक मञ्चको अध्यक्ष बन्न सजिलो थिएन । आफ्नो आँट र अरु महिलाहरूको साथ र हौसलाले उनलाई उक्त पदमा पुग्न प्रेरणा दिएको थियो । ‘पुरुषहरूले हामी महिलाहरूले केही गर्न सक्दैनन् भन्थे, सबै उनीहरूले नै चलाउँथे’ रत्नीले भनिन्, ‘मैले अध्यक्षका लागि हात उठाउँदा सबै पुरुषहरू जिल्ल परेका थिए ।’ गाउँमा वडा नागरिक मञ्च गठन गर्ने चर्चा सुरु भएदेखि नै रत्नीसहितका महिलाहरूले नेतृत्व महिलाले पाउनुपर्ने दावी गर्न थालेका थिए । तर पुरुषहरूले आलटाल गर्दै आएका थिए । त्यसपछि सामुदायिक छलफल केन्द्रमा सहभागी महिलाहरूले छलफल केन्द्रमै वडा नागरिक मञ्चको नेतृत्वमा महिलाले कसरी पाउने भन्नेबारे छलफल गरे । सबैले रत्नीलाई अध्यक्षका लागि अघि सार्ने निर्णय गरे । सोही निर्णय अनुसार उनले हात उठाएकी थिइन् । उनलाई छलफल कक्षाले नै स्थानीय निकायका संरचनाको नेतृत्व गर्ने आँट र साहस प्रदान गरेको हो । 
आ–आफ्ना छुट्टाछुट्टै प्रतिनिधि अघि सारेका विभिन्न राजनीतिक दलहरू एकै ठाउँमा हुँदा पनि छिन्चुकी डिला खड्काले उनीहरूलाई पछि पार्दै गाउँमा बन्न लागेको सडक निर्माण उपभोक्ता समितिको अध्यक्ष भएरै छोडिन् । उनी अध्यक्ष मात्र भइनन्, यसअघि पुरुषहरू नेतृत्वमा हुँदाको भन्दा राम्रो काम गरेर प्रशंसा समेत बटुलिन् । उनले समयमै काम सम्पन्न गरिन् । हिसाब किताब पारदर्शी देखाइन् । जसले गर्दा विगतमा उनको विरोध गर्दै अध्यक्ष बनाउनुहुन्न भन्ने पुरुषहरू नै उनको प्रशंसा गर्न बाध्य भए । राजनीतिक जगजगीकाबीच पनि डिला लगायत यहाँका सामुदायिक छलफल कक्षामा आवद्ध महिलाहरूले सडक आयोजनाको नेतृत्व लिएर जिम्मेवारी पूरा गर्न सफल भए । त्यतिमात्र होइन उनीहरूले नागरिकता बनाउन घर दैलो अभियान सञ्चालन गर्नेदेखि विकृति र विसंगति विरुद्ध पनि विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । 
रत्नी र डिला त प्रतिनिधि पात्र मात्रै हुन्, पछिल्लो समय पुरुषहरूलाई टक्कर दिँदै स्थानीय निकायका संरचनाहरूमा महिला सहभागिता बढ्दो छ । यसअघि घरको चुलाचौका र मेलापातमा सीमित महिलाहरू त्यहाँबाट बाहिर समाजको नेतृत्व गर्न सफल भएका छन् । गाउँका हरेक सामाजिक कार्यमा उनीहरू नेतृत्व लिन अघि सर्छन् । यसले स्थानीय संरचनाहरूमा महिलाहरूको अर्थपूर्ण र हस्तक्षेपकारी सहभागिता बढ्दै गएको देखिन्छ । अक्सफामको सहयोगमा सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) ले पूर्वी सुर्खेतको पाँच गाविसमा सामुदायिक छलफल केन्द्र सञ्चालन गरेको छ । छलफल केन्द्रमा सहभागी महिलाहरू महिला हिंसा अन्त्य गर्नुका साथै हरेक निकायमा महिलाहरूको अर्थपूर्ण सहभागिताका विषयमा छलफल गर्ने गर्दछन् । उनीहरू गाउँमा कुनै विकास निर्माणको योजना आउँदा महिलाहरू एकजुट भएर त्यस्ता आयोजनाको नेतृत्व लिन अघि सर्छन् । ‘पहिला पहिला हामीलाई कसैले पत्याउँदैन थिए’ डिलाले भनिन्, ‘हामीले राम्रा काम गर्दै गएपछि अचेल भने पुरुषहरूले पनि सहयोग गर्न थालेका छन् ।’
प्रकाशित मितिः   २० फाल्गुन २०७२, बिहीबार १२:३३