खानेपानीको संकट

प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानीको पर्याप्त स्रोत छैन । स्रोत न्यून हुँदा बर्सेनि खानेपानीको संकट हुने गरेको छ । विशेष गरेर गर्मी मौसममा पानीको समस्याले सधैँ सताउँछ । यो समयमा एकातर्फ पानीको स्रोत घटेको हुन्छ भने अर्कोतर्फ सबैभन्दा बढी पानीको खपत हुने मौसम यही हो । जसका कारण खानेपानीको संकट चुलिने गरेको छ । उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार पानी पु¥याउन सकेको छैन । संस्थाले हाल झुप्राखोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गरिँदै आएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताका धारामा आलोपालो प्रणालीबाट पानी वितरण हुँदै आएको छ ।

गर्मीयाम सुरु भएसँगै यस वर्ष पनि वीरेन्द्रनगरमा खानेपानीको अभाव चुलिँदै गएको छ । अहिले वीरेन्द्रनगर उपत्यकाका अधिकांश वडामा पानीको अभाव छ । धारामा पानी नआउने भएपछि उपत्यकाबासीलाई बजारबाट पानी किनेर खानुपर्ने अवस्था छ । संस्थाका अनुसार हाल ४८ घण्टामा एक पटक एक घण्टाका दरले प्रत्येक धारामा खानेपानी वितरणको व्यवस्था मिलाइएको छ । तर उपभोक्ताहरू पनि चार÷पाँच दिनसम्म पनि धारमा पानी नआउने गरेको बताउँछन् । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । जसका कारण उक्त सिजनमा ९६ घण्टाको पालो लगाएर पानी वितरण गर्ने गरिएको छ । उपत्यकामा एक सय ५७ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति हुने गरेको छ । पानीको माग भने आपूर्तिभन्दा दोब्बरले बढी छ । उपत्यकामा अहिले दुई सय ५७ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ । वीरेन्द्रनगरमा बर्सेनि आठ सयदेखि एक हजारसम्म घरधुरी थपिने गरेका छन् । वीरेन्द्रनगरमा हाल १८ हजार आठ सय ५० धाराहरूमार्फत पानी वितरण हुँदै आएको छ । पानीका सीमित स्रोत तथा संकलन र प्रशोधनका लागि आवश्यक संरचनाको समेत कमी हुँदा पानीको संकट बर्सेनि चुलिने गरेको हो । समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना अपरिहार्य हुन्छ । यसका लागि प्रयास पनि भइरहेका छन् ।

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा बढ्दो सहरीकरणसँगै पानीको माग अधिक छ । पर्याप्त खानेपानी आपूर्ति नहुँदा उपभोक्ताले सास्ती भोगिरहेका छन् । राजधानीको जनसंख्यालाई मध्यनजर गरी खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीबाट उपत्यकामा पानी ल्याउने योजना अघि बढाइएको छ । भेरी पम्पिङ आयोजना निर्माणका लागि प्रक्रिया थालेको लामो समय भइसक्दा पनि यसको प्रगति भने सुस्त छ । खानेपानी समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालिन विकल्पहरूको खोजी अपरिहार्य भएको छ ।

प्रकाशित मितिः   २० चैत्र २०७८, आईतवार ०५:०४