उपत्यकामा चुलिँदै खानेपानी संकट
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–४ न्यौपाने टोलका रत्न नामजाली मगरको धारामा पाँच दिनपछि शुक्रवार बिहान मात्र पानी आयो । त्यो पनि त्यस्तै १०–१५ मिनेट । ‘एक गाग्री पानी भर्न नपाइ धारा सुक्यो,’ उनले भने, ‘पानी अनियमित हुन थालेको महिना दिनभन्दा बढी भइसक्यो ।’ खाना पकाउने र खानेपानी समेत नहुँदा निकै सास्ती भइरहेको उनले बताए । यो टोलमा गत वर्ष पनि यही समयमा पानीको हाहाकार भएको थियो । ‘छोटो समयका लागि धारामा आउने सानो पानीले स–साना भाडा पनि भरिदैनन्,’ नामजाली मगर भन्छन्, ‘धारामा पानी नआए हामीसँग अरु विकल्प छैन ।’ नजिकै खानेपानीका मुुहान पनि नभएकाले पानीको जोहो गर्नै मुस्किल भइरहेको उनले सुनाए ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वितरण गरेका धारामा पानी नै नआउने भएपछि बजारबाट जारको पानी किनेर काम चलाउन बाध्य भएको न्यौपाने टोलका बासिन्दाहरू बताउँछन् । खानेपानीकै चरम अभाव भएपछि कपडा धुुन, नुहाउन र गाईबस्तुुलाई खुुवाउन कहाँबाट पानी ल्यााउने भन्ने पिरलोमा उनीहरू छन् ।
४८ घण्टामा एक पटक एक घण्टाका दरले खानेपानी वितरण
वीरेन्द्रनगर–१२ को सरस्वती टोलमा पनि पानीको संकट छ । चैत महिना लागेयता त्यहाँका धाराहरूमा पानी अनियमित हुन थालेको हो । स्थानीय यज्ञ घिमिरेले विगतका वर्षहरूको खानेपानी समस्या यसपटक पनि दोहोरिएको जनाए । ‘चैतदेखि जेठसम्म पानीको निकै अभाव हुन्छ,’ उनले भने, ‘यसपटक पनि संकट चुलिएको छ ।’ सरस्वती टोलका धाराहरूमा पनि चार–पाँच दिनको अन्तरमा एकछिन मसिनो पानी आउँछ । धारमा पानी आउने दिन कुरेर बस्नु परिरहेको त्यहाँका बासिन्दाको गुनासो छ । चुनावताका भोट माग्न जानेले पानीको समस्या हल गर्ने प्रतिबद्धता जनाउने गरेपनि त्यसको समाधानमा जनप्रतिनिधिहरूको ध्यान नगएको घिमिरेले बताए । ‘नेताहरूले अबदेखि पानीको हाहाकार हुँदैन घर–घरका धारामा नियमित पानी पुु¥याउँछौं भनेको पाँच वर्ष बित्यो, खै अवस्थामा केही सुधार भएन,’ उनले भने ।
वीरेन्द्रनगर–३ मा पनि पानीको समस्या जटिल बन्दै गएको छ । यो वडाका अधिकांश ठाउँमा पानी अपुग छ । सोही वडाकी सम्झना थापा खानेपानीको समस्याले सास्ती भइरहेको बताउँछिन् । गएका तीन/चार हप्तादेखि खानेपानीको संकट भएको उनले सुनाइन् । ‘धारामा पानी आउँदैन, बजारबाट पानी किनेर खानुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘कपडा धुन र सरसफाइ गर्न त परको कुरा ।’ उनको टोलमा पनि खानेपानीको समस्या बर्सेनि बढ्दै गएको हो ।
गर्मीयाम सुरु भएसँगै वीरेन्द्रनगरमा खानेपानीको अभाव चुलिँदै गएको छ । वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले धारामार्फत खानेपानी वितरण गर्दै आएको छ । विगत केही वर्षयता गर्मीको समयमा यहाँ खानेपानीको चरम संकट हुन्छ । सोही अवस्था यो पटक पनि देखिन थालेको हो । स्रोत न्यून र उपभोक्ता धेरै हुँदा पानी वितरणमा चुनौती भइरहेको संस्थाले जनाएको छ । सुख्खायाममा मुहानबाटै कम पानी सप्लाइ हुँदा खानेपानीको अभाव हुने गरेको सुुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्मरबहादुुर गौतम बताउँछन् ।
अहिले वीरेन्द्रनगर उपत्यकाका अधिकांश वडामा पानीको अभाव छ । धारामा पानी नआउने भएपछि उपत्यकाबासीलाई बजारबाट पानी किनेर खानुपर्ने अवस्था छ । संस्थाका अनुसार हाल ४८ घण्टामा एक पटक एक घण्टाका दरले प्रत्येक धारामा खानेपानी वितरणको व्यवस्था मिलाइएको छ । कार्यालय प्रमुख गौतम भन्छन्, ‘पहिला दैनिक एक पटक धारामा पानी आपूर्ति हुने गरेको थियो, अहिले मुुहानमा नै पानी सुुक्न थालेपछि अभाव देखिएको हो ।’ अरु बेलाभन्दा खडेरीमा मुहानबाटै झन्डै ५० प्रतिशतले पानीमा कमी हुने गरेको छ । यसले गर्दा सहज रूपमा सबै क्षेत्रमा खानेपानी वितरणमा असर पर्ने गरेको हो । पानीको अभाव भएसँगै समय तालिका बनाइ खानेपानी वितरण गरिँदै आएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताका धारामा आलोपालो प्रणालीबाट पानी दिने गरिएको संस्थाले जनाएको छ ।
उपत्यकामा झुप्रा मुहान, खरीखोला, बोरीखोला, खोर्के खोला मुुहान र इत्राम खोला मुुहानबाट ल्याइएको पानी वितरण हुन्छ । यीनै मुख्य स्रोतहरूमै खडेरीका बेला पानी घट्ने हुँदा हरेक वर्ष समस्या हुने गरेको हो । सुुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले हाल करिब २० हजार धारामार्फत खानेपानी वितरण गरिरहेको छ । सयौं संख्यामा धाराका लागि संस्थामा आवेदन थन्किएका छन् । उपत्यकामा सामान्य अवस्थामा करिब एक सय ६० लिटर प्रतिसेकेण्ड पानी आपूर्ति भइरहेको छ । पानीको माग भने त्यसको तुलनामा दोब्बर छ । उपभोक्ता संस्थाका अनुसार यहाँ प्रतिसेकेण्ड दुई सय ६० लिटरभन्दा बढी पानी आवश्यक देखिन्छ ।
प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा बढ्दो सहरीकरणसँगै पानीको माग अधिक छ । पर्याप्त खानेपानी आपूर्ति नहुँदा होटललगायतका व्यवसाय सञ्चालनमा समेत सास्ती भइरहेको व्यवसायीहरू बताउँछन् । राजधानीको जनसंख्यालाई मध्यनजर गरी खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीबाट उपत्यकामा पानी ल्याउने योजना अघि बढाइएको छ । भेरी पम्पिङ आयोजना निर्माणका लागि प्रक्रिया थालेको लामो समय भइसक्दा पनि यसको प्रगति भने सुस्त छ । आयोजना निर्माण तथा सञ्चालनका लागि विश्व बैंकले लगानी गर्ने निश्चित भएको जनाइएको छ । हाल आयोजना निर्माणपूर्वका प्रक्रियागत कामहरू भइरहेका छन् । उपत्यकामा खानेपानीको दीर्घकालीन समाधानको एक मात्र विकल्प ठानिएको यो आयोजना निर्माणमा भने अझै केही वर्ष लाग्ने देखिएको छ ।
प्रकाशित मितिः १९ चैत्र २०७८, शनिबार ०५:०७
साझा बिसौनी ।