प्रविधि

क्यूआर कोडः डिजिटल बैंकिङको नयाँ रूप

 

‘क्यूआर कोड’को पूरा रूप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ ।

जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रूपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ । सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।

क्यूआर कोड एप्लिकेसनमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरू पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ । तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरूले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रोडक्टसम्बन्धी सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् । एसिया प्यासेफिक क्षेत्रमा सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआरकोड एउटा सर्वोपरी प्रबन्ध बनिसकेको छ ।

क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरूका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत बनेको छ । दैनिक अर्बौं मानिसहरू मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरूले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरू एउटै सुपर एपभित्र समेटेर राखेका छन् । हाल नेपालमा रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षासम्बन्धी सूचना, बैंक तथा वित्तिय संस्थाहरूको जानकारी तथा रकम आदानप्रदानका लागि सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ ।

नेपाल राष्ट्र बैंकले समेत क्यूआर कोडमा आधारित भुक्तानी प्रणालीलाई नियमन गर्न क्यूआर कोडको फ्रेमवर्क तथा गाइडलाइन तयार पारेको छ । क्यूआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवद्र्धन तथा नियमन गर्ने उद्देश्यका साथ गाइडलाइन तयार गरिएको हो । उक्त गाइडलाइनमा सेवा प्रदायकले कुनै पनि ग्राहकले क्यूआर स्क्यान गरी सुरक्षित तवरले भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने, यसका साथै क्यूआर कोडको फ्रेमवर्क तथा गाइडलाइनअनुसार अनुमति पाएका पेमेन्ट सर्भिस अपरेटरले मात्र क्यूआर स्किम तथा नेटवर्क सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । त्यस्तै क्यूआर प्रयोग, मर्चेन्टको नियुक्ति र जारी गर्न अनुमति प्राप्त वित्तीय संस्था तथा वालेट कम्पनीले मात्र पाउने प्रावधान राखिएको छ । त्यस्तै क्यूआर भुक्तानीमा ग्राहकसँग कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ भने, यसलाई कडाइका साथ लागू गर्नुपर्ने उल्लेख छ । उक्त गाइडलाइनले क्यूआर एपको सुरक्षा, सेक्युरिटी अडिट, नेटवर्कमा भएका संस्थाहरूबीचको सेटलमेन्ट, ग्राहकहरूको गुनासो सुन्नसक्ने व्यवस्था, क्यूआरको लोगो तथा ब्राण्डिङलगायतका विषयहरू राखिएको छ ।

हाल आएर नेपालका बैंक तथा वित्तीय संस्थाहरूमार्फत अर्बौंसम्मको रकम क्यूआर कोडबाटै हुन थालेको छ । जसको प्रत्यक्ष उदाहरण नेपाल राष्ट्र बैंकको मंसिर महिनाको विद्युतीय प्रणालीको रिर्पोटअनुसार कार्तिक महिनामा कूल कारोबार संख्या १३ लाख ८७ हजार पाँच सय ८४ वटा र रकम पाँच अर्ब ३६ करोड २० लाख तथा मंसिर महिनामा कुल कारोबार संख्या १६ लाख ४९ हजार तीन सय ९७ र रकम ६ अर्ब २८ करोड २० लाखले नै देखाउँछ ।

कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ । हामीले हजार रूपैयाँको नोट छाप्दा झन्डै साढे तीन रूपैयाँ लाग्छ । एक रूपैयाँको सिक्का छाप्न दुई रूपैयाँ खर्च गर्नुपर्छ । क्यूआर कोडको प्रयोगले यो खर्च बचत हुन्छ । त्यसैगरी, यसले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ । यसले उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ । यो प्रणालीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले दुई नम्बरी काम गर्ने सम्भावनै नहुने हुँदा यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ ।

कोभिडका कारण हामीले विगतमा जुन समस्या भोग्नुप¥यो, त्यसको हलको लागि हाल आएर यही प्रविधिको प्रयोगमा छ । यसमा त्यस्ता समस्या आउँदैनन् । कार्डको प्रयोगमा छुनसम्म पथ्र्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ । नगदमा हुने कारोबार धेरै खालका विकृतिको जड होस्, चाहे भ्रष्टाचार होस्, चाहे अन्य आपराधिक घटना वा काम । यी सबैमा नगद जोडिएका हुन्छन् । ९९ प्रतिशत आपराधिक घटना वा विकृति नगदका कारणले निम्तिएका हुन्छन् । नगदलाई छोडिदिनुभयो भने यी विकृति पनि घट्छन् ।

यी सहजताका बावजुत पनि बैंक तथा वित्तीय संस्थाहरूमा क्यूआर कोडको प्रयोगमा केही समस्या भने नभएका होइनन्, जस्तो कि आम ग्राहकमाझ परिचित हुन नसक्नु, फोन नेटवर्कको समस्या हुने स्थानमा असहजता, क्यामेरा सहितको इन्टरनेट सुविधा भएका स्मार्टफोनबाट मात्र प्रयोग गर्नमिल्ने, भुक्तानीको जानकारी एसएमएस मार्फत समयमै नआउने, लगायतका कारणले नेपालको बैंक तथा वित्तिय संस्थामा यसको प्रयोग बढ्नुपर्ने तुलनामा बढ्न सकेको छैन । यसका साथै समयमै सुविधा नगदरहित कारोबारले नै सुशासित समाजको विकास हुन सक्छ । हामीले संसारका मुलुकहरू हे¥यौँ भने अत्यन्तै सुशासित भनिएका मुलुकमा नगदसहित कारोबार हुने गरेको पाउँछौँ । त्यसैले सभ्य र आधुनिक समाज निर्माणका साथै व्यक्ति स्वयम् आधुनिक, सभ्य र सुशासित हुन पनि आधुनिक प्रविधिको प्रयोग जरुरी छ ।

(लेखक मुक्तिनाथ विकास बैंक वीरेन्द्रनगर शाखामा कार्यरत छन् ।)

प्रकाशित मितिः   १२ चैत्र २०७८, शनिबार ०५:०४