सुरक्षित प्रसूति सेवा

कर्णालीमा अहिले पनि मातृ–शिशु मृत्युदर धेरै छ । आमा र नवजात शिशुको मृत्युदर घटेको छैन । मातृ–शिशु मृत्युदर शून्यमा झार्न सरकारले लामो समयदेखि विभिन्न अभियान सञ्चालन गरिरहेको छ । सोहीअनुसार सुरक्षित प्रसूति सेवालगायतका स्वास्थ्य सेवा विस्तार पनि गरिएका छन् । तर, अवस्थामा भने उल्लेखनीय सुधार भएको पाइँदैन । विगत केही वर्षयताको तथ्याङ्क केलाउँदा गर्भवती र सुत्केरी महिला निकै जोखिममा छन् । नियमित गर्भजाँच नगर्नु, सुरक्षित तरिकाले सुत्केरी नहुनु, कुपोषण, गर्भवती अवस्थामा स्याहारसुसारको कमीजस्ता कारणले आमा र शिशु दुवैको ज्यान खतरामा पर्दै आएको हो । ग्रामीण बस्तीहरूमा अझै पनि जनचेतनाको अभाव छ । स्वास्थ्यकर्मीहरूका अनुसार गर्भवती महिलाले कम्तिमा तीन पटक गर्भजाँच गराउनुपर्छ । तर, अधिकांश यसो गर्दैनन् । समय–समयमा चोकजाँच नगराउँदा पेटमा बच्चाको अवस्थाबारे जानकारी हुँदैन ।

भौगोलिक विकटताका कारण प्रसूति सेवा सबैको सहज पहुँचमा छैन । समयमै अस्पताल पु¥याउन नसक्दा थुप्रै महिलाले बाटोमै ज्यान गुमाउने गरेका छन् । ग्रामीण भेकका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र उपकरणको उस्तै अभाव छ । जसका कारण प्रसूति सेवा प्रभावकारी बन्न सकिरहेको छैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गएका चार वर्षमा ८० जना सुत्केरी महिलाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको यो अवधिसम्म नौ जना गर्भवती र सुत्केरी महिलाको मृत्यु भइसकेको छ । कर्णालीमा आमाहरूको मात्रै होइन शिशु मृत्युदर पनि अधिक छ । पछिल्ला तीन वर्षमा मात्रै प्रदेशभर ६ सय ५० नवजात शिशुको मृत्यु भएको छ । यहाँ बालखैमा विहे गर्ने प्रचलन कायमै छ । २० वर्ष नपुग्दै गर्भवती हुँदा आमा र शिशुको स्वास्थ्य उच्च जोखिममा पर्दै आएको छ ।

सरकारले सुरक्षित प्रसूति सेवा प्रवद्र्धन गर्ने उद्देश्यले गर्भवती र सुत्केरी अवस्थामा जोखिममा रहेका महिलाहरूको उद्धार, स्वास्थ्यचौकीमा सुत्केरी हुँदा प्रोत्साहन भत्ताजस्ता कार्यक्रम ल्याएको छ । यति हुँदाहुँदै कर्णालीका ३० प्रतिशत गर्भवती घरमै असुरक्षित सुत्केरी हुन्छन् । झन्डै ७० प्रतिशतले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क छ । प्रदेशभर तीन सय १८ बर्थिङ सेन्टर सञ्चालनमा छन् । विगतका वर्षभन्दा गर्भावस्थामा नियमित चेकजाँच गर्ने र सुरक्षित सुत्केरी हुने महिलाको संख्या भने केही बढेको देखिन्छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेशभर ३३ हजार एक सय ६० जना गर्भवती स्वास्थ्य संस्थामा गएर सुुरक्षित सुुत्केरी भएका थिए । मातृ–शिशु मृत्युदर घटाउन सरकारी तथा गैरसरकारी तहबाट अनेक पहल भइरहे पनि अवस्था सुध्रिएको छैन ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७८, सोमबार ०५:०२