भेरी लिफ्टिङ आयोजना: निर्माण अघि बढाउन त्रिपक्षीय समझदारी

सुर्खेत: भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण पूर्वका कामले गति लिएका छन् । आयोजना निर्माण गर्नेबारे सरोकारवालाबीच त्रिपक्षीय समझदारी भएको छ । संघ, प्रदेश र स्थानीय सरकारले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले आयोजना अघि बढाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सरकार र सरोकारवाला पक्षबीच आयोजना निर्माण गर्न औपचारिक रूपमा एमओयू भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए ।

विभागले सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रवार तीनै तहका सरकारको संयुक्त सहभागितामा सञ्चालन गरिने प्रस्तावित खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजनाहरूका लागि समझदारी गर्न कार्यक्रम राखेको थियो । सोही अवसरमा भेरीको पानी उपत्यकामा ल्याउने आयोजना सञ्चालन गर्न विश्व बैंकसँग आर्थिक समझदारी समेत गरिएको छ । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष देवकोटाले तीनै तहका सरकार र विश्व बैंकका प्रतिनिधिको उपस्थितिमा आर्थिक समझदारी गरिएसँगै आयोजना निर्माणका लागि आर्थिक स्रोत सुनिश्चित भएको बताए । उनका अनुसार वीरेन्द्रनगर उपत्यकाको खानेपानी आयोजना निर्माणमा विश्व बैंकले झन्डै साढे ६ अर्ब बजेट लगानी गर्न लागेको छ । विश्व बैंकले नगर क्षेत्र भित्रका खानेपानी आयोजनाको सुधार–विस्तार अन्तर्गत पहिलो चरणमा वीरेन्द्रनगर उपत्यकाको खानेपानी आयोजना निर्माण गर्ने भएको हो । आयोजना निर्माणका लागि आर्थिकसहित प्राविधिक र व्यवस्थापकीय पक्षको सहभागितासम्बन्धी पनि समझदारी भएको जनाइएको छ । आयोजना अघि बढाउन केही दिन पहिले काठमाण्डौंमा भएको प्रारम्भिक समझदारी कार्यक्रममा कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही पनि सहभागी थिए । उक्त समझदारीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आयोजना बन्ने निश्चित भइसकेकाले आउँदो असार मसान्तसम्म सबै प्रक्रिया सकेर संरचना निर्माणका लागि टेण्डर गर्ने तयारी गरिएको देवकोटाले बताए । उनका अनुसार आयोजनाको संरचना बनाइने स्थानको जग्गा प्राप्ति र अन्य पूर्वाधार निर्माणका प्रक्रियालाई सहज बनाउन वीरेन्द्रनगर नगरपालिकामा खानेपानी तथा सरसफाइ शाखा स्थापना गरिने छ । सरोकारवाला पक्षबीच निर्माण र लगानीलगायतमा समझदारी भएसँगै आयोजनाको काम अघि बढाउने बाटो खुलेको छ । अध्यक्ष देवकोटाले भने, ‘अब निर्माण पूर्वका प्रक्रियागत कामले गति लिनेछन् ।’ खानेपानीको दीर्घकालीन समस्या हल गर्न विश्व बैंकको लगानीमा भेरीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगर उपत्यकामा ल्याउने योजना अघि बढाइएको छ । वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आँकलन गरेर खानेपानी आयोजना सञ्चालनको तयारी भइरहेको हो । यो आयोजनाको चर्चा हुन थालेको धेरै भए पनि प्रक्रिया भने केही महिना अघिदेखि मात्रै सुरु भएका हुन् ।

आयोजनाका लागि विश्व बैंकले यसअघि नै लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । तर, आयोजना सञ्चालन पूर्वका कानुनी प्रक्रिया र लगानीपछिको दिगोपनाबारे विश्व बैंकले सुनिश्चितता खोजिरहेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरूका अनुसार पछिल्लो समय आयोजना निर्माण तथा सञ्चालनका लागि आवश्यक अध्ययनका काम भइरहेका छन् । विश्व बैंकसँग आउँदो चैतमा आयोजना निर्माणको सम्झौता गर्नेगरी तयारी थालिएको विभागले जनाएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ । विभागका अनुसार आयोजनाको विस्तृत इन्जिनियरिङ्ग डिजाइन तथा प्रारम्भिक वातावरण परीक्षण (आईई) अध्ययनका कामहरू भइरहेका छन् । ऋण सम्झौताका लागि पनि विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । विभागका अनुसार भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।

भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत अमृतडाँडामा पानी ल्याइने छ । अमृतडाँडामा रिजर्वेशन ट्यांकी निर्माण हुनेछ । उक्त स्थानबाट मुख्य प्रसारण लाइनमार्फत उपत्यकामा पानी वितरण गरिने छ । आयोजनाको पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिजर्वेशन ट्यांकी निर्माण, मुख्य पानी प्रसारण लाइन विस्तारलगायतका काम गरिने बताइएको छ । त्यस्तै, दोश्रो चरणमा सञ्चालन व्यवस्थापनका कामहरू अघि बढाइने छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको प्रक्रियागत काममा भने ढिलाइ हुँदै आएको छ । वीरेन्द्रनगर उपत्यकामा भेरीको पानी ल्याउन विगतका वर्षहरूमा संघीय र प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गर्ने गरेका थिए । योजना कार्यान्वयन नहुँदा रकम फ्रिज जाने गरेको थियो ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा हाल खानेपानीको संकट छ । यहाँ हिउँदको सिजनमा पानीको हाहाकार नै हुन्छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गरिँदै आएको छ । अझै करिब १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग रहेको जनाइएको छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७८, शनिबार ०५:०५