प्रमुख ताक्दै उपप्रमुख

सुर्खेत: दैलेखको आठबिस नगरपालिकाकी उपप्रमुख दीपा बोहोरा आगामी स्थानीय तहको निर्वाचनामा प्रमुखकी आकांक्षी हुन् । स्थानीय सरकार सञ्चालनको पाँच वर्षे अनुभव संगालेकी उनी यसपटक पालिका प्रमुखमा दाबी गर्दैछिन् । उपप्रमुख रहेर कार्यसम्पादन गर्दा बोहोराले थुप्रै चुनौति झेलिन् । स्थानीयस्तरका समस्यालाई नजिकबाट अनुभव गरेकी उनले त्यसको सुधारका लागि यसपालि मूलपदमै उम्मेदरवारी दिने सोच बनाएकी छिन् । ‘पदीय क्षेत्राधिकारका कारण सोचेअनुरूप कतिपय काम गर्न सकिएन,’ उनी भन्छिन्, ‘अहिलेको सिकाइले परिपक्क बनाएको छ । अब पालिकाको मुख्य पदमा रहेर सेवा गर्ने चाहना छ ।’ उनले त्यसका लागि आफू योग्य र सक्षम रहेको समेत जनाइन् । नेपाली कांग्रेसको राजनीतिमा उत्तिकै सक्रिय बोहरा सामाजिक अभियान्ता पनि हुन् ।

दैलेखकै नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल पनि आगामी स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा उठ्ने तयारीमा छिन् । उपप्रमुखमा लोकप्रिय मतले विजय भएकाले प्रमुखको चुनाव पनि सहजै जित्न सक्ने आत्मविश्वास उनमा छ । ‘मैले यो अवधिमा नगरप्रमुख बन्न सक्ने थुप्रै आधार बनाएकी छु,’ उनले भनिन्, ‘त्यसैले पार्टीले नेतृत्वदायी भूमिकामा अवसर दिनेमा पनि विश्वस्त छु ।’ गएको स्थानीय चुनावमा नेकपा ‐एमाले) बाट उपप्रमुख बनेकी मल्ल हाल नेकपा ‐एकीकृत समाजवादी) मा आवद्ध छिन् । यो कार्यअवधिमा नगरप्रमुखभन्दा आफूले बढी नै काम गरेको उनको दाबी छ । महिलालाई ‘उप’ पदमा मात्र सीमित गर्ने सोचलाई यसपटक बदल्न जरुरी रहेको मल्लले बताइन् । ‘महिला भएकै कारण सकभर कार्यकारी भूमिका नपाउने र पाएको जिम्मेवारी तथा क्षेत्राअधिकारबाट पनि वञ्चित हुनुपर्ने अवस्था छ,’ उनी भन्छिन्, ‘यसको अन्त्यका लागि आगामी चुनावमा महिलाहरूले प्रमुख पदमै उम्मेदवारी दिनुपर्ने छ ।’

यस्तै, कार्यकाल सकिनै लाग्दा वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले प्रमुखका लागि उम्मेदवार बन्ने वा नबने भन्नेबारे मुख खोलिसकेकी छैनन् । तर, उनी पनि नगरप्रमुखको लागि बलियो दाबेदार भने हुन् । ‘पालिकाको नेतृत्वका लागि उम्मेदवार हुने÷नहुने पछि नै थाहा होला,’ ढकाल भन्छिन्, ‘हालसम्म त्यसका लागि आफूले बनाइएका आधारहरूबारे जानकारी दिने काम भइरहेको छ ।’ उपप्रमुखको पदमा रहेर हरेक काम सफलतापूर्वक निभाएको जिकिर गर्ने उनी आउँदो निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा प्रमुख र अध्यक्षमा महिला आउने विश्वासमा छिन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी ढकाल पाँच वर्षे कार्यकालले आफूलाई थप दक्ष र अनुभवी बनाएको बताउँछिन् । ‘निर्वाचित भइसकेपछि अनेक चुनौतिहरू सामना गरियो, सिक्दै अगाडि बढियो,’ उनले भनिन् । महिला भएकै कारण आफ्नो कार्यक्षमतामाथि प्रश्न उठाइएका तितो अनुभव ढकालसँग पनि छन् । उनले पद भनेको महिला वा पुरुष नभइ जिम्मेवारी भएको बताइन् । ढकाल भन्छिन्, ‘जिम्मेवारी वहन गर्ने काम लिङ्गका आधारमा नभइ योग्यता, लगनशीलता, इमान र हिम्मतले गर्ने हो ।’ आसन्न स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरको प्रमुख पदमा उम्मेदवारी दिने विचारमा रहेकी उनले त्यसका लागि आफ्नो जनाधार पनि बलियो रहेको दाबी गरेकी छन् ।

सुर्खेतकै लेकवेशी नगरपालिकाकी उपप्रमुख हुन् शान्ति छन्तेल । उनको पनि आउँदो निर्वाचनमा नगर प्रमुख बन्ने आकांक्षा छ । ‘जटिल परिस्थितिमा पनि डटेर अहिलेको जिम्मेवारी पूरा गरिरहेकी छु,’ उनले भनिन्, ‘पार्टीले टिकट दिए, यसपटक प्रमुख बनेरै स्थानीय तह हाँक्ने इच्छा छ ।’ त्यसका लागि आफू योग्य र सक्षम रहेको भन्दै उनले काममार्फत पटक–पटक प्रमाणित गरिसकेको जनाइन् । यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवि न्यौपानेले असहजताकै बीच यो अवधिसम्म काम गरिरहेको बताइन् । चन्दननाथमा प्रमुख र उपप्रमुख दुवै पदमा महिला छन् । ‘महिला प्रमुख हुँदा पनि कुनै खालको सहयोग पाइएन,’ न्यौपाने भन्छिन्, ‘कानुनले दिएका अधिकार क्षेत्रमा पनि हस्तक्षेप गरियो ।’ निकै अप्ठ्यारो परिस्थितिमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएको बताउने उनलाई एक पटक प्रमुख बनेरै पालिका चलाउने धोको छ । ‘म नेतृत्व लिन तयार छु, पार्टीले अघि बढाए प्रमुखको उम्मेदवार बन्ने नै हो ।’

स्थानीय तहको निर्वाचन नजिकिएसँगै बहालवाला उपप्रमुख र उपाध्यक्षहरूले धमाधम प्रमुख तथा अध्यक्षमा निर्वाचन लड्ने आकांक्षा व्यक्त गर्न थालेका छन् । अघिल्लो स्थानीय तहको चुनावमा उपमा मात्रै सीमित बनाइएका महिलाहरू यसपटक प्रमुख पदमै दाबी गर्न थालेका हुन् । स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ संवैधानिक व्यवस्था छ । पालिकाको नेतृत्व तहमा महिलाहरूको पहुँच सुनिश्चित गर्न संविधानले यस्तो व्यवस्था गरेपनि नगन्य संख्यामा मात्र महिलाहरू प्रमुख पदमा पुगेका छन् । देशभरका सात सय ५३ मध्ये ९८ प्रतिशत स्थानीय तहमा पुुरुष नै प्रमुख छन् । संविधानले गरेको व्यवस्थाको मर्म पुरूषलाई प्रमुख र महिलालाई उपप्रमुखमै सीमित गर भन्ने नरहेको वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख ढकाल बताउँछिन् । उनी भन्छिन्, ‘तर, यहाँ बुझाइ त्यस्तो देखिन्छ ।’ राजनीतिक दलहरूले पुरुषलाई नै मुख्य जिम्मेवारीमा अगाडि बढाउने प्रवृत्तिका कारण महिलालाई प्रमुख पदमा पुग्न चुनौति रहेको उनले बताइन् ।

उपप्रमुखकै जिम्मेवारी निभाउने क्रममा पाइला–पाइलामा अवरोध खेपिरहेकाहरू भन्छन्, ‘राजनीतिमा पनि पितृसत्तात्मक सोच हाबी छ ।’ जसले गर्दा आफूहरूलाई कानुनले किटान गरेका अधिकारको उपभोग गर्न पनि निकै संघर्ष गर्नु परिरहेको राजनीतिमा सक्रिय महिलाहरूको अनुभव छ । आठबिस नगरपालिकाकी उपप्रमुख बोहोरा राजनीतिमा रहँदै आएको पुरुषको हालीमुहाली तोड्न पनि महिलाहरू सशक्तरूपमा अघि बढ्नुको विकल्प नरहेको बताउँछिन् । ‘हाल उपप्रमुख र उपाध्यक्ष भएर जिम्मेवारी पूरा गरिरहेकाहरूलाई अझै काम गर्ने उर्जा थपिएको छ,’ उनले भनिन्, ‘महिला नेतृत्वमा आएपछि स्थानीयस्तरमा धेरै परिवर्तन भएका छन् ।’

मुलुक संघीयतामा गएपछि वि.सं. २०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भएको थियो । उक्त निर्वाचनपछि नेतृत्वमा महिला सहभागिता बढेपनि मुख्य जिम्मेवारी भने कमैले मात्र पाएका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अब ढाई महिना मात्र बाँकी छ । निर्वाचन घोषणा भएसँगै यसपटक पालिकाको प्रमुख पदका आकांक्षीहरू खुल्न थालेका छन् ।

प्रकाशित मितिः   ७ फाल्गुन २०७८, शनिबार ०५:०६