दलका चुनाव लक्षित दौडधुप
सुर्खेत: स्थानीय तहको निर्वाचन घोषणा भएसँगै राजनीतिक दलहरूको सक्रियता बढ्न थालेको छ । जनाधार बटुल्न यतिबेला राजनीतिक दलहरू गाउँ–टोलमा केन्द्रित भएका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिसकेको छ । सोही चुनावलाई लक्षित गरेर राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिमा होमिएका हुन् । पार्टीको आन्तरिक नेतृत्व चयनका लागि भर्खरै अधिवेशनहरू सकेका पार्टीहरू अब भने आफ्नो पक्षमा जनमत पार्न जुटेका छन् । सुर्खेतमा क्रियाशील राजनीतिक दलहरूले आसन्न निर्वाचन लक्षित गतिविधि अघि बढाएका छन् । यसअघि नै जनाधार बलियो भएका पार्टीहरू मुख्य प्रतिष्पर्धीलाई जित्ने गरी रणनीति बनाउँदै छन् भने कमजोर जनमत भएका दलहरूले संगठन विस्तारलाई प्राथमिकता दिइरहेका छन् ।
नेकपा ‐एमाले) सुर्खेतले केही दिन यतादेखि वडातहबाटै चुनाव लक्षित अभियानहरू गरिरहेको छ । एमालेले जिल्लाका नौ पालिकाका ९९ वटै वडामा निर्वाचन केन्द्रित गतिविधि गरिरहेको प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । सुर्खेतमा एमालेको मुख्य प्रतिष्पर्धी दल नेपाली कांग्रेस हो । आउँदो स्थानीय तहको निर्वाचनमा पनि कांग्रेससँगै प्रतिष्पर्धा हुने ठानेको एमालेले सोही अनुसारको रणनीति बनाएको छ । प्रचार विभाग प्रमुख तिमिल्सेना भन्छन्, ‘यसअघि हाम्रो उपस्थिति कमजोर भएका ठाउँमा पनि यसपटक ‘गेम चेन्ज’ गर्ने योजनाका साथ अभियानहरू थालिएका छन् ।’ उनले हालकै सत्ता गठबन्धनसँग चुनावमा भिड्नुपर्ने अवस्था आएपनि एमाले एक्लैले जित्ने थुप्रै आधारहरू रहेको दाबी गरे । उनका अनुसार एमालेले अहिले सबै कमिटी तथा जनवर्गीय संगठनहरूको परिचालनलाई तीव्रता दिइएको छ ।
जिल्लामा क्रियाशील अर्को धेरै जनाधार भएको दल नेपाली कांग्रेसले पनि स्थानीय तहको चुनावका लागि पार्टी गतिविधि अघि बढाउने तयारी गरेको छ । चुनाव केन्द्रित हुनेगरी कांग्रेसले पार्टीका योजना बनाइएको हो । कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले सबै तहका संगठनलाई चलायमान बनाउँदै लगिएको जनाए । उनी भन्छन्, ‘अहिले नै चुुनाव केन्द्रित कार्यक्रम भन्नुुभन्दा पनि पार्टीले सांगठनिक प्रशिक्षणलाई जोड दिइएको छ, हामी कार्यकता र संगठनलाई सक्रिय बनाउन लागेका छौं । विस्तारै चुनाव लक्षित गतिविधि पनि अघि बढ्ने नै छन् ।’ सचिव सुवेदीका अनुसार कांग्रेसले पार्टी पंक्तिलाई अझ बढी जिम्मेवार बनाउन स्थानीय तहमा विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू गरिरहेको छ ।
त्यस्तै, नेकपा ‐माओवादी केन्द्र) ले संगठन सुदृढीकरणमा जोड दिएको छ । जिल्लामा अघिल्लो स्थानीय तहको निर्वाचनामा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र अब भने एमाले–कांग्रेससँग प्रतिष्पर्धा गर्नेगरी जनमत जुटाउने तयारीमा होमिएको हो । माओवादी केन्द्र सुुर्खेतका संयोजक कृष्ण जिसी (जितेन्द्र)ले पार्टीले निरन्तर रूपमा जनताका बीचमा गतिविधि गरिरहेको जनाए । ‘हामी चुनावमा मात्र नभइ सधँैजसो जनतासँगै छौं,’ उनले भने, ‘स्वाभाविक रूपमा चुनाव नजिकिएपछि त्यस खालका गतिविधि बढ्ने नै भए ।’ पार्टीका सबै नेता कार्यकर्ता गाउँ केन्द्रित भएको भन्दै उनले नियमित भेटघाट, संगठन विस्तार र राष्ट्रिय एजेन्डालाई आम जनतासम्म लग्ने कामहरू भइरहेको बताए । फागुन दोस्रो साता माओवादी केन्द्रले सप्ताहव्यापी रूपमा जनयुद्ध दिवस बनाउने तयारी गरेको छ । उक्त अवसरमा पनि पार्टी गतिविधिलाई तीव्रता दिइने माओवादी केन्द्रले जनाएको छ । पार्टीलाई जिल्लामा मात्र नभइ देशकै पहिलो बनाउने योजनाका साथ लागिएको संयोजक जिसीको दाबी छ । ‘माओवादी केन्द्र जनताका दुुःख देख्ने पार्टी हो, त्यसैले स्थानीय तहको चुुनावमा जनताले साथ दिनेमा हामी विश्वस्त छौं,’ उनले भने ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतले पनि चुनावलाई लक्षित गरेर कार्यक्रमहरू अघि बढाएको छ । चुुनावी रणनीतिसहितका गतिविधि सुरु भइसकेको जिल्ला अध्यक्ष कविराम पुरीले बताए । ‘राप्रपा स्थानीयस्तरदेखि नै बलियो बनाउनेगरी लागिएको छ,’ उनले भने, ‘९९ वडामध्ये ७२ मा पार्टी कार्यालय स्थापनाको काम सम्पन्न भयो ।’ संगठनलाई चलायमान बनाउँदै पार्टीका गतिविधि सञ्चालन भइरहेको उनी बताउँछन् । राप्रपाले फागुुन मसान्तसम्ममा सबै वडामा पार्टी कार्यालय स्थापना गरिसक्ने लक्ष्य लिएको छ । पार्टीले नगर तथा गाउँपालिकाका वडाहरूमा संगठन विस्तारको कामलाई तीव्र गतिमा अघि बढाइरहेको अध्यक्ष पुरीले बताए । उनका अनुसार केही दिन पछिबाट राप्रपा कार्यकर्ता माझ पार्टीका चुुनावी एजेन्डा लिएर जानेछ । जिल्लामा दैनिकजसो २५÷३० जनाले अन्य पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरिरहेको अध्यक्ष पुरीले बताए । पछिल्लो समय पार्टीप्रति जनताको आशा र भरोसा बढ्दै गएको राप्रपाको दाबी छ ।
यस्तै, नेकपा (एकीकृत समाजवादी) ले पनि आफ्ना राजनीतिक गतिविधि गाउँ केन्द्रित गरेको छ । एमाले विभाजनपछि बनेको समाजवादी हाल संगठन विस्तारकै क्रममा छ । नयाँ दल भएकाले समाजवादीले संगठन विस्तारलाई बढी जोड दिइरहेको हो । जिल्ला अध्यक्ष मोहनसिंह बडुवालका अनुसार स्थानीयस्तरमा कमिटी गठन, पार्टी कार्यालयहरूको व्यवस्थापनलगायतका कामलाई तीव्रता दिइएको छ । कतिपय स्थानीय तहमा आफ्ना कार्यकता दोधारमा परेको भन्दै उनीहरूलाई संगठित बनाउने काममै लागिएको समाजवादीले जनाएको छ । ‘वडातहदेखि नै सांगठनिक प्रशिक्षणका गतिविधि भएका छन्,’ अध्यक्ष बडुवालले भने, ‘विस्तारै निर्वाचन लक्षित कार्यक्रम सुरु हुनेछन् ।’
सुर्खेतमा क्रियाशील सबैजसो राजनीतिक दलहरूले आफ्नो पार्टी नै आउँदो स्थानीय तहको चुनावमा पहिलो बन्ने दाबी गरिरहेका छन् । एमालेले सुर्खेतका सवै वडा र पालिकामा जीत सूनिश्चित देखेको प्रचार विभाग प्रमुख तिमिल्सेनाको जिकिर छ । पार्टी एजेन्डा र हालसम्म गरेका विकास गतिविधि तथा भावी कार्यक्रमहरू लिएर जनतामाँझ गइरहेको एमालेले जनाएको छ । कांग्रेसको दाबी पनि एमालेको भन्दा फरक छैन । कांग्रेसले आफू नै पहिलो दल बन्ने बताइरहेको हो । सत्तारुढ दल कांग्रेसले यो पटक कम्युनिष्टहरू विभाजित भएकाले नतिजा सहजै आफ्नो पोल्टामा पर्ने आकलन गरेको छ । एमालेले भने प्रतिपक्षको भूमिका जिम्मेवारीका साथ निभाएको बताउँदै त्यसले पार्टीको लोकप्रियता चुलिएको ठानेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले सुर्खेतमा एमालेले तीन र कांग्रेसले ६ वटा पालिकाको नेतृत्व जितेको थियो । सुर्खेतमा क्रियाशील अन्य राजनीतिक दलहरूले पनि यतिबेला चुनावलाई मध्यनजर गरेर संगठन विस्तार र आसन्न निर्वाचनमा केन्द्रित हुनेगरी पार्टी क्रियाकलाप अगाडि बढाएका छन् । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै सबै राजनीतिक दलहरू त्यसतर्फ लक्षित भइरहेका हुन् ।
प्रकाशित मितिः १ फाल्गुन २०७८, आईतवार ०५:०५
रजनी याेगी ।